Loading...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध असार २९ गते अविश्वासको प्रस्ताव संसदमा दर्ता भएपछि भारतीय संस्थापनको नजिक ठानिएका सञ्चार माध्यममा अप्रत्याशित हर्ष बढाईं छायो । दुई देशबीचको सम्बन्धलाई नै अप्ठ्यारो पार्नेगरी छापिएका र प्रशारण गरिएका समाचारहरुको सार भने एउटै थियो– नेपालमा प्रधानमन्त्री ओलीको राजीनामा भारतको जीत हो र अव बन्ने प्रचण्ड नेतृत्वको सरकार भारतको योजनामा बन्न लागेको छ ।
यस्ता समाचारहरुको निरन्तर बाढी नै लागेपछि नेकपा माओवादी केन्द्र भित्र अप्ठ्यारो स्थिति सिर्जना हुन पुग्यो । के सत्य हो भने प्रधानमन्त्री ओली बिरुद्ध नयाँ समीकरण निर्माण गर्न आफूलाई भारतको एजेन्ट भनेर सगौरव दाबी गर्ने बिचौलियाको खेल काठमाडौंमा प्रष्ट थियो । तर, जव यो विषयले नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा समेत प्रवेश पायो, प्रचण्डको अप्ठ्यारो झनै बढ्न पुग्यो ।
कांग्रेस सांसद अमरेशकुमार सिंहसँग प्रचण्डको निरन्तर सहवास, कृष्णबहादुर महरा मार्फत नयाँ दिल्लीबाट पठाइएको सन्देश तथा कांग्रेस नेता शेखर कोइरालासमेतको सहभागितामा निर्मित नयाँ समीकरण प्रचण्डले लुकाए पनि लुक्ने अवस्था थिएन । त्यसैले उनले ‘ड्यामेज कन्ट्रोल’को गोप्य बाटो अपनाउँदै साउन १४ गते शुक्रवार दिउसो भारतीय राजदूत रञ्जित रेलाई टेलिफोन मार्फत आफूलाई ‘अप्ठ्यारो परेकोले आफ्ना पत्रकारहरुलाई रोकिदिन’ विशेष अनुरोध गरेको स्रोतले चक्रपथलाई वतायो । करिव १५ मिनेट लामो टेलिफोन संवादमा प्रचण्डले ‘यस्ता समाचारले पार्टी भित्र समेत आफूलाई अप्ठेरो पारेको’ गुनासो गरेका थिए ।
कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रमलाई साउन १७ गते अन्तरवार्ता दिंदै माओवादी नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा भारतीय पत्रपत्रिकामा आएको विषयमा छलफल भएको वताएका थिए । उनको भनाई थियो, ‘यस्तो समाचारले नेपाल र भारतबीचको सम्बन्धलाई मद्दत पुग्दैन, माओवादी केन्द्रको राजनीतिलाई समेत अप्ठ्यारो पारेको छ ।’
Loading...
Social Buttons