Loading...
चौतारा, २८ साउन । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविसमा आज होटलसहित थप तीन घर बगाएको छ ।
तातोपानी गाविसअन्तर्गत कोदारीमा रहेको इको होटल र सँगै रहेका दुई घरसहित तीनवटा पक्की घर आज बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही दिनयता वर्षा नभए पनि नदी कटानले त्यहाँस्थित १४÷१५ घर अझै उच्च जोखिममा छन् ।
बाढीले करिब डेढ महिनाको अवधिमा एक विद्यालय, एक होटल र टहरासमेत तातोपानी र बाह्रबिसेमा १०० घर टहरा बगाइसकेको छ । त्यसैगरी एक बेलिवृज, एक झोलुङ्गे पुल तथा चार सवारी साधन बगाइसकेको प्रहरीले जनाएको छ ।
बाढीले बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडकको विभिन्न स्थानमा आएको पहिरो र नदी कटानले ठाउँठाउँमा सडक बगाएपछि यातायात प्राय ठप्प छ । डिभिजन सडक कार्यालय चरीकोटले सडक खुलाउने प्रयास गरिरहेपनि सफलता हासिल हुन सकेको छैन । दिनभर पहिरो पन्छाउँदै गएपनि राति पहिरो आउन नरोकिएको र डाइभर्सन गरी बनाएको सडकलाइ पुनः कटान गरेपछि विभिन्न स्थानमा जोखिमपूर्ण यात्रा गर्नुपरेको तातोपानी गाविसका सचिव डम्बरबहादुर श्रेष्ठले बताउनुभयो ।
Loading...
Social Buttons