Latest News

‘पासाङ’ लाई रुक्मांगद कटवालले खुट्टा बजारेर सलाम गरेको हेर्न मन छ !!!

जस्तै खराब आचरणको भए पनि राजाको छोरा राजा नै हुने र उसलाई सबैले जीवन भर मान्नु पर्ने, पाल्नु पर्ने सामन्ती व्यवस्था अन्त्य भइसकेको छ । जनताको छोरा राष्ट्रप्रमुख हुन पाउने गणतान्त्रिक व्यवस्थामा हालै जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ उपराष्ट्रपति जस्तो गरिमामय पदमा पुग्नु भएको छ ।
पासाङ उपराष्ट्रपति बन्नु धेरै कारणले महत्वपूर्ण छ ।
म पूर्वजनमुक्ति सेनाको एक सिपाही भएको नाताले मात्रै होइन अन्य कारणले पनि पासाङ उपराष्ट्रपति बन्नु महत्वपूर्ण हो भन्ने लाग्छ । रोल्पा जस्तो विकट जिल्लाको दुर्गम गाउँमा जन्मेर उपराष्ट्रपति बन्न पाउनु उहाँको जीवनको एक महत्वपूर्ण परिघटना हो ।
उहाँको संघर्ष, त्याग र निरन्तरतालाई पार्टीले मूल्यांकन गरेको छ । गरिबको झुपडीमा जन्मेको व्यक्ति उपराष्ट्रपति बन्नु आम नेपालीका लागि पनि गौरवको विषय हो । जनमुक्ति सेनाको पूर्वकमान्डर भए पनि पासाङमा घमण्ड र बडप्पन कहिले देखिन मैले । सरल तर दृढनिश्चयी उहाँको विशेषता हो । पासाङ अत्यन्त सरल प्रकृतिको हुनुहुन्छ ।
हिजो जनमुक्ति सेनामा रहेर काम गरेकाहरु मलगायत सबैका लागि यो गौरवपूर्ण क्षण हो । जनमुक्ति सेनाको एक विश्वास र आदर्श अब आम नेपालको आदर्श र विश्वासका रुपमा पासाङ स्थापित हुन सक्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
दुई तारे जर्नेलको प्रसंग 
६८ सालमा सेना समायोजका बेला पासाङलाई दुई तारे जर्नेल बनाउने कुरा पार्टीले अघि सार्यो । तर परिवर्तनलाई आत्मसात  गर्न नसक्नेहरुले औपचारिक योग्यताको कुरा अघि सारेर अन्तर्राष्ट्रिय मूल्य मान्यताको धज्जी उडाए ।                                                                                         विभिन्न व्यक्ति, निकायले नेपालको राजनीतिक परिवर्तनलाई स्वीकार गर्न सकेनन् । जसका कारण सेना समायोजन गर्दा उहाँ सेनाको जर्नेल हुन पाउनु भएन । तर आज नेपाली सेनाको प्रधानसेनापतिले नै सलाम गर्नु पर्ने पदमा पुग्नु भयो । राजपरिवारमा नजन्मेको भए पनि राजाहरुको चरित्र सिकेका, परिवर्तनविद्धरु केही गर्न सक्नै हैसियत नभएपछि गलेर चुप लागेका रुक्मांगत कटवालहरुले पासाङ  परिवर्तन ल्याउन लडेका हामीहरुलाई जानेजति तल्लो स्तरका शब्दले गाली गर्थे ।
उनले दुई तारे जर्नेलका लागि अयोग्य ठानेर विदेशी शक्तिसमेतको दबाबमा पासाङलाई त्यो जिम्मेवारी नदिने वातावरण तयार पारे । मैले सुनेको थिएँ उपराष्ट्रपतिमा पासाङको चर्चा सुरु भएदेखि कटवाललाई निन्द्रा लागेको थिएन । उनले यसपटक पनि आफ्नो गच्छेअनुसार पासाङलाई रोक्ने हर्कत गरेकै थिए । यद्यपि पासाङ उपराष्ट्रपति भएरै छाडे । कटवाललले सामन्ती इगोका कारण त्यसो गरेका थिए । इगो सामन्तहरुमा मात्र हुँदैन । हामी परिवर्तन पक्षधरमा पनि इगो हुन्छ । हाम्रो इगो यो छ कि हामी कटवालले एकपटक खुट्टा बजारेर सलाम गरेको हेर्नुछ ।
सेना समायोजन गर्दा जसरी जनमुक्ति सेनालाई अपमान गरिएको थियो, आज पासाङ उपराष्ट्रपति भएपछि त्यो  अपमान बिर्साउन मद्यत गरेको छ  । यो क्षणमा हामी खुसी छौं । यो खुुसीमा सबै जनमुक्ति सेना खुसी हुने अवसर भने जुरेन । किनभने सेनामा समायोजन हुन नसकेका, अयोग्य भनिएका धेरै जनमुक्ति सेनाहरु अहिले   जीवीकापार्जनका लागि खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् ।
यदि परिवर्तनलाई राज्यले समयमै आत्मसात गरिदिएको भए धेरै योद्धाहरु अहिले आफ्नै मुलुक बनाउन स्वदेशमै श्रम गरिरहेका हुने थिए ।

पासाङ,  च्याउ र माछापालन
शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पासाङले जीवीकोपार्जनका लागि कपनमा च्याउ खेती र माछापालन सुरु गर्नुभयो । उहाँको बसाई कपनमा थियो । कमनमै च्याउ खेती सुरु गर्नुभयो । उहाँ उपराष्ट्रपति नहुनुभएको भए काठमाण्डु वरपरका डाँडाँबाट आउने खोलानालामा ट्राउट माछा पाल्ने योजना बनाउनु भएको थियो । कपनको माछापालन र च्याउखेती उहाँका छोरा भतिजाहरुले हेरिरहेका छन् अहिले ।
पासाङले गर्न सक्ने
उपराष्ट्रपति कार्यकारी पद होइन । यसकारण कुनै योजना, कार्यक्रम उपराष्ट्रपतिले ल्याउन सक्दैनन् । तर राम्रो काम गरेकाहरुलाई, उद्यमशीलहरुका लागि, राष्ट्रका युवाहरुका लागि उहाँले प्रेरणादायी भूमिका निर्वाह  गर्न सक्नुहुन्छ । उहाँ आफै पनि कृषिमा लागेको व्यक्ति भएकोले नेपाली कृषकहरुलाई हौसला प्रदान गर्ने विषयमा उहाँको भूमिका हुन सक्छ । अघिल्ला उपराष्ट्रपति परमानन्द झाले यो पदको कुनै काम नै छैन । ‘मैले काम पाइन’ भन्ने गर्नुहुन्थ्यो ।
त्यस्तै भन्ने अवस्था पासाङको लागि नआओस् । उहाँले आफूलाई सामाजिक एकता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रुपान्तरण गरेर नेपालीहरुबीच मेल गराउने काम आफैले खोज्नु हुनेछ । त्यस्तै युवाहरुलाई प्रेरित गर्ने सवालमा उहाँको भूमिका रहन सक्छ । कृषिलाई सम्मानीत पेशाको रुपमा विकास गर्ने मामिलामा उहाँले योगदान दिन सक्नु हुन्छ ।
हिजो उहाँ कुनै पार्टी, वर्गको भएपनि अब उहाँ राष्ट्रकै एकताको प्रतिक र संविधानको संरक्षकको भूमिकामा हुनुहुन्छ । उहाँले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्नु हुन्छ भन्ने मलाई विश्वास छ ।
(कुनै समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अंगरक्षक रहेका दुलाल पूर्वलडाकुका ब्रिगेडियर हुन्
Loading...