Latest News

नेपाली नेतालाई दिल्लीको उर्दी, ‘चीनबाट इन्धन ल्याउन छाड, मधेसीका माग पूरा गर !!!

bikash swarupकाठमाण्डु, ४ मंसिर – भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ ।
‘चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन् ।
आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ ।
तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यवसायिक इन्धन ल्याउनेबारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ । भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो ।
बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी पनि गरे ।
उनले नेपालको मधेस आन्दोलन अन्त्य भए भारतीय भूमिमा रोकिएका नेपाली ट्यांकर र ट्रक सहज रूपमा नेपाल भित्रिने पुरानै कुरा दोहोर्याए ।
पत्रकारको प्रश्नमा स्वरूपले नेपालमा औषधि र अत्यावश्यक वस्तुको अभाव देखिएकोबारे भारत जानकार रहेको भन्दै वीरगन्जबाहेक अन्य नाकाबाट अथवा विमानबाट नेपाल पठाउन सकिने बताए ।
मधेसीको माग पूरा गर्न भारतले निरन्तर नेपालमाथि दबाब दिँदै आएको छ ।
अन्नपूर्ण पोष्टबाट
Loading...