Latest News

भारतसँगको अपर कर्णाली सम्झौता खारेजीको माग राख्दै प्रदर्शन

महेन्द्रनगर, २२ साउन । भारतीय जिएमआर कम्पनीसँग गरिएको माथिल्लो अर्थात अपर कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग राख्दै मोटरसाईकल र्याली गरिएको छ । शनिबार महेन्द्रनगरदेखि चिसापानीसम्म मोटरसाईकल र्याली निकालिएको हो ।
नेपाल किसान पार्टी, ग्रेटर नेपाल, विवेकसिल नेपाली, दल, डब्लु आरआर कञ्चनपुरले उक्त सम्झौता राष्ट्रियहित विपरित भएकाले उक्त सम्झौता खारेजीको माग गरेको हो ।
नेपाल किसान पार्टीका अध्यक्ष सिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्नेमा जोडदिए ।
राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उनको सुझाव छ । ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरब जोशीले चार हजार दुई सय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताए ।
उनका अनुसार बर्षामा १०८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताए ।
र्यालीमा सहभागी नेताहरुले सम्झौता खारेजी नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
कञ्चनपुर कैलालीका विभिन्न स्थानहरुमा कोण सभा समेत गरेका थिए । कोण सभामा ग्रेटर नेपालका केन्द्रीय सदस्य जगेन्द्र पाण्डे, क्षेत्रिय महासचिव गौरब जोशी, सदस्य यज्ञराज पाण्डेय, नेपाल किसान पाटीका अध्यक्ष सिरोमणी ओझा, विवेकसिलका नविन भण्डारी, डब्लुआरआरका स्वकृती कार्की, प्रभा जोशी लगायतका वक्ताहरु बोलेका थिए ।
सम्झौता खारेज नहुन्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
Loading...