Loading...
प्रधानमन्त्री केपी ओलीका प्रिय युवा भन्दा पनि हुन्छ महेश बस्नेतलाई । पूर्वमन्त्री तथा युवासंघका पूर्वअध्यक्ष बस्नेत नेपाली राजनीतिमा चर्चामा आइरहने नेता हुनुहुन्छ । सबैभन्दा कम उमेरमा गाविस अध्यक्ष हुने कीर्तिमानधारी बस्नेतलाई प्रधानमन्त्री ओलीका निकट व्यक्तिको रुपमा बुझ्दा फरक पर्दैन । सत्तासाझेदार नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि राजनीतिले लिएको नयाँ मोडलाई युवा आँखाले कसरी हेरिरहेको छ ? राजनीतिकै मूल विषयमा केन्द्रीत भएर बस्नेतसँग गरिएको कुराकानीको संपादित अंशः
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने चर्चा छ, त्यस्तो होला ?
– होला नहोला भन्दिन । तर संसद विघटन गरेरै अगाडि बढ्नु पर्छ । देशको हित यसमै छ । संविधानसभाबाट रुप फेरि संसद बनेको हो यो निकाय । संविधान बनाइसकेपछि यो संसद स्वत काम चलाउ भइसकेको छ । काम चलाउ संसदलाई किन लम्ब्याउने ? अब विघटन गरेर नयाँ जनादेशतर्फ जानु पर्छ भन्ने मेरो धारणा हो । प्रधानमन्त्रीले के गर्नुहुन्छ त्यो मलाई थाहा छैन, तर अब संसद विघटन गर्नुपर्छ ।
नौ बुँदे सहमति एमालेले पालना नगरेका कारण माओवादीले समर्थन फिर्ता लिएको कुरा तपाईलाई सत्य लाग्छ ?
– एकदमै सत्य लाग्छ । हत्या, बलात्कारका १२२ वटा मुद्धाफिर्ता लिन माओवादीले दबाब दियो । जघन्य अपराध गर्ने अपराधिको मुद्धाफिर्ता लिन प्रधानमन्त्रीले मान्नु भएन । उहाँहरु बाहिरिनु भयो । युद्धका नाममा अपराध गर्ने एक एकलाई कानुनको कठघरामा उभ्याइने छ । यसमा शंका नमाने पनि हुन्छ ।
राजनीतिमा आएको यो मोडको कारण नौ बुँदे मात्रै कारक हो कि विदेशी चलखेल पनि हो ?
भारतीय जसुसी संस्था ‘र’ का कर्मचारी, भारतीय नेताहरु गौशालाको द्वारिकाज होटलमा बसे । हार्दिक होटलमा माओवादीका कृष्ण महरा, नेपाली कांग्रेसका विमलेन्दं निधिहरुसँग धेरै दिन गोप्य छलफल गरे । त्यो छलफलमा चीनका राष्ट्रपतिको भ्रमण रोक्ने, नेपालमा चीनका ठूला परियोजना तुहाउने, प्रधानमन्त्रीले गरेका सम्झौता कार्यान्वयन नगर्ने र सरकार ढाल्ने सहमति भएको हो । त्यही सहमतिअनुसार अहिलेको राजनीतिक कोर्स अगाडि बढेको हो ।
यो थाहा पाएपछि किन मौन बस्नु भयो त ?
माओवादी र कांग्रेसभित्रका सच्चा नेपाली नागरिकहरुले पनि सरकार ढाल्ने निर्णय मन पराएका छैनन् । माओवादीका धेरै नेता कार्यकर्ता हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँहरुले अहिले पनि गतल भयो भनिरहनु भएको छ । प्रधानमन्त्रीले चाहनु भएको भए माओवादीलाई टुक्रयाएर राजनीतिलाई अर्को मोड दिन सक्नु हुन्थ्यो । त्यो ल्याकत एमालेले अहिले पनि राख्छ । तर टुक्रिने र जोडिने कामले देशले केही पाउँदैन भनेर एमाले बसेको छ । फेरि पनि एउटा कुरा सत्य के हो भने देशका तमाम स्वतन्त्र युवाहरु प्रधानमन्त्री ओलीको पक्षमा छन् ।
स्वतन्त्र युवाको कार्यक्रम भन्ने, अनि तपाईहरु आफै गएर सहभागी हुने, यो कस्तो विरोधाभाष कुरा हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा स्वतन्त्र युवाहरुले गरेको कार्यक्रममा हाम्रो समर्थन हुन्छ । त्यही समर्थन जनाउन हामी गएका हौं । आफ्नो पार्टीका अध्यक्ष, देशको प्रधानमन्त्रीको पक्षमा युवाहरुले आयोजना गरेको कार्यक्रममा समर्थन जनाउन पनि नपाउनु भन्ने के छ र ?
पटक पटक सरकार फेरिँदा देशको हित हुँदैन भन्ने सबैलाई थाहा थियो, तर एमालेले संविधान बनाउने बेला किन जनतालाई धोका दिएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट विचलित भयो ?
त्यो बेला एमालेको अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा एमाले र माओवादी थिए । कांग्रेस विपक्षमा थियो । कांग्रेस मान्दै नमानेपछि एमाले बाधक हुँदैन सहमतिमा भन्दै कमरेड झलनाथ खनालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा छाडि दिनुभएको हो । यसकुरामा एमालेले कमजोरी गरेको हो । एमाले पनि दोषी छ ।
नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट तपाईले कस्तो आशा गर्नुभएको छ ?
–नाच्ने बुहारीको खुट्टि देखिसक्यो भने झै भयो यो प्रश्न त । प्रचण्ड प्रधानमन्त्रीका रुपमा टेस्टेड र फेलर नेता हो । उहाँबाट अग्रगमन, सुशासनको आशा गर्न सकिन्न । केपी ओलीले यस्तो विषय परिस्थितिका बीच नौ महिनामा के के गर्नुभयो ? प्रचण्डका तीन नौ महिनामा के के भए ? एक पटक हेरौ न । मूल कुरा के भने उहाँबाट कुनै पनि आशा गर्न सकिँदैन ।
मधेसीको माग पूरा गरेर निर्वाचन भयो भने त प्रचण्ड सफल हुने सम्भावना त छ नी हैन ?
कुनै समय माओवादीले एमालेलाई तेस्रो लिंगी भन्ने गथ्र्यो । ओली सरकार ढल्ने खुसीयालीमा पाँच तारे होटलमा भारतीय दूतावासद्वारा आयोजित भनिएको भोज लगत्तै प्रचण्डले मधेसीसँग खुलामञ्चमै गएर खुसीयाली साट्नु भयो । र आफू माइत आएको भन्नु भयो । माइत आउने जाने त महिलाहरुले गर्छन् । प्रचण्डको छद्म बोलीले विश्वास गर्न गाह्रो हुन्थ्यो । उहाँको शैलीबाट अब लिंगमा पनि शंका उत्पन्न भयो ।
राजनीतिमा अवसर घुम्दै फिर्दै आइरहँदो रहेछ, केपी ओली फेरि पनि प्रधानमन्त्री बन्नु होला नी, किन यति चिन्ता गर्नुहुन्छ ? – एमालेलाई पद र सत्ताको चिन्ता छैन देशको छ । अब चिन्ता गर्ने काम त माओवादीको हो । अब कदाचित प्रचण्ड प्रधानमन्त्री बन्नु भयो भने उहाँको त्यो अन्तिम अवसर हुनेछ । सत्तालाई उहाँहरुले देश लुट्ने अवसरका रुपमा बुझ्नु हुन्छ र त्यही अनुसार गर्नु हुन्छ । उहाँलाई प्राप्त देश लुट्ने अन्तिम अवसरलाई कसरी प्रयोग गर्नुहुँदो रहेछ हेर्ने छौं ।
तपाईले प्रचण्डबाट आशा छैन भन्नुभयो, केपी ओलीको सरकार पनि ढल्ने निश्चित भयो, अब के होला त ?
–प्रधानमन्त्रीले संसद फेस गर्छु भन्नुभएको छ । सत्ता छाड्छु भन्नु भएको छैन । माओवादी र कांग्रेसले जे भन्छन् त्यसकै आधारमा यो देश चल्दैन । कांग्रेस र माओवादीको निर्णय पालना गर्न एमाले बनेको होइन । संविधान र कानुनले जे भन्छ त्यो अनुसार राजनीति अगाडि बढ्छ । विदेशीको गोटी भएर राष्ट्रिय अस्मितामा धावा बोल्ने प्रचण्ड र शेरबहादुरले गरेको निर्णय हामीले मान्नु पर्ने भन्ने कहाँ लेखेको छ ?
Loading...
Social Buttons