Loading...
काठमाण्डु, ६ पुस- पाँच वर्षका निर्देश भट्टराईले हिटरमा खाना पकाइरहेका बाबु राममणिलाई सोधे, ‘यसरी किन भात पकाउनुभएको?’ राममणिले सोझोजवाफ दिए- ‘ग्यास नभएर ।’
निर्देशले पुनः सोधे- ‘मोदीले नाकाबन्दी गरेकोले ग्यास छैन हैन बाबा?’
निर्देशलाई मोदी को हो थाहा छैन, न त उनी नाकाबन्दीको मतलब नै बुझ्छन् तर गएका केही महिनामा उनी मोदी, नाकाबन्दी र ग्यासको ‘नेक्सस’ बुझ्ने भैसकेका छन् ।
कपनका निर्देशमात्र होइन भक्तपुर ठिमी १४ मा प्रशन्नजंग थापाको ध्यान कति ट्याकंर तेल आयो, नाकाबन्दी कहिले खुल्छ जस्ता कुरामा छ । उनी कक्षा दुईका विद्यार्थी हुन् । प्रशन्नकी आमा मन्दिरा भन्छिन्, ‘अस्ति एक दिन अब नाकाबन्दी खुल्छ भन्दै आयो ।’
राजनीतिका गहिरा कुरा प्रशन्नले बुझेका छैनन् तर भारतले नाकाबन्दी लगाएको र त्यसकै कारण तेल नहुँदा स्कुलको बस नचलेको उनलाई थाहा छ। त्यतिमात्र होइन घरमा ग्यास नहुनुको कारण पनि त्यही नाकाबन्दी हो भन्ने उनलाई थाहा छ ।
‘यो घटनाले भारतप्रति उसको मस्तिस्कमा कस्तो छाप परेको छ त भन्न सक्दिन तर दैनिक जीवनका कष्ट भएको उसलाई पनि बोध छ’, आमा मन्दिरा भन्छिन् ।
ललितपुर कुसुन्तीस्थित कभोनेन्ट एकाडेमीका शिक्षक विशाल रेग्मी बालबालिकामा नाकाबन्दीले पारेको प्रभाव नियालिरहेका छन् । ‘नाकाबन्दीले बच्चैदेखि पहाडे र मधेसी भन्ने साम्प्रदायिक भावना पलाउने र भविष्यमा घातक परिणाम निस्कने डरलाग्दो संकेत देखिन्छ । अभिभावकले जस्ता कुरा गर्छन्, त्यसको प्रभाव बालबालिकामा पनि पर्छ’, रेग्मी भन्छन् ।
इटहरी–५ की टिका पौडेलकी ६ वर्षीया छोरी विभूतिले त्यस्तै प्रश्न गरिन । ढकनेको सट्टा खीर पकाउन लागेकी आमालाई विभूतिले सोधिन्- ढकने किन नपकाउने ?
टिकाले जबाफ दिइन्- ‘घीउ छैन, त्यही भएर खीर पकाउन लागेको ।’
विभूतिले तत्कालै सोधिन्- ‘के घीउमा पनि नाकाबन्दी छ ?’
टिकाकी अर्की ११ वर्षीया छोरी स्वीकृतिलाई पनि भारतले नेपाललाई हेप्छ भन्ने प्रष्ट छाप परेको छ । टिका भन्छिन्, ‘भारत विरोधी भावना पलाएको छ । हामी अभाव र समस्यामा छौं भन्ने ठूली छोरीले बुझ्न थालेकी छन् ।’
लीला, प्रशन्नजंग, विभूति र स्वीकृति वा सोही उमेर समूहका बालबालिका नै आगामी दिनका नेपालका राजनेता, प्रशासक, उद्योगी, चिकित्सक, पत्रकार, वकिल सबै हुन् ।
स–साना बालबालिकाको मनोविज्ञानमा बास गरेको मोदीको कुरुप चित्र जवान, प्रौढ र वृद्ध अवस्थामा समेत हट्ने छैन । नेपालीको सरदर आयु ६० वर्षभन्दा माथि छ । कम्तिमा मोदीले अबको ६० वर्षसम्मका लागि नेपालमा स्थायी शत्रु कमाएका छन् । जबकि ६० क्रस गरिसकेका मोदी अब कसरी ६० वर्ष बाँच्न सक्लान् ?
बिग्रँदै समाजिक सद्भाव
नाकाबन्दीले समाजिक सद्भाव समेत बिगारेको वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठको अनुभव छ ।
आफ्नो क्लिनिकमा अभिभावकसँगै आएका ९ वर्षका एक बालकको घटना डा. श्रेष्ठले सुनाए । उनी अग्रवाल थरका बालक रहेछन् ।
काठमाण्डुमा बस्ने मधेसी मूलका नेपाली। उनी नेपालमा नै जन्मिएका रहेछन्। ‘बच्चा स्कुल जान डराउने, स्कुल भन्ने बित्तिकै रुने गर्न थालेछन् । अति भएपछि आमाबुवाले मकहाँ लिएर आए’, डा. श्रेष्ठले भने । उनले आमाबुबालाई बाहिरै राखेर बालकसँग एक्लै कुरा गरे ।
‘मैले चकलेट दिएँ । काखमा राखेर मायापूर्वक स्कुल किन नगएको भनेर सोधेँ। तर उनी बोलेनन्’, उनले सम्झिए, ‘अनि मैले स्कुलमा साथीहरुले थर्काउँछन् हो? भनेर सोधेँ ।’
त्यसपछि बालक बल्ल बिस्तारै बोल्न थाले । स्कुलमा उनी मधेसी मूलको भएका कारण अन्य विद्यार्थीले उनलाई तेरो इन्डियाले नाकाबन्दी गर्यो, हामी नेपालीलाई दुःख दियो भन्दा रहेछन् ।
‘त्यो कुरा किन सर म्याडमलाई नभनेको?’ डा. श्रेष्ठले सोधे । सरलाई सुनायो भने ठीक हुँदैन भनेर अझै डर देखाइदिएका कारण उनले त्यो कुरा कसैलाई भन्न सकेका रहेनछन् ।
‘९ वर्षका अग्रवालजस्ता कति बालबालिका होलान् जसले यो अपमान र अप्ठ्यारो सहेका छन्?’ नौ वर्षका बालकको कथा सुनाइसकेपछि डा. श्रेष्ठले भने, ‘यसको मतलब हाम्रा बच्चाहरुमा भारत र भारतीय जनता भनेका खराब हुन् भन्ने परेको छ। यिनीहरुले नेपालीलाई दुःख दिन्छन् भन्ने छाप मनमा गढिसक्यो । अब यो जीवनभर मेटिदैन ।’
मानिसको मानसिक विकास १५–१६ वर्षसम्म हुन्छ । श्रेष्ठका अनुसार यो बेला मनमस्तिस्कमा गढेका कुरा मानिसले आजीवन बिर्सन सक्दैन ।
नाकाबन्दीको कुप्रभाव आर्थिक क्षेत्रमा मात्रै होइन सामाजिक जीवन र मानसिक स्वास्थ्यमा पनि पर्ने श्रेष्ठ बताउँछन् ।
Loading...
Social Buttons