Loading...
काठमाडौं, १९ साउन– शक्तिमा आउँदै गरेकाको जयजयकार नयाँ होइन तर, बुधवार भएको प्रधानमन्त्री निर्वाचनपछि शक्तिबाट फर्केका नेतामाथि चाहीँ सर्वसाधारणले हाइ हाइ गरेको दृश्य संसद परिसर बाहिर देखियो ।
बुधवार संसदमा भएको मतदानबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भए । नयाँ प्रधानमन्त्री निर्वाचनको नतिजा आएपछि नेताहरु बाहिर निस्किए । प्रधानमन्त्रीको निर्वाचनको नतिजा आउनासाथ यसअघि देखिने भन्दा फरक दृश्य संसद भवन बानेश्वर परिसरमा देखियो । नवनिर्वाचिन प्रधानमन्त्री दाहाल आफू केही नबोल्ने भन्दै मिडियामा प्रतिक्रिया पनि नजनाइ गए भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसद परिसरमा सर्वसाधारणले नारावाजी गरे ।
प्रधानमन्त्री निर्वाचन कार्यक्रम सकेर नेताहरु फर्कंदा बानेश्वर परिसरमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ठूलो समुह जम्मा भएको थियो । निवर्तमान प्रधानमन्त्री ओलीको तस्बिर सहितको ठूलो फ्लेक्सबोर्डमा आइएम विथ केपी ओली लेखिएको थियो । जव ओली बाहिर निस्किए तव उनीहरु ओली चढेको गाडीतिर झुम्मिन थाले । त्यसैबीच उनीहरुले नारावाजी गरे– ‘राजनेता हाई हाई ।’
ओलीको गाडी केहीबेर रोकियो र विस्तारै भीड छिचोलेर भक्तपुरको बालकोटस्थित निजि निवासतिर लाग्यो । तर त्यहाँ जम्मा भएका सर्वसाधारण र्याली लिएर पैदलै ओली निवास वालकोट गयो । ओली वालकोटमा पुग्दा पनि उनको निवास आसपास ठूलो जनसमुह भेला भएर बसेका थिए । ओली निवास आसपास जम्मा भएकाहरुले पनि त्यसै गरी नारा लगाएका थिए ।
प्रधानमन्त्री निर्वाचित भएका दाहाल भने संसद भवनमै भारतीय दूतावासको फोन मार्फत वधाइ सन्देश ग्रहण गरिरहेका थिए । मतदानको नतिजा आउनुअघि नै राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापाको मोवाइल मार्फत दाहालले भारतीय विदेश मन्त्रालयबाट बधाइ पाइसकेका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि चीनियाँ राजदूत उ चुनथाइले लामिम्पाटस्थित निवासमै गएर बधाइ दिएका थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसअघि नै ट्वीट गरेर बधाइ दिएका थिए ।
Loading...



Social Buttons