Latest News

बेनी बजारमा मध्यराति बाढीको विध्वंश (फोटो फिचर) !!


बेनीः म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सय भन्दा बढी घर डुबानमा परेका छन्। बस्तीमाथि रहेको अर्थुङे डिलबाट आएको बाढीले क्याम्पस चोक र मंगलाघाटका एक सय भन्दा बढी घर डुबानमा परेका हुन्। 

क्याम्पसचोकका एक दर्जन घर आधार पुएिका छन्। राति १० देखि १२ बजेसम्म मेघ गर्जनसहित आएको मुसलधारे वर्षाले बेनी-पाखापानी सडकको स्तरोन्नतिका लागि खनेर निकालिएका माटो र ढुंगा बगाएर ल्याएको थियो।  

बाढीले क्याम्पसचोक र मंगलाघाटसंगै शिक्षामार्ग, पिपलचोक, गणेशटोल, संगमचोक र न्युरोडको हुलाकचोक बैंक चोकसम्मका घर प्रभावित भएका छन्। क्याम्पसचोकका तप्तबहादुर विश्वकर्माले बाढीले रातभर जाग्राम बसेको बताए। 

उनका अनुसार, खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोवाईल, हार्डवयर, मासु पसलका सामान लाखौ मूल्य बराबरका धनमाल नष्ट भएका छन्। मंगलाघाट र क्याम्पसचोकमा यसअघि २०६३, २०६९ र २०७२ असार ३० गते पनि बाढी पसेको थियो।

'सुत्ने तर्खर गरिरहेका बजार बजारबासीहरु एक्कासी ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए' क्याम्पसचोक स्थित माछापुच्छ्रे बैंकका सुरक्षा गार्ड कबिराम सुनारले भने।

क्याम्पसचोकको दुबैतर्फको  सडकमा करिब डेढ मिटर माथिसम्म बाढी थुप्रिएको छ। राती करिब दुई घण्टा लगातार परेको भीषण बर्षासँगै आएको बाढीले पुर्याएको क्षति विवरण आइतबार बिहानदेखि संकलन गरिने प्रहरी निरीक्षक लोकन्द्र सिङ गुरुले बताए।

'राति बाढी व्यवस्थापन र घरभित्रका सामानहरु सुरक्षित गराउन केन्द्रित भयौँ' प्रहरी निरीक्षक गुरुले भने, 'आइतबार बिहानैदेखि क्षतिको विवरण संकलन सुरु भएको छ।' 

बेनी-पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मंगलाघाट बाढीको चपेटामा परेको स्थानीयबासीको भनाई छ। 


क्याम्पसचोक पूर्व वडा अध्यक्ष धनप्रसाद श्रेष्ठले राज्यले फराकिलो ढल बनाउन कन्जुस्याईँ गर्दा समस्या उत्पन्न्न भएको बताए। 'क्याम्पसचोकबाट तल ढल निकास नै हुदैन, अनि घरमा पसिहाल्छ', उनले भने, 'स्थानीयले पनि लगानी तयार छ, तर राज्यले अग्रसरता लिनुपर्यो।' 

क्याम्पसचोक र मंगलाघाट क्षेत्रमा विकास भएको बस्तीका कारण फराकिला ढल निकास नहुँदा बर्षेनी बाढीले वितण्डा मच्चाउने गरेका छन्। क्याम्पसचोक ढल निर्माण उपभोक्ता समितिका सचिब ठाकुरप्रसाद शर्माले बेनी-पाखापनी सडकलाई बेनीको शिर बनाएर ट्रयाक खोल्नु नै मूख्य समस्या भएको बताए। 

'अहिले जिविस अन्र्तगत रहेको ग्रामिण पूर्वाधार तथा जिर्विेपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सडक स्रोन्नतिको काम गरिरहेको छ, त्यसले झन समस्या पारेको हो', उनले भने।
 
मंगलाघाट क्षेत्रमा बाढी घरमा पस्दा स्थानीय दुई घरको पर्खाल भत्किएको प्रहरीले जनाएको छ। वर्षासँगै मंगलाघाट नजिकै डम्मरामा पहिरो जाँदा बेनी-दरबाङ सडकखण्ड अवरुद्ध भएको छ। 

यातायात व्यवसायी र स्थानीयबासीले पहिरो पन्छाउने काम गरेका छन्। घरभित्र र सडकमा थुप्रिएको लेदो हटाउन नेपाली सेना, प्रहरी र स्थानीयबासी रातभर खटेका थिए।
Loading...