Latest News

'अल्छीहरु कुरा काट्दै बस, म अघि बढिरहन्छु’


सुर्खेतः प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकार परिवर्तनको बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा (संसद) को चुनावपछि मात्र सरकार परिवर्तन हुने बताएका हुन् । 


आउँदो मंसिरमा स्थानीय निकायको र अर्को वर्षको मंसिरमा संसदको चुनाव सम्पन्न गरेपछि मात्र आफूले विदा लिने प्रधानमन्त्री ओलीको भनाइ छ । 

सरकार परिवर्तन हुन्छ भन्ने थाहा पाएरै आफू प्रधानमन्त्री बनेको भन्दै ओलीले तर तत्काल परिवर्तन नहुने दाबी गरे । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्याश गर्न मंगलवार सुर्खेत आएका प्रधानमन्त्री ओलीले अर्को वर्षको मंसिरसम्म वर्तमान सरकार रहिरहने जिकिर गरे । 

‘जता गयो त्यहाँ सरकार परिवर्तन कहिले हुन्छ भन्छन्, सरकार अवश्य परिवर्तन हुन्छ’, उनले भने, ‘तर पहिला यो सरकारले संसदको चुनाव गराउँछ, त्यसपछि कसैले नभने पनि म आफै विदा लिन्छु ।’ 

आफू विकास गर्नका लागि प्रधानमन्त्री बनेको भन्दै उनले अबको दुई वर्षभित्र मुलुकमा विकास नभए जनताको सजाय भोग्न तयार रहेको उल्लेख गरे ।

देशमा ढिलो काम गर्ने बानीको संस्कारले जरा गाढेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले छिटो गतिमा विकास गर्छु भन्दा अल्छीहरु छक्क परेको टिप्पणी गरे । 

‘हावाबाट बिजुली निकाल्छु भन्दा मान्छेहरु हाँस्छन्, ग्याँस चुल्होमा पु¥याउँछु भन्दा छक्क परेका छन्’ प्रधानमन्त्रीले भने, ‘ढिला काम गर्ने बानी परेकाहरु कुरा काटिरहन्छन्, म काम गर्दै अगाडि बढ्छु । अबको १५ महिनाभित्र देश तुइनमुक्त हुनेछ । बरु फोटो खिचेर राख्नुस्, भविष्यमा सन्तानलाई तुइन यस्तो थियो भनेर देखाउन काम लाग्छ ।’ 

विकासमा बजेटको अभाव देखाउने संस्कार हाबी भएको भन्दै प्रधानमन्त्रीले थपे,‘यो केवल बहाना मात्र हो, तपाईंहरु विकास गर्नुस्, दुनियाँको जुनसुकै स्थानबाट पनि म पैसा ल्याएर दिन्छु । मेरो पालामा कोही भोकै मर्दैन, म चामल पु¥याउनेछु ।’ 

मप विश्वविद्यालय कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली विश्वविद्यालय सभा (सिनेट) मा सहभागी हुन सुर्खेत आएका हुन् । उनले २३ करोड ४० लाखमा निर्माण हुन लागेको विश्वविद्यालय केन्द्रिय कार्यालय भवनको शिलान्याश गरेका छन् ।

सो अवसरमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले राजनीतिकरण र भागवण्डाका कारण विश्वविद्यालयहरु कुरुप बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । साथै उनले शिक्षाको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

भवन शिलान्याश कार्यक्रममा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, सांसदहरु पूर्णबहादुर खड्का, सीता नेपाली र पूर्वमन्त्री यामलाल कँडेलले विश्वविद्यालयको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले अबको तीन वर्षमा मप विश्वविद्यालयलाई देशकै नमूना बनाउने प्रतिवद्धता जनाए । 
Loading...