Latest News

प्रधानमन्त्री ओलीले कठोर कदम चाले सेनाले साथ देला ?

समाचार विश्लेषण/काठमाण्डु टुडे
काठमाण्डु–नेकपा माओवादी केन्द्रले कांग्रेसको समर्थनमा सरकारसँगको समर्थन फिर्ता लिएपछि यसबेला केपी ओली नेतृत्वको सरकार संकटमा परिरहेको बसहरु भैरहेका छन् । सरकार विरुद्ध २५५ जना सांसदहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव समेत पेस भैसकेको छ ।
नेपालमा फेरिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छिमेकी मुलुकहरुले भने आ–आफ्नै खालका प्रतिक्रिया दिइरहेका छन् । भारतले नेपालको सरकार परिवर्तनमा आफ्नो भूमिका नरहेको प्रतिक्रिया दिइरहेको छ भने चीनले कुनै आधिकारिक प्रतिक्रिया दिइसकेको छैन् । यद्यपि, यी दुई मुलुक भित्री रुपमा सरकार जोगाउने र नयाँ सरकार निर्माण गर्ने खेलमा भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागिरहेको बहसहरु भैरहेका छन् ।
चीनले केपी ओली नेतृत्वकै सरकारको निरन्तरता चाहेको भन्ने कुराहरु बाहिर आइरहेका छन् । विशेषगरी नेपालमा पछिल्ला वर्ष आएका संकटहरु र त्यसमा चीनले गरेको सहयोग र केपी ओली नेतृत्वको सरकारसँग गाँसिएको घनिष्ठताले पनि चीन ओली सरकारको निरन्तरतामा रहेको श्रोतले बताएको छ । दक्षिण एसियाको भूराजनीति स्थिति र तिब्बतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारत समर्थित सरकारको विरुद्धमा चीन जहिल्यै खडा हुने गरेको छ ।
sena
नेपालमा केही समयअघि जारी भएको नयाँ संविधान र त्यो प्रक्रियामा भारतले देखाएको असन्तुष्टिसँगै ओली नेतृत्वको सरकारसँग भारतको सम्बन्ध धेरै चिसियो । त्यसैको परिणामस्वरुप बेइजिङसँग काठमाण्डुको सामिप्यता बढ्न पुग्यो । प्रधानमन्त्री ओलीको नेतृत्वमा भएको चीन भ्रमणका क्रममा नेपालका लागि दिर्घकालीन फाइदा हुने खालका सम्झौताहरु समेत भए । त्यसले गर्दा भारत थप चिसिएको थियो । पछिल्ला दिन चीन नेपालमा पूरै हावी भएको विश्लेषण साउथ ब्लकमा हुन थालेको नेपाल–भारत मामला जानकारहरु बताउने गर्छन् । यसकारण, पनि भारतले ओली नेतृत्वको सरकार परिवर्तन गर्न चाहिरहेको थियो ।
केपी ओली नेतृत्वको सरकार छँदै चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने बहसहरु उठान भएका थिए र यो विषयमा चीनले पनि समर्थन दिइसकेको थियो । नेपालमा ठूलै राजनीति उथलुथल नभए चिनियाँ राष्ट्रपति आउँदो असोजमा नेपाल भ्रमणमा आउने तयारीमा रहेका थिए तर ओली सरकार संकटमा परेल लगत्तै सो विषय अन्यौलमा परेको छ । त्यतिमात्र होइन, चीनसँग भएका थुप्रै राजनीतिक र आर्थिक विकाससँग महत्व राख्ने सम्झौताहरु समेत भारत समर्थित सरकारले कार्यान्वयन गर्न कन्जुस्याई गर्ने चीनको बुझाई छ ।
ती विषयहरु समेत ओझेलमा पर्ने भएकोले यसबेला ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने निश्कर्षमा चीन पुगेको धेरैको ठहर छ । भनिन्छ, यसबेला ओली नेतृत्वको सरकार टिकाउन चिनियाँ प्रतिनिधिहरु पनि काठमाण्डुमा सक्रिय रहेका छन् । उनीहरुले डिक्टरसिप लगाएर भएपनि ओली नेतृत्वको सरकार टिकाउनुपर्ने सुझाव दिइरहेको बताइएको छ । उनीहरुले नेपालका शीर्ष नेताहरुसँग समेत भेट गरिरहको खबरहरु बाहिर आइरहेका छन् ।
उता,भारतीय अधिकारीहरुका केही दिन अघिका अभिव्यक्ति हेर्दा नेपालमा बन्दै गएको कांग्रेस–माओवादीबीचको गठबन्धनलाई उसले समर्थन गर्ने संकेत मिलेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालको राजनीति परिवर्तनमा आफ्नो मुलुकको हात नभएको बताएपनि कतिपय भारतीय अधिकारीहरुले भने खुल्लारुपमै कांग्रेस–माओवादी गठबन्धनलाई समर्थन गरेर जानुपर्ने बताइरहेका छन् । यसले पनि काठमाण्डुमा दिल्ली र बेइजिङ थप हावी हुन थालेको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री ओलीले कठोर कदम चाले के होला ?
माओवादीले सरकारसँगको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदमा चूनौतीको सामना गर्ने बताइरहेका छन् । कांग्रेस–माओवादीले अविश्वासको प्रस्ताव पेस गरिसकेका छन् भने त्यसबारे बहस अब साउन ६ गते बस्ने संसद बैठकमा हुनेछ ।
त्यो समयसम्म प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनकर्ताहरुसँग सल्लाह लिने निश्चत छ । उनलाई चीनले जसरी पनि सरकार टिकाउन सल्लाह दिइरहेको खबर बाहिर आउन थालेका छन् भने तूलनात्मक रुपमा ओली इतिहासका अन्य प्रधानमन्त्रीहरुको तुलनामा लोकप्रिय पनि बन्दै गइरहेका छन् । भारतसँग झुक्दै नझुकेका ओलीलाई अधिकांश जनताले पत्याएका छन् ।
उनले ल्याएका विकासका मोडलहरु पनि तूलनात्मक रुपमा राम्रा छन् । त्यसर्थ, उनले जनताको ठूलो संख्याबाट समर्थन प्राप्त गरेका छन् । नेपालको राजनीतक इतिहासमा नयाँ संविधान कार्यान्वयनको यो चरणमा मुलुक संकटमा परेको भन्दै विश्वमा थुप्रै मुलुकमा डिक्टरसिप लगाएका उदाहरणहरु कयौं छन् । तर नेपालको सन्दर्भमा भने यो अभ्यास सफल नहुने अघिल्ला सत्ता नेतृत्वकर्ताहरुको हविगत देख्दानै प्रस्ट हुन्छ । यद्यपि, ओलीलाई उक्साहटमा पारेर संसद भंग गरी संकटकाल लगाएर सरकार टिकाउन सल्लाह दिनेहरु पनि प्रसस्तै रहेको बुझिएको छ ।
उनले राष्ट्रपतिमार्फत यो कदम चाल्न पनि सक्छन् तर ओलीलाई यो कुरा पनि थाहा छकि सैनिक शासन लगाएर कब्जा गरेको सत्ता आधुनिक विश्वमा धेरै समय टिक्दैन र त्यसले आफ्नो लोकप्रियतामाथि कुठराघात गर्छ । त्यतिमात्र होइन, कम्युनिष्टहरुलाई सेनाले साथ दिनेमा समेत ओलीलाई शंका छ ।
नेपालका कम्युनिष्ट नेताहरुलाई राम्रैसँग थाहा छ, ‘नेपाली सेना अझै वामपन्थी दृष्टिकोणबाट रुपान्तरणमा पुग्न धेरै वर्ष लाग्ने निश्चित छ, नेपाली सेना निर्माणको जग अर्कै हो ।’ प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग जोडिएको कट्वाल काण्डको पनि राम्रैसँग याद छ । त्यसको साटो उनले अर्को बुद्धिमत्तापूर्ण चल्याँखाई गरेका छन् ।
आफ्नो जनमत सुरक्षित पार्दै एमाललेलाई फाइदा हुने किसिमको कदम आफैले चालेर सरकार गिराउने तयारी गरेको भन्ने प्रसंगहरु पनि बाहिर आइरहेका छन् । लोकप्रियताको शिखर चढेको ओली सरकार गिराएको आरोप माओवादीको थाप्लोमा थुपारेर आफु इतिहासकै लोकप्रिय प्रधानमन्त्री बन्न खोजेको कतिपय विश्लेषकहरुको भनाई छ ।
माओवादी र एमालेको टकरावले कम्युनिष्टहरलाई नै घाटा
यदि,प्रधानमन्त्री केपी ओलीको सरकार ढालेर प्रचण्ड प्रधानमन्त्री बने यसको घाटा माओवादी केन्द्रलाई हुने विश्लेषणहरु पनि भैरहेका छन् ।
प्रधानमन्त्री ओलीले चालेका लोकप्रिय कदम र जनताको समर्थन हेर्दा यसले प्रचण्ड नेतृत्वको पार्टीलाई निर्वाचनमा धक्का पुग्ने समेत आंकलन गरिएको छ । यदि केपी ओलीले माथि भनेझै आफ्नै चल्याँख्याइले सरकार गिराउन थालिएको हो भने यसले एमालेलाई भन्दा माओवादीलाई घाटा हुने राजनीति विश्लेषकहरु बताउँछन् ।
उता, राजनीतिक र सैद्धान्तिक रुपमा पनि चीनसँग सबैभन्दा नजिक रहेको भनिएको माओवादी निकै टाढा पुग्ने र भारतको पोल्टामा पर्ने हुनाले पनि कक्युनिष्टहरुको साख गिर्ने जानकारहरु बताउँछन् ।
नेपाली कांग्रेस परम्परागत रुपमा नै भारतसँग नजिक रहेको शक्ति भएकोले उसलाई भने माओवादीको तुलनामा भने घाटा कम हुने विश्लेषकहरुको भनाई छ ।

Loading...