Latest News

भारतीय पत्रिकाहरु लेख्छन्ः प्रचण्ड मार्फत नेपालमा गुमेको प्रभाव फर्काइनेछ

काठमाडौं, १० साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनलाई सामान्य संसदीय अभ्यासका रुपमा बुझ्न आग्रह गरिएकै बेला भारतीय सञ्चार माध्यमले भने ओली नेतृत्वको सरकार भारतले निकै ठूलो प्रयास गरी ढाल्न सफल भएको जनाएका छन् । 

ओली नेतृत्वको सरकार ढलेकोप्रति नेपालमा कयौं सर्वसाधारण नागरिकदेखि महानायकसम्मले दुःख ब्यक्त गरिरहेका बेला भारतमा भने यसको खुसीयालीमा हर्ष बढाइँ देखिएको छ । भारतीय मिडियाले त किटानी गरेरै लेखेका छन्– ‘ओलीले चीनको सीमाबाट पेट्रोलका ट्रकहरुलाई नेपाल भित्र्याउन सफल भए पनि उनले गरेका अरु सम्झौताहरु अव लागू हुँदैनन् ।’ 

० ओलीले चीनका सीमाबाट पेट्रोलका ट्रकलाई स्वागत गरे पनि चीनसँगका अरु सम्झौता अव सफल हुँदैनन् 

भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले नेपाललाई चीनियाँ रेल, ऊर्जा ट्रान्समिसन र अन्य संरचनाहरुले जोड्ने काम ओली नेतृत्वको सरकार ढले लगत्तै अन्त्य हुने ठोकुवा गरेको छ । ‘६ महिनायता ओली सरकारले चीनियाँ सीमाबाट पेट्रोलियम पदार्थ सप्लाइ गर्ने ट्रकलाई स्वागत गरेको थियो’ उसले लेखेको छ, ‘अव स्पष्ट रुपमा नेपालको लागि चीनले ऊर्जा सप्लाई गर्ने ट्रन्जिट रुट, सडक र रेलको सञ्जाल विस्तार हुन पाउनेछैन । ओली सरकारको प्रतिवद्धता भए पनि नेपाल र चीनबीच बलियो ब्यापार साझेदारी अब हुन पाउनेछैन ।’

भारतीय पत्रिकाहरुमा ओली नेतृत्वको सरकार ढलेकाले भारत विरोधी सरकार पतन भएको उल्लेख गर्दै भारत नेपालमा आफ्नो गुमेको अधिकार फर्काउने बाटोमा सफल रहन पुगेको विश्लेषण गरेको छ ।  ‘अव भारत नेपालमा गुमेको आफ्नो प्रभाव फर्काउने सफलतातिर गएको देखिएको छ’ उसले लेखेको छ । 

० प्रचण्डलाई पुरानै बाटोमा फर्काउन धेरै मेहेनत गर्नु पर्यो, अव उनकै नेतृत्वमा भारतको गुमेको स्थान फर्किनेछ 

कम्युनिस्ट पार्टीहरुबीचको सहकार्यका नाममा चीनको सहायताले एमाले र माओवादीलाई मिलाइए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यसबाट फर्काउन धेरै मेहेनत गर्नु परेको उसले लेखेको छ । उसले अव प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई रणनैतिक रुपमा पूरापुर समर्थन दिने र यसले भारतको रणनीतिक साझेदारीमा सहयोग पुर्याइ नेपालका अल्ट्रा राष्ट्रवादीहरुलाई असफल पार्ने दाबी गरेको छ । ‘अव प्रचण्ड नेपालको प्रधानमन्त्री हुनेवाला छन् । भारत अब बन्ने त्यो सरकारलाई भरपूर समर्थन दिन्छ । यसले नेपाल र भारतवीच बलियो रणनीतिक साझेदारी पुनर्बहाली गर्नेछ’ भारतीय पत्रिकाहरुले ओली नेतृत्वको सरकारबारे लेखेका छन्, ‘ओलीले नेपाललाई विदेशी शक्तिको प्रयोगशाला बन्न नदिने वताएर यसअघि त्यस्तो हुन सकेको थिएन ।’ 

नेपालका कम्युनिस्ट पार्टीहरुलाई एकठाउँमा जोडेर भारत बिरोधी ब्यूह चीनले फैलाएकाले ओली नेतृत्वको सरकार बनेकोउसको दावी छ । ‘यसबाट प्रचण्डको मन बदलेर ल्याउन पछिल्लो पटक सफलता मिल्यो’ भारतीय पत्रिकाहरुले लेखेका छन्, ‘प्रचण्ड बदलिएर आए पनि ओलीसँग सम्बन्ध सुधार गर्न चीनले ठूलो प्रयास गरेको थियो तर, असफल भयो ।’ 

० चीनसँग नेपालको रेल, ऊर्जा र सडक सञ्जाल अव जोडिन पाउँदैनन्

नेपालमा कांग्रेस र पछिल्लो पटक माओवादी केन्द्रले ओलीलाई सामन्ती र फोस्रो राष्ट्रवादीको आरोप लगाएजस्तै आरोप नवभारत टाइम्सले पनि लगाएको छ । ‘मधेसी दलको मुद्दालाई यो सरकारले गरेको बेवास्ताका कारण महिनौसम्म नाकाबन्दी लगाउन वाध्य रहनु पर्यो’ उसले लेखेको छ ‘ओलीको कार्यकाल अल्ट्रा राष्ट्रवादी र भारत विरोधी भवना फैलाएर चीनप्रति सहानुभुतिशील रह्यो ।’ 

अव तीनवटक स्पष्ट विषयमा काम गर्न नयाँ सरकारलाई निर्देशन दिइने पनि भारतीय पत्रिकाहरुले लेखेका छन् । ‘पहिलो नागरिकता, दोस्रो प्रदेशको सीमाङकन, र तेस्रो माथिल्लो सभामा मधेसीको प्रतिनिधित्व । यी तीन विषयमा अवको सरकारले भारतसँग रणनैतिक साझेदारी गर्नेछ ।
Loading...