Loading...
काठमाडौं, ६ पुस । भारतले नेपाल सरकारको निर्णयको स्वागत गरेको छ ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै भारतले मधेस आन्दोलनलाई सम्बोधन गर्न आइतबार मन्त्रिपरिषद्ले गरेको तीन निर्णयको स्वागत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वार्ता र सम्वादबाटै मधेस आन्दोलन सम्बोधन गर्ने, संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र सीमांकनको टुंगो लगाउने निर्णय गरेको थियो ।
उक्त निर्णयबारे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई जानकारी गराएपछि विज्ञप्ति निकालेर भारतले स्वागत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘ती निर्णयहरु राज्यका सबैअंगमा समानुपातिक/समावेशी प्रतिनिधित्वको सिद्धान्त लागु गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संशोधन गर्नका लागि भएको उल्लेख गर्दै राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन परिवर्तन गर्ने र नागरिकतासम्बन्धी मुद्धालाई सम्बोधन गरिने छन् । भारत सरकार यो विकासक्रमको स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ– ‘यसले नेपालमा भइरहेको वर्तमान समस्या समाधान गर्न सहयोग गर्नेछ ।’
एक असल छिमेकी र शुभचिन्तकका हिसाबले भारतको संविधानका विषयमा नेपालमा भइरहेको आन्तरिक मतभेदमा गहिरो चासो रहेको विज्ञप्तिमा उल्लेख छ । ‘हामी नेपालका सबै राजनीतिक दललाई समस्या समाधानका लागि परिप्वक्ता र लचकता अपनाउन आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
भारतले नेपाल भारतबीच व्यापारमा भइरहेको अवरोध र सीमा अवरोध पनि छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेको छ ।
Loading...
Social Buttons