Latest News

सक्छौ भने सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग– उपेन्द्र यादव

upendra 12काठमाडौँ, मङ्सिर १० । मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतले नेपालमाथि हस्तक्षेप गरेको भए सीमामा गएर युद्ध गर्न चुनौती दिएका छन् । मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको समेत उनले आरोप लगाए ।
व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गर्नुभयो । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्र्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिनुभयो, ‘‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उहाँले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिनुभयो ।
यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहनुभएका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गर्नुभयो । जवाफमा यादवले भन्नुभयो, “आज काँग्रेसको असली चरित्र देखियो ।”
ती दुई दलबीच संसद्को आजको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो । रासस
Loading...