Loading...
रेलमार्गका लागि कहाँबाट बजेट आउने हो, देखाउनुहोस् प्रधानमन्त्री ज्यू, हामी पनि रेल कुदाउँछौ,’ प्रधानमन्त्रीमा आफ्नो उमेद्वारी दिँदैगर्दा पूर्व विद्रोही नेता र नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले संसदमै यसो भने । आर्थिक श्रोतबिना देश विकाश विकाश असम्भव रहेको ‘प्रचण्ड बुझाइ’ थियो । यदि साँच्चै यसो हो भने भव्य र शुखसयलपूर्ण जीवन जीइरहेका अहिलेका नेताहरुसँग प्रश्न छ , ‘तपाईँको सम्पन्न जीवन कसरी सम्भव भयो ? बुढानिलकण्ठ र लाजिम्पाट महलहरूका आर्थिक स्रोत के हुन् ?’
वैधानिक आयश्रोतबिना कसरी धेरै नेताहरूले आलिसान महल बनाउन सके ? विभिन्न चुनावहरुमा जसरी पैसाको खोलो बगाइन्छ, त्यसको स्रोत के हो ? विनास्रोत कसरी किन्न सके नेताहरूले महंगा गाडी ? पैसैबिना कसरी उनीहरू उपचार गराउनकै लागि विदेश धाउन सक्छन् ? कुनै बेला भाडाको कोठामा बस्ने र चप्पल पड्काएर हिड्नेहरू बिना आयश्रोत आज कसरि खानदानी नेता भए ? यसको जवाफ चाँही कसले दिने हो प्रधानमन्त्रीज्यू ?
तपाईतर्फ यति मात्र प्रश्न तेर्सिन्न् । इतिहासँमा धेरै प्रश्नको सामना गर्नुपर्ने छ तपाईँले तर अहिलेलाई तपाईँलाई यत्ति प्रश्न, ‘बिना पैसा त्यत्रो ‘जनयुद्ध’ कसरि सञ्चालन भयो ? त्यत्रो हतियार र बमबारुद कहाँबाट जुट्यो ? माओवादी सेनालाई हतियार र रसद पानी कसले जुटाइदियो ? अवश्य पनि सबै खर्च भारतले नै व्यहोरेको त पक्कै होइन होला ?’
Nepal_dream_rail
काल्पनिक नेपाली रेल
हो, तपाईँले जसरी उडन्ते र रोमाञ्चक कल्पनालाई ‘जनयुद्ध’ बनाउनुभयो, त्यसैगरी नेपालमा रेल त्यसैैगरी ल्याउन सकिन्छ । हरेक निर्माणको पूर्वसर्त कल्पना हो । पूर्वाधार निर्माणको स्रो जुटाउने काम कर्ताको हो । बिना कुनै बजेट त्यत्रो युद्ध सञ्चालन गर्न सक्ने नेताले आधा सहयोग चीनले गर्न खोज्दा समेत रेल बनाउन सकिन्न भन्नु शंकास्पद पो हुन जान्छ त । प्रधामन्त्री चुनिने दिननै ‘हामीसँग कुनै स्रोत छैन’ भनेर सदनमा तपाईँले दिएको वक्तव्य कतै दक्षिण छिमेकीको आवाज त होइन ?
यो शङ्काका आधारहरु समेत छन् कमरेड प्रचण्ड । चीनले नेपालमा महत्त्वपूर्ण परियोजनामा सहयोग गर्न चाहिरहेको बेला कतै तिनै योजना योजना भाँड्न तपाईँलाई अघि सारिएको त होइन भनेर आरोप लगाउनेहरु प्रशस्त छन् देश र देशबाहिर । तपाईँको बोलीमार्फत प्रकट भएको कुरो नेपाली रेल सपनालाई पनि ढिलाइ गर्ने, बेवास्ता गर्ने र अन्त्यमा असफल पार्ने रणनीति त होइन ?
स्मरण रहोस् , कुशल ड्राइभरले राम्रोसँग कुदाइ रहेको गाडी ‘म तँभन्दा बस मालिकको निकट मान्छे’ भन्दै कुदाए परिणति के हुन्छ ? कुशल ड्राइभर बन्ने हो कि खलाँसी बन्ने हो ? यस प्रश्नको उत्तर आज देशको ‘स्टेरिङ’ समातेका कमरेड प्रचण्डसँगै छ । प्रधानमन्त्री बनिसकेको मान्छेले ‘स्रोत देखाइदिनुस्, म विकास गर्छु’ भन्न पट्टकै सुहाउँदैन । स्रोत जुटाउन हिम्मत नहुनेले देशको बागडोर सम्हाल्ने साहस गर्नु राम्रो सङ्केत होइन । कुम हल्लाएर भाषण गरेकै भरमा शासन गर्ने दिन गए ।
यतिखेर म उखरमाउलो गर्मीको देश युएइमा छु । तातो बालुवाको हुण्डरी चल्ने अरब अहिले विकाशले धपक्क बलेको छ । संसारमा यस्ता थुप्रै मुलुक छन् जहाँ पर्याप्त आर्थिक मात्र होइन, प्राकृतिक स्रोत र साधन नै छैनन् । तैपनि ती देश हिम्मत र पौरखले संसारमा विकसित बनेर उभिएका छन् । माछा मार्ने माझिहरू बस्ने सिंगापुर आज संसारकै सम्पन्नमध्ये एकमा पर्छ । चीन र मलेसिया कसरी सम्पन्न बने ? बिना कुनै प्राकृतिक श्रोत आज दुबई सहर विश्वको नमुना सहर बनेको छ ।
स्मरण रहोस्, दुबईमा कुनै पेट्रोल, ग्याँस र अन्य खनिज पदार्थ समेत छैन । दुबईमा पर्यटकले हेर्ने भनेको केवल समुन्द्र, आधुनिक रोड र भव्य बिल्डिंगहरू मात्र हुन् ।
तर, यसैमा आधारित पर्यटन र व्यापारले दुबईले लाखाँै नेपालीलाई समेत रोजगारी दिएको छ । दुबईको विकास हुनुको मुख्य कारण यहाँका राजाको दूरदर्शी नीति र शान्ति सुरक्षा नै हो । नेपालमा त उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने उर्वर माटो छ । अनुकूल मौसम छ,अनेक प्राकृतिक स्रोतहरू पनि छँदैछन् । हिमाल र पानी छन् ।
त्यसैमा टेकेर संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना प्रबल छ नेपालमा । त्यसैले नेपाल नबन्नुको एकमात्र कारण गलत राजनीतिक परिपाटी हो । ५० वर्षभन्दा बढी उमेरका नेता र २५ वर्ष पुरानो कर्मचारीत्रन्त्रको कुशासनको कारण यो देश बनेन जस्तो लाग्छ ।
नेपालमा पञ्चयातकालमा पनि चीनले आर्थिक र प्राविधिक सहयोग गरेर थुप्रै उद्योगहरू खोलिदिएको थियो । ट्रली बस , हिमाल सिमेन्ट, हेटौडा सिमेन्ट, बिरगंज चिनी कारखाना लगायत १ दर्जन उद्योग चीनले बनाइदिएको थियो । तर पछि हामी आफँैले व्यवस्थापन गर्न नसकेर ती उद्योगहरू र बन्द भए । त्यतिखेरको परिस्थितिमा त्यो निकै ठुलो विकाश र उपलब्धि थियो ।
र, अहिले पनि चीनले रेलविकाशमा सहयोग गर्न चाहेको छ र हाम्रो लागि त्यो निकै ठुलो आयोजना हो तर चीनका लागि त्यो कुनै ठुलो कुरा होइन किनभने चीनले आफ्नो देशमा लगभग ३० हजार किलोमिटर आधुनिक मेट्रो रेल लाइन निर्माण गरिसकेको छ । उसको लागि नेपालमा दुई तिन सय किलोमिटर रेल बनाइदिनु कुनै ठुलो कुरा हुँदैन । यसबाट चीनको व्यापार पनि बढ्ने र छिमेकीसँगको उसको सम्बन्ध पनि मजबुत हुने हुनाले चीनले दिल खोलेर नेपाललाई सहयोग गर्न चाहेको छ ।
यसको अर्थ यसो पनि होइन कि सबै विकाश चीनले नै गरीदिन्छ । निर्माणमा केही प्रतिशत अनुदान चीनले देला, केही ऋण देला, केही स्वयम् नेपाल सरकारले व्यहोर्ला । विभिन्न दातृ निकाय, ठुला बैङ्क र औद्योगिक र एनआएरएनहरुले पनि लगानी गर्लान् । त्यसमाथि आम नेपालीले यस्ता महापरियोजनामा आफ्नो हिस्सा (शेयर) चाहलान् । यसर्थ, नेपालको विकाश गर्न स्रोत छैन लाजमर्दो कुरा हो । नेपालमा पर्याप्त स्रोत छ । मात्र, हिम्मत पहिलो सर्त हो ।
प्रधानमन्त्रीज्यू, नेपालमा रेलमात्र होइन, विकाशका अप्रतिम सम्भावनाहरू छन् । जडिबुटी, खनिज, सगरमाथा लगायतका विश्वका आठ अग्ला हिमाल, जलश्रोत, लुम्बिनी, राष्ट्रिय निकुञ्जहरू, मठमन्दिर र विश्व सम्पदा सुचीका दर्जन बढी स्थान छन् । यी सबैलाई केन्द्रमा मानेर योजना ल्याउने हो भने नेपालमा जाबो रेल मात्र होइन, थुप्रै महायोजनाहरु सम्पन्न हुनेछन् ।
बीरेन्द्रको वंशनाश नभइदिएको भए नेपालमा कुनै पनि शक्तिले गणत्रन्त्र ल्याउन सक्दैनथ्यो । यसर्थ अब पनि गणतन्त्र, राजतन्त्र, जातीय अग्राधिकारको डिङ हाँक्दैमा केही हुनेवाला छैन । प्रचण्डज्यू , उसो त संविधानसभा माओवादीको एजेण्डा थियो कि शक्ति सन्तुलनको रणनीति भन्ने कुरा तपाईँको श्क्तिखोर भिडियो हेर्दा प्रस्ट हुन्छ ।
स्मरणमा राख्नोस् , विकाश र सम्पन्नता अरब र बेलायतको राजत्रन्त्रले पनि दिएको छ । अमेरिकाको उदार प्रजातन्त्रले पनि दिएको छ । अनि चीनको जनवादी गणत्रन्त्रले पनि दिएको छ । हेर्नुस् , फोस्रा नारा र बकम्फुसे घोषणापत्रले पेट नभरिएर मजस्ता धेरै नेपाली विदेशिएका छन् । हामीजस्ता लाखौँ नेपाली युवालाई स्वदेश फकाउने हो भने देश बनाउने हिम्मत गर्नुस् । सपना देख्नुस् । अरू के भनौँ ? कति पटक भनौँ ?
तस्वीर स्रोत : युपीएक्सप्रेसडटकम
Loading...

Social Buttons