Loading...
माओवादी नेता कृष्णबहादुर महरा वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् । नेकपा माओवादी (केन्द्र)मा अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सँगसँगै गनिने नेता मध्ये पर्ने महराको राजनीतिक जीवन सादगी र सक्रियतापूर्ण छ । तर, उनीसँग जोडिने पर्दापछाडिका अनेकौं राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा उनको रहस्यमयी अनुहार देखाउँछ ।
पार्टीमा सधैं बहुमततर्फ
२०१५ असार १७ गते रोल्पाको लिवाङमा जन्मेका महराको राजनीतिक जीवन २०३६ साल आसपास सुरु भएको हो । रोल्पाकै लिवाङमा शिक्षक रहंदा माओवादी धारको राजनीतितर्फ आकर्षित भएर उनले हालसम्म त्यही धारबाट राजनीति अगाडि बढाइरहेका छन् । २०५२ सालमा महरा नेकपा माओवादीको केन्द्रीय सदस्य भए र लगत्तै पोलिटब्युरो र स्थायी समितिसम्म बढुवा हुन पुगे । पार्टी भित्रको दुई लाइन संघर्षमा आफ्ना अध्यक्ष दाहालजस्तै सधैं बहुमतको पक्षमा ढल्किन सक्नु उनको खुबी हो ।
संसद विरोधी, निरन्तर सांसद
माओवादी द्वन्द्वका दौरान पार्टीको तर्फबाट वार्ता समितिको संयोजक, पार्टी प्रवक्ता लगायतका भूमिकाले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्यो । तर, उनको परिचय ०४८ सालको आम निर्वाचनमा नै स्थापित भएको हो, जुनबेला उनले रोल्पाबाट संयुक्त जनमोर्चाको उम्मेदवारका रुपमा चुनाव जिते । संसदीय राजनीतिलाई घृणा गर्ने राजनीतिक शक्तिमा सामेल भए पनि महरा ०४६ को परिवर्तन पछिका निरन्तर माओवादी सांसद हुन् ।
०६३ सालमा माओवादी खुला राजनीतिमा आएपछि शान्ति प्रक्रियाको हिस्साका रुपमा आफ्नो पार्टीका ८३ मनोनित सांसदको नेतृत्व गर्दै उनी संसदीय दलको नेता भए । माओवादीलाई दिइएको ८३ सिट गिरिजाप्रसादको एमाले विरोधी राजनीतिको उपज थियो । संसदमा जनताको भोटबाट ८३ सिट जितेको एमालेकै हाराहारीमा माओवादीलाई पनि सिट दिन गिरिजाले एमाले नेता माधव नेपाललाई मञ्जुर गराएका थिए । यसको एक मात्र कारण दुईवटा बामपन्थी दललाई बराबरको शक्ति बनाएर आपसमा भिडाउँदै देशमा कांग्रेसको हालीमुहाली हुने स्थिति पैदा गर्नु थियो । तर, परिस्थिति गिरिजाले सोचेजस्तो भएन, त्यो बेग्लै कुरा हो ।
क्रिश्चियन कृष्ण
राजनीतिमा कृष्णबहादुर महराको उत्थान जति सोझो छ, उनी स्वयं चाहीँ राजनीतिका बिछट्ट खेलाडी हुन् । यस तथ्यलाई खुला राजनीतिमा आएको माओवादीका घटनाक्रमले पुष्टि गर्दछ । महराको गृहजिल्ला रोल्पामा माओवादी राजनीतिको विस्तार त्यही जिल्लामा क्रिश्चियन धर्मको विस्तारसँग जोडिएको मानिन्छ । नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्ने भारतीय विश्लेषक, खासगरी सन्ध्या जैनले निरन्तर दाबी गर्दै आएको तथ्य के हो भने माओवादी अध्यक्ष दाहालको परिवार र नेता महराको परिवार पूर्ण रुपमा क्रिश्चियन हो ।
अध्यक्ष दाहालले आफ्नो धार्मिक भावना कतै ब्यक्त गरेको देखिएको छैन । तर, महरा स्वयं भने गत चुनावअघि टिकट पाएपछि चर्चमा पुगेर पाष्टरसँग आशिर्वाद लिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । रोल्पा जिल्लामा ०२५ सालदेखि नै अमेरिकन बाप्टिस्ट संगठन अन्तर्गत रहेको ग्लोवल रेकर्डिङ्स भन्ने संस्थाले धर्म परिवर्तनको अभियान सुरु गर्यो । त्यसपछि दाङ जिल्लालाई आधारस्थल बनाएर इन्टरनेशनल नेपाल फेलोसिप भन्ने संस्थाले धर्म परिवर्तन, चर्चको विस्तार लगायतका कामलाई अगाडि बढाइरहेको नेपालकै कतिपय मुलधारका समाचार पत्रमा आइसकेको छ ।
पैसाको लिला, सुमार्गी कनेक्सन
भूमिगत कालमा महरा माओवादी पार्टीको आर्थिक हिसाव किताव एवं ब्यवस्थापनको नेतृत्व गर्थे । जानकारहरु भन्छन् हेटौंडाका अजेयराज सुमार्गीसँग महराको भेट भूमिगत कालमै माओवादीले चन्दा उठाएको तथा ब्यैंक लुटेको पैसा लगानी गर्ने सन्दर्भमा भयो । ब्यापारी सुमार्गीसँग उनको हिमचिम खुला राजनीतिमा महरा सञ्चारमन्त्री हुँदा झन् झाँगियो । उनैले कौडीको भाउमा तत्कालीन स्पाइस सेललाई बेचेको थ्रिजी नेटवर्क विस्तारित हुँदै मेरो मोवाइल र अहिलेको एनसेलमा परिणत भएको हो । यही ब्यापारिक कारोवारबाट सुमार्गी अहिले नेपालका औंलामा गन्न सकिने अरवपतिमा पर्छन् ।
फेरि पैसा, फेरि सुमार्गी
महरा सञ्चारमन्त्री हुँदा सुमार्गीलाई लगभग सित्तैमा फ्रिक्वेन्सी दिइएको हेलो मोवाइलको स्वामित्व अझै पनि सुमार्गीसँगै छ । सुमार्गीकै मुक्तिश्री इन्टरप्राइजेजको नाममा ब्रिटिश भर्जिन आइल्याण्डबाट आएको स्रोत नखुलेको लगभग १५ अर्व रुपैयाँ नेपाल राष्ट्र बैंकले दुई वर्षदेखि रोकेर राखेको छ । प्रतिबन्ध फुकुवा गराउन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महरा सहयोगी हुन सक्ने विश्वास गरिएको छ । यसका निम्ति विद्यमान आर्थिक ऐनले रोके पनि मन्त्रिपरिषदबाट निर्णय गराउने चक्करमा रहेको बुझिएको छ ।
नयाँ बानेश्वरको मुटुमा रहेको मुक्ति टावरमा कार्यालय सञ्चालन गरेको मेरो मोवाइल स्विडिस कम्पनी टेलिया सोनेरालाई केही वर्षअघि विक्रि गर्दा मेरो मोवाइलमा कार्यरत सयौं इन्जिनियर र कर्मचारीलाई निकालिएको थियो । त्यसबेला सुमार्गीलाई नजिकबाट महराले साथ दिएका थिए । मेरो मोवाइलमा काम गर्ने कर्मचारीहरुले सडकमा उभिएर भनेका थिए– महरा मार्फत सुमार्गीले वाइसीएल लगाएर कर्मचारी पिट्ने काम गरेका छन् । हुन पनि त्यसबेला मुक्ति टावरको सबैभन्दा माथिल्लो तल्लामा सुमार्गी र महराको दिनैपिच्छेजस्तो एकाबिहानै मिटिङ बस्थ्यो, निर्णय हुन्थ्यो र दिउसो सुमार्गीले तिनलाई कार्यान्वयन गर्थे । यसमा पार्टी अध्यक्ष प्रचण्डको प्रत्यक्ष साथ रहेको विश्वास गरिएको छ । यही बेला हो सुमार्गीकी अमेरिका बस्ने जेठी सासुका नाममा प्रचण्डले हाल प्रयोग गर्ने लाजिम्पाटको भब्य महल खरिद गरिएको ।
फेरि पनि पैसा
राजनीतिमा महरा र पैसाको सम्बन्ध नङ र मासुको जस्तो छ । भूमिगत कालमै क्रिश्चियन धर्मको माध्यमबाट नर्वेली चर्च र दूतावाससँग महराले नजिकको सम्बन्ध राख्न भ्याए । नर्वे यसै पनि संसारभारिका द्वन्द्वमा सक्रिय सहभागिता खोज्ने राष्ट्र हो ।
श्रीलंकाको तामिल द्वन्द्वमा नर्वेले नै बिद्रोहीलाई आर्थिक सहयोग उपलब्ध गराएका समाचार श्रीलंकामा नौला लाग्दैनन् । नेपालमा पनि शान्ति प्रक्रिया सुरु हुने वितिक्कै नर्वेली राजदूतले प्रधानमन्त्री गिरिजाप्रसादलाई भेटेर माओवादीसँग झगडा नगर्न र उनीहरुले मागेजति पैसा दिन सुझाव दिएका थिए ।
५८ करोडको चेक
गिरिजा प्रधानमन्त्री भएको बेला तत्कालीन अर्थमन्त्री डा रामशरण महतले शान्ति प्रक्रिया ब्यवस्थापन शीर्षकमा ५८ करोडको एकमुष्ट चेक महराका नाममा काटेका थिए । लडाकु ब्यवस्थापन गर्ने भनिए पनि त्यो पैसा कहाँ गयो, कसरी खर्च भयो, कस कसलाई दिइयो भन्ने हिसाव किताव आजसम्म राज्यलाई पेश गरिएको छैन । माओवादी शीर्ष नेताहरुले उक्त रकम मध्ये धेरै आपसमा बाँडेको विश्वास गरिन्छ ।
क्यान्टोनमेन्टमा फर्जी लडाकु खडा गर्ने, उनीहरुका नाममा पैसा बुझ्ने, भएका लडाकुको पनि पैसा बुझ्दा लेबि कटौती गरी पार्टी अध्यक्षलाई बुझाउने काममा क्यान्टोनमेन्टका कमाण्डरहरु अघि सारिए पनि यसपछाडिको ‘मष्तिष्क’ महरा नै रहेको विश्वास गरिन्छ ।
५० करोडको अडियो टेप
महरा र पैसासँग जोडिएको सबैभन्दा सनसनीपूर्ण घटना भदौ १८ गते ०६७ मा सार्वजनिक भयो । रहस्यपूर्ण ढंगले बाहिर ल्याइएको एउटा अडियो टेपमा महरा कुनै अज्ञात चीनिया ब्यापारीसँग प्रचण्डलाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैया मागिरहेको सुनिन्छ । अझ रहस्य त के हो भने चीनियाँ ब्यापारीसँग कुरा गरेको भनिएको उक्त टेप भारतीय गुप्चर संस्थाले सार्वजनिक गर्यो । त्यसको लगभग ६ वर्षपछि अहिले आएर भारतीयहरुसँगै साँठगाँठ गरी केपी ओली सरकार बिरुद्ध नयाँ समीकरण बनाउने एउटा खेलाडीका रुपमा महरा देखिए ।
भारत कनेक्सन
नाम उल्लेख नगर्ने सर्तमा एक माओवादी नेता भन्छन्– महराले चीनियाँसँग गरेको कुराकानी भारतीय गुप्तचर संस्थाबाट सार्वजनिक हुने र अहिले भारतीयकै साँठगाँठमा नयाँ समीकरण बनाउने गतिविधिमा सामेल हुँदा कतै त्यो काण्ड महराले भारतीय षडयन्त्रमै त घटाएका थिएनन् भन्ने प्रश्न उठेको छ । वास्तवमै कम्युनिस्ट र क्रिश्चियनलाई तिब्र घृणा गर्ने भारतीय जनता पार्टीको नेतृत्वमा रहेको खुफियासम्म साँठगाँठ गर्न सक्ने महराको राजनीतिक क्षमता रहस्यमय छ ।
पार्टी भित्र पद र पैसाको ब्यवस्थापन गर्दै उचाइमा पुगेका महरा अहिले अर्थमन्त्री बन्न पुगेका छन्, यो राजनीतिको संयोग नै होला ।
Loading...

Social Buttons