Loading...
काठमाडौं, २५ साउन–राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रियता र स्वाधीनतामाथि निकै ठूलो खतरा रहेको संकेत गरेका छन् । दुई राप्रपाको एकीकरण भाँडिएपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय राजनीतिमा देखा परेको संकेतमाथि पनि चर्चा गर्दै थापाले संविधान निर्माणका बेलाको अवस्थाको समेत चित्रण गरे ।
लाम्पिाटबाट प्रचण्डलाई जंगल पुर्याइदिने धम्की
संविधान निर्माण गर्नुअघि लाजिम्पाटमा दुईवटा पूर्व प्रधानमन्त्रीलाई भारतीय विदेश सचिवले एउटै कोठामा राखेर संविधान नल्याउन दवाव दिए । पुष्पकमल दाहालजी र अर्का पूर्वप्रधानमन्त्री (बाबुराम भट्टराई)लाई हामी नभएको भए तिमीहरु अहिलेसम्म जंगलमा हुन्थ्यौ भनेर धम्की दिइएको कुरा लुकेको छैन । तर, त्यसबेला दाहालजीले राष्ट्रियताको भावनाले ओतप्रोत भएर हो कि परिस्थितिका कारण हो त्यो धम्कीलाई अस्वीकार गर्नु भयो । किन त्यो बेला अस्वीकार गर्नु भयो दाहालजीले अव त्यो अनुसन्धानको विषय हुन सक्छ ।
ओली नलत्रेपछि संविधान बनाउन कांग्रेस वाध्य भयो
त्यस्तै दवाव एमाले अध्यक्ष केपी ओलीलाई पनि दिइएको थियो । ओली दवावसामु लत्रिनु भएन । ओली र पुष्पकमल दाहाल संविधान बनाउनै पर्ने अडानमा उभिएपछि कांग्रेसले लत्रिएर स्वीकार गरेको मात्र हो । नत्र सुशील कोइराला नेपाली जनताको त्यो निर्णायकत्वको पक्षमा देखिनु भएको थिएन । एमाले र माओवादीको दवावले मात्र त्यसबेला कांग्रेस वाध्य भएको थियो । बाह्य दवावलाई पन्छाएर त्यसरी राष्ट्रको आन्तरिक निर्णायकत्व स्थापित हुँदा म यो संविधानको विपक्षमा मतदान गर्दा गर्दै पनि गौरवान्वित भएको थिएँ ।
बैशाखमै सिध्याउन लागिएको रहेछ
०६२ साल मंसिर ७ गते नयाँ दिल्लीमा १२ बुँदे सहमति हुँदा खोसिएको देशको आन्तरिक निर्णायकत्व संविधान जारी गर्दा फर्केको थियो । अर्काे घटना केपी ओलीको नेतृत्वमा सरकार बनाउँदा पनि त्यसैगरी देशको निर्णायकत्व स्थापित भयो र ओली नेतृत्वको सरकारले यस दिशामा देशको उचाइ बढाउन कोसेढुंगाकै काम गर्यो । तर यसलाई कसरी असफल पार्ने भन्ने प्रयास जारी थिए । गत बैशाखमा पनि सरकार गिराउन निर्णायक रुपमा कदम चालिएका थिए । त्यो असफल भएपछि मलाई त्यसबेला पनि देशको निर्णायकत्वले एक चरणको विजय प्राप्त गरेजस्तो लागेको थियो । तर, काम टुंग्याउन बाँकी रहेछ । अहिले आएर सरकार परिवर्तन गरी त्यसलाई पूरा गरे । यसले नेपालको राजनीतिमा जनताको निर्णायकत्वमाथि कालो बादल मडारिएको छ ।
अदृश्य शक्तिको योजना
अहिले हेर्दा सामान्य जस्तो लाग्छ । तर, म गम्भीर भएर भन्दैछु सुसुप्त र गम्भीर रुपमा राष्ट्रियता र राष्ट्रिय स्वाधीनता संकटमा पर्दैछ । अझ केही समयपछि देखिनेछ, यो कति गम्भीर दिशामा जाँदैछ भन्ने । संसदको गणितलाई फरक पार्न मात्रै राष्ट्रवादी शक्तिको एकता भनेर दुई राप्रपाको एकीकरणको कुरा गरिएको थिएन । राष्ट्रियतामाथि संकट आउँदा राष्ट्रिय स्वाधीनता र नेपालको पहिचान बचाउने शक्तिहरुको मनोवल बढाउन यो काम गर्न खाजिएको थियो । तर, पशुपति शमशेरजीलाई अदृश्य शक्तिवाट आएको दवावसामु उहाँ लाचार हुँदा यसमाथि तुषारापात भएको छ ।
ठूल्ठूला संकट आउँदैछन्
अव राष्ट्रियतामाथि आघात हुनेगरी संविधान संशोधनको प्रयास हुनेछ र त्यसबेला राष्ट्रवादी शक्तिहरुले मिल्ने विषयमा सहकार्य गर्नु पर्नेछ । मैले राष्ट्रवादी शक्ति राप्रपा नेपाललाई मात्रै भनिरहेको छैन, अरु पनि छन् । खासगरी एमाले पनि राष्ट्रियता र स्वाधीनतालाई तलमाथि हुन दिने पक्षमा देखिएको छैन । संविधान संशोधनमा कांग्रेस र एमाले नै मिले भने त बेग्लै कुरा हो नत्र देशमाथि आघात हुनेगरी संशोधन गर्न दुईतिहाई पुग्दैन ।
तपाईं पत्रकार साथीहरु पनि महसुस गर्न सक्नुहुन्छ, देशको राष्ट्रियतामाथिको संकट अझ बढेर जाने देखिएको छ । हामीले आफ्नो राष्ट्रको हितमा गरेका कामलाई भारत विरोधी भनेर परिभाषा लगाइँदैछ । खासमा हामी कोही भारत विरोधी छैनौं, चीन विरोधी पनि छैनौं । नेपालको हितमा छिमेकीलाई अहित नहुने कामलाई भारत विरोधी भनेर अर्थ लगाइनु गम्भीर विषय हो । यसले भविश्य सकारात्मक छैन भन्ने संकेत गर्छ ।
Loading...
Social Buttons