Latest News

सोमबारबाट निजी सवारी साधनलाई इन्धन दिइने; कसरी वितरण हुदैछ ?


Petrol
काठमाण्डु, १९ मंसिर-लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।

तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ । कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो ।
तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाट कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन ।
निगमका थानकोट डिपो प्रमुख रविन शर्माले आगामी सोमबारबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सोमबारदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ ।
अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ । विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ ।
भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ ।
Loading...