Latest News

ओली सरकारले भिजिलान्ते पठाएर इटहरीमा मञ्च जलायो : उपेन्द्र यादव

upendra yadavकाठमाडौं, ११ मंसिर । इटहरीमा मधेसी मोर्चाले आयोजना गरेको विरोधसभाको मञ्च जलेपछि संघीय समाजवादी फोरम नेपालले विज्ञप्ति निकालेर भत्सर्ना गरेको छ ।
विज्ञप्ति निकाल्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड गरेको आरोप लगाएका छन् । ‘सामाजिक सद्भाव बिगारेर आन्दोलनलाई बद्नाम गर्ने र कमजोर गर्ने सरकारको कुटिल नियत रहेकोले यस्तो जन विरोधी कार्यको संघीय समाजवादी फोरम, नेपाल घोर भत्र्सना तथा विरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेता यादवले इटहरी घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट भएको भन्दै वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गर्न माग गरे ।
यस्तो छ संघीय समाजवादी फोरमको विज्ञप्तिः
प्रेस विज्ञप्ति
संघीय समाजवादी फोरम, नेपाल लगायत ९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनले आज सुनसरीको इटहरीमा पूर्वघोषित शान्तिपूर्ण रुपमा जनसभा आयोजनाको तयारी भइरहेको अवस्थामा सरकारले नियोजित रुपमा एमाले कार्यकर्ता तथा विद्यार्थीहरुलाई प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गर्न लगाएको घटनाप्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । शान्तिपूर्ण रुपमा आफ्ना विचार राख्न पाउने, सभा सम्मेलन गर्न पाउने नागरिकको अधिकारमाथि प्रहार गर्दै एमाले नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी मञ्च तोडफोड तथा आगजनी गराउनुले सरकारको गैर लोकतान्त्रिक, तानाशाही र गैरजिम्मेवार चरित्र उदाङ्गो भएको छ ।
इटहरी घटनाले सरकारले वार्ता मार्फत् मुलुकलाई निकास दिनुको सट्टा मुलुकलाई थप संकट तर्फ धकेल्न लागिपरेको प्रष्ट छ । वार्ताको नाटक मञ्चन गरि महिनौंदेखि मुलुकलाई अनिर्णयको बन्दी बनाइराखेको सरकारले जनविरोधी कार्य तत्काल बन्द गर्नुपर्छ । वार्ता र संवाद मार्फत् मुलुकलाई निकास दिनुको सट्टा वार्ताबाट भाग्दै हिडेको सरकारको पछिल्लो क्रियाकलाप अत्यन्तै खेदजनक, चिन्ताजनक एवं आपत्तिजनक हुनुका साथै गैर जिम्मेवार देखिएको छ । आन्दोलनकारीको सुझबुझ र संयमताले इटहरीमा कुनै अप्रिय घटना नभएपनि शान्तिपूर्ण सभा सम्मेलनमा अवरोध हुनुले सरकार आफैले सामाजिक सद्भाव बिगारेर सम्प्रदायिक दङ्गा भड्काउन खोजेको प्रष्ट हुन्छ ।
सामाजिक सद्भाव बिगारेर आन्दोलनलाई बद्नाम गर्ने र कमजोर गर्ने सरकारको कुटिल नियत रहेकोले यस्तो जन विरोधी कार्यको संघीय समाजवादी फोरम, नेपाल घोर भत्र्सना तथा विरोध
गर्दछ । साथै यस्ता जन विरोधी क्रियाकलापबाट बिचलित नभई संयमित रुपमा आन्दोलनलाई अघि बढाउन नेता कार्यकर्ता तथा आम सर्वसाधारण सबैलाई आह्वान गर्दछु ।

उपेन्द्र यादव
अध्यक्ष
Loading...