Loading...
काठमाण्डु, १४ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण छिमेकी भारत र पश्चिमा शक्तिले नन्दकिशोर पुन ‘पासाङ’ लाई उपराष्ट्रपति नबनाउन दबाब दिएको खुलासा गरेका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रचण्डले पासाङलाई रोक्न भारत र अमेरिका सक्रिय भएको बताए । पासाङ उपराष्ट्रपति हुँदा १० वर्षे सशस्त्र जनयुद्ध संस्थागत भएको सन्देश जाने भएकाले ती शक्तिले षड्यन्त्र गर्न खोजेको दाबी उनको थियो ।
बैठकमा सहभागी एक सांसदका अनुसार पछिल्लो समय प्रधानमन्त्री केपी ओलीसमेत विदेशी दबाब थेग्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरे ।
‘भारत र पश्चिमाहरुको दबाब पासाङजीलाई उपराष्ट्रपति नबनाउन थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सभासदले भने, ‘प्रधानमन्त्री केपी ओलीले पनि थेग्नै नसकिने दबाब आयो, उम्मेदवार फेर्नुस् भनुभएको थियो ।’
जवाफमा आफूले बरु सरकार छाड्ने तर पासाङलाई उपराष्ट्रपति बनाउने निर्णयबाट पछि नहट्ने अडान लिएपछि प्रधानमन्त्री ओली पूर्वसहमतिमा फर्केको उनले बताए ।
‘पासाङलाई उपराष्ट्रपति बनाउने निर्णय फिर्ता लिन सकिँदैन बरु सरकार, मन्त्री केही चाहिएन भनेपछि प्रधानमन्त्री सकारात्मक हुनुभयो र उम्मेदवारी दर्ता भएको छ’, उनले भने ।
फरक प्रसंगमा उनले पासाङले मधेसी, थारु र जनजातिका लागि अग्रमोर्चामा लडेकाले उनी उपराष्ट्रपति हुँदै सबैको भावनाको कदर हुने तर्क गरे ।
व्यवस्थापिका संसदमा शनिबार हुने उपराष्ट्रपति निर्वाचनमा अनिवार्य उपस्थित भएर मतदान गर्न र अन्य दलका सांसदसँग समेत भोट माग्न उनले निर्देशन दिए ।
Loading...
Social Buttons