Latest News

प्रधानमन्त्रीको कुर्सीमा कस कसको दाउ ?

 देशले लामो समयपछि संविधान पाएको छ । संविधान जारी भएसँगै नयाँ सरकार गठनको कसरतमा दलहरु जुटिसकेका छन् । प्रधानमन्त्री सुशील कोइरालाले यसअघि नै संविधान जारी भएपछि आफूले राजीनामा दिने बताइसकेका थिए । सोही अनुरुप उनले न्युयोर्कको कार्यक्रमबाट फर्किएपछि राजीनामा दिने औपचारिक घोषणा गरिसेकका छन् ।
संविधानसभाको दोस्रो चुनावपछि सरकार गठन हुँदा कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो । सोही सहमतिका बेला हाल कांग्रेसबाट कोइराला प्रधानमन्त्री बन्ने र एक वर्षभित्र संविधान जारी गरेर एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भ्रद सहमति भएको थियो । तर, एक वर्षमा संविधान बन्न सकेन र अहिले राजनीतिले अर्कै मोड लिएको छ । त्यतिबेला सत्ता समिकरणबाट बाहिर रहेको एमाओवादी यतिबेला एमालेसँग नजिक छ । यस्तोमा कांग्रेस, एमाले र माओवादी तीनै दल सरकारमा जाने सम्भावना कम देखिन्छ ।
दोस्रो ठूलो दलका हैसियतले सकारको नेतृत्व गर्ने पालो ओलीकै हो । यदि एमालेले एमाओवादीसँग सहकार्य गर्ने र नयाँ सरकार गठन गर्ने हो भने एमाओवादीले ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने लगभग पक्कापक्की भएको स्रोतको ठम्याई छ । तर, कांग्रेससँग या तीनै दल सरकारमा जाने हो भने कांग्रेसबाट देउवा पक्षले सरकारको नेतृत्व दाबी गर्ने विश्लेषण हुन थालिसकेकोे छ ।
ओलीलाई प्रधानमन्त्रीका लागि एमाले नेता माधवकुमार नेपाल पक्षले समर्थन गर्ला या नगर्ला भन्ने दोधार त छँदै छ त्यसमा एमाओवादी निर्णायक भएकाले कतै एमाओवादी कांग्रेससँग मिलेर सरकारमा जाने सम्भावना पनि उत्तिकै छ । त्यसैले ओली बाहेक प्रधानमन्त्रीका लागि कांग्रेसका नेता शेरबहादुर देउवाको सम्भावना पनि उबलियो रहेको चर्चा चल्न थालिसकेको छ । अहिले कांग्रेस र एमालेको गठबन्धन हुँदै सरकार गठन हुने सम्भावना निकै कम छ । त्यसैले, यी दुईमा जसले एमाओवादीको चित्त बुझाउन सक्छ त्यसले सरकारको नेतृत्व गर्ने सम्भावना पनि उत्तिकै छ ।
कांग्रेस भित्रका देउवा पक्षधरले हाल कांग्रेसको महाधिवेशन आउन लागेकाले देउवाले प्रधानमन्त्रीमा दाबी नगर्ने बताउँछन् । तर, देउवालाई यो मौका आउने हो भने त्यसलाई नछाड्ने तर्फ पनि सचेत छन् । हाल देउवा पक्षभित्र एकथरीले शेरबहादुर प्रधानमन्त्री बन्दा पार्टी सभापति खुस्कने डर रहेको बताउँछन् भने, अर्कोथरी प्रधानमन्त्री बनेर महाधिवेशनमा जान पाए झन् राम्रो हुने आँकल काट्छन् । यस्तोमा देउवालाई प्रधानमन्त्री पनि बन्ने र सभापतिमा पनि लोभ देखाउँदा उपसभापति रामचन्द्र पौडेल र सुजाता कोइराला तगारो बन्ने संभावना छ । साथै सरकारमा जाँदा आफ्ना पक्षलाई समेट्न नसके महाधिवेशनमा कमजोर बन्ने डर तीन पटकसम्म प्रधानमन्त्री भइसकेका देउवालाई हुन सक्छ ।
तीनै दलको सहमति हुने हो भने ओलीलाई प्रधानमन्त्रीका लागि अघि सार्ने सम्भावना प्रबल छ । त्यस्तो अवस्थामा देउवाले दाबेदारी प्रस्तुत गर्नुको कुनै अर्थ रहँदैन । तर, कांग्रेसको सहमति बिना ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दा यसअघि १८ पटक प्रधानमन्त्रीको उम्मेदवारीमा हारेका पौडेल र प्रधानमन्त्रीका लागि सुजतालाई पार्टीभित्रबाट सबैले विश्वास नगर्ने हुँदा देउवालाई अघि सर्ने सम्भावना देखिन्छ ।
राप्रपा नेपाल र अन्य साना दल पनि सरकारमा सहभागी हुने सम्भावना रहेकाले विपक्षीका केही सभासदलाई आफ्नो पक्षमा पार्न सके एमाले र एमाओवादीको गठबन्धनसँग कांग्रेसको प्रधानमन्त्रीको भिडन्त रोमाञ्चक हुने देखिन्छ ।
अर्कोतर्फ ओलीसँग भारत रुष्ट रहेकाले पनि विदेशको समर्थन र एमाओवादीसहित अन्य साना दल मिलेर सरकारमा जाने सम्भावना पनि उत्तिकै छ । यस्तोमा एमाओवादीभित्र प्रधानमन्त्रीका लागि खासै चासो नरहेको र कांग्रेस र एमालेमा यसको चासो रहेकाले एमाओवादीलाई जसले खुसी पार्न सक्यो उसले प्रधानमन्त्रीको ललिपप खाने सम्भावना प्रभल देखिन्छ ।
- See more at: http://kathmandutoday.com/2015/09/136720.html#sthash.Ui8DNfuS.dpuf
Loading...