Loading...
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्ताव ब्यवस्थापिका संसद सचिवालयमा दर्ता गरेको दोस्रो दिन उनी माथी भ्रष्टाचारको छानविन थालिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता थापाबिरुद्ध भ्रष्टाचारको प्रमाण जुटाउन त्रिचन्द्र क्याम्पसबाट फाइल खोजी सुरु गरिएको स्रोतले दावी गरेको छ ।
नेता थापा वि स २०५६ सालमा त्रिचन्द्र क्याम्पसका सभापति भएका थिए । थापा स्ववियू सभापति हुँदा कार्यकालमा बास्केटबल कोर्ट बनाउने नाममा स्ववियूले लाखौं हिनामिना गरेको चर्चा हुँदै आएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने प्रस्तावको मुद्धा उठाउदै १४ दिनदेखि अनसनरत डा गोविन्द केसीकै पक्षमा काग्रेस नेता गगन थापा उभिएसँगै उनलाई उप्ठ्यारोमा पार्ने खेलमा अख्तियार लागेको हो ।
सोही अनियमितताको आशंकामा अख्तियारले उनी सभापति हुँदाताकाको पूराना फाइलहरुको बारेमा चासो र खोजीनीति गर्न थालेको छ ।
विहीबार थापा प्रस्तापक र धनराज गुरुङ तथा श्याम श्रेष्ठको समर्थनमा सार्वजनिक महत्वको प्रस्ताव ब्यवस्थापिका संसदमा दर्ता भएको थियो । प्रस्ताव दर्ता भएको भोलीपल्ट आज अख्तियारले त्रिचन्द्र कलेजको पूराना फाइलहरुको बारेमा चासो राखेको हो ।
अनशनरत डा.गोविन्द केसीका मागहरुलाई ब्यवस्थापिका संसदमा छलफल गराउन नेता थापाले सार्वजनिक महत्वको प्रस्ताव ब्यवस्थापिका संसदमा लिएका थिए । उनले ब्यवस्थापिका संसदमा प्रस्ताव दर्ता गराए लगतै संसदको सुशासन समितिमा पनि निवेदन दिएका थिए । थापाले दिएको निवेदनका आधारमा सुशासन समितिले अख्तियारका सवै पदाधिकारीलाई छलफलका लागि बोलाएको छ ।
यही मुद्धा संसदमा समेत उठाएर चर्चामा आएका काग्रेस नेता गगन थापा माथि अख्तियारको भने बक्र दृष्टि पर्न थालेको छ । यता यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करसँग प्रतिक्रिया लिन खोज्दा उनले अनावश्यक हल्ला मात्र भन्दै फोन राखिदिए ।
yeskathmandu
Loading...

Social Buttons