Loading...
मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुका परिवारलाई सरकारले दिने राहात पार्टीको खातामा जम्मा गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले दवाव दिएका छन् । उनीहरुले आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचार पार्टीको रकमबाट गरिएकोले सो रकम पनि पार्टीकै खातामा जम्मा गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र गृह मन्त्रालयमा ताकेता गरेको स्रोतले जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनका क्रममा घाईते भएकाहरुको उपचारमा करिब चालिस लाख रकम खर्च गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यस्तै, मृतकमा परिवारहरुलाई पनि गृह मन्त्रालय माताहतका जिल्ला प्रशासन कार्यालयहरुबाट राहात रकम वितरण गर्ने क्रम चलिरहेको बताईएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक सरकार र मोर्चाबीच भएको वार्तामा मृतकका परिवारलाई जनही दशलाख रकम क्षतिपूर्ति वापत् एक हप्ताभित्रै प्रदान गर्ने सहमति भएको थियो ।
मोर्चासंगको सहमतिपछी सरकारले शुक्रबार नै मन्त्रिपरिषद्को बैठकबाट मृतकका परिवारलाई जनही दश लाख प्रदान गर्ने र घाईतेको उपचार खर्च बिल भर्पाइका आधारमा भुक्तानी दिने निर्णय गरेको उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
स्रोतका अनुसार मधेशी मोर्चाका नेताहरुले आन्दोलनका क्रममा ठुलो रकम खर्च भएकोले त्यसको परिपूर्तिका लागि पार्टीको खातामा रकम जम्मा गर्न दवाव दिईरहेका छन् । तर उनीहरुले कुन पार्टीको खातामा कती रकम जम्मा गर्नुपर्ने भन्ने विषय भने स्पष्ट पारेका छैनन् । मधेश केन्द्रित दलका नेताहरुले आफ्नै खाताबाट मृतक परिवारलाई क्षतिपूर्ति र घाईतेलाई उपचार खर्च वितरण गरिएमा पीडितहरुले न्यायको अनुभूति गर्ने दावी समेत गरेका छन् ।
तर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने अहिलेसम्म त्यस विषयमा मोर्चाभित्र कुनै निर्णय नभएको नेपालपाटीलाई बताए । उनले मोर्चाभित्रका अन्य दलका नेताहरुले छलफल गरेको हुनसक्ने तर आफ्नो पार्टीलाई भने जानकारी नभएको दावी गरे ।
Loading...

Social Buttons