Loading...
समाचार टिप्पणी
काठमाडौं दशरथ रंगशालाबाट आज बाबुराम भट्टराईले नयाँ शक्ति नामको राजनीतिक दल घोषणा गर्दै हुनुहुन्छ ।
संविधान बनेकै हप्ता आफू उपाध्यक्ष रहेको संसदको तेस्रो ठूलो दल र आफूलाई नयाँ र क्रान्तिकारी शक्ति भनेर चिनाउन चाहने एनेकपा माओवादी त्याग गर्दै अझ नयाँ शक्ति बनाउनु पर्ने आवश्यकता किन पर्न गयो भन्नेबारे बाबुराम स्वयंले प्रष्ट जवाफ दिन सक्नु भएको छैन । तर, नयाँ शक्तिको राजनीतिक दिशा, त्यस दलमा संलग्न विभिन्न पृष्ठभूमीका ब्यक्तित्वहरु तथा नयाँ शक्तिले अघि सारेको नारालाई एक ठाउँमा राख्दा के निश्कर्ष निस्कन्छ भने, माओवाद बाबुराम स्वयंका लागि घाँडो भइसकेको थियो र संविधान निर्माणपछिको राजनीतिक अवस्थाले त्यो घाँडो बिसाउने अवसर उहाँलाई दियो ।
राज्यमा असफल भएर अहिले पनि पेन्सन खाएर बसेका पूर्व उच्च प्रशासक र कर्मचारी वर्ग पद, पैसा र राजनीतिक हिस्सेदारीका लागि आशक्त छ र त्यसका लागि लगानी गर्छ भन्नेचाहीँ घामजत्तिकै छर्लङ्ग भएको छ ।
एमाओवादी त्याग्ने वित्तिकै नयाँ शक्तिको निर्माणमा प्रशस्त ऊर्जा, समय र पैसा खर्च भएको छ । पार्टी घोषणा गर्न आज आयोजना गरिएको कार्यक्रमको अनुमानित खर्च सवाकरोड रुपैयाँ हुने पार्टी स्वयंले घोषणा गरेको छ ।
पार्टीको प्रचारका निमित्त गएको केही महिनादेखि नयाँ शैलि प्रयोग गरिएको छ । सामाजिक सञ्जालमा फेसबुक पेजहरु प्रायोजित गरिएको छ, रेडियो र टेलिभिजनमा देशभर विज्ञापन बजाइएको छ, देशभरिका प्रमुख अखबारमा ‘ज्याकेट एड’ छापिएको छ । यसका अतिरिक्त प्रचारका पुराना शैलि अन्तर्गत देशब्यापी माइकिङ गर्ने र आकर्षक घोषणा–पत्र छापेर बाँड्ने काम भएको छ । यसमा मञ्च सजावट, रंगीन टीसर्टहरु, होर्डिङबोर्ड र फ्लेक्स ब्यानर लगायतको हिसाव पनि थपिन्छ । यसका अतिरिक्त ब्यवस्थापनका क्रममा यातायात लगायत नदेखिने खर्च त्यत्तिकै हुन्छ ।
पार्टी घोषणासभा तयारीबारे जारी गरेको विज्ञप्तिमा नयाँ शक्तिले ‘इभेन्ट म्यानेजमेण्टलाई व्यवसायिक ढंगले मञ्च व्यवस्थापनको जिम्मा दिइएको’ जनाएको छ । यस्तै उसले ‘अडियो, भिडियो, प्रिन्ट सामग्री तयार गरी विभिन्न सञ्चार माध्यममार्फत प्रचार–प्रसारको काम’ गरेको जनाएको छ । बाबुरामको नयाँ शक्तिको प्रचार शैलि राजनीतिक दलको जस्तो नभएर वजारमा उत्पादित नयाँ रक्सी, चाउचाउ वा बिस्कुटको जस्तो आक्रामक छ । बाबुरामले नयाँ शक्तिको मात्र होइन जबर्जस्त रुपमा आफ्नो पनि ‘ब्रण्डिङ’ गर्नुभएको छ ।
आजीवन उच्च ओहोदा सम्हालेर देशलाई असफल बनाएका पुराना कर्मचारीले हिजो गर्न नसकेको कुन नयाँ काम नयाँ शक्ति मार्फत गर्न चाहेको हो भन्ने प्रष्ट भएको छैन ।
नयाँ शक्तिले स्वैच्छिक उपस्थितिका लागि अनुरोध गरेको भनिए पनि अहिले दशरथ रंगशालामा उपस्थित मानिसहरु हेर्दा देशभरिबाट कार्यकर्ता र समर्थक ल्याइएको प्रष्ट देखिन्छ । देशैभरबाट ल्याइएका उनीहरुलाई ‘चिकेन बिरयानी’ भोजन गराएर पठाइन्छ ।
राजनीतिक दलहरुले अहिलेसम्म गरेका यस्ता कार्यक्रमको अनुभवका आधारमा हेर्ने हो भने यो शैलिको, यत्रो स्तरको र महिनौ लामो प्रचारको ब्ययभार बहन गर्न नयाँ शक्तिले कम्तिमा पनि १५ करोड खर्च गरेको छ । यो पनि एकदमै मितब्ययी हिसाव हो ।
आम जनताको मनमा यसबेला उठेको प्रश्न– यो सब तामझामका निम्ति यत्रो पैसा कहाँबाट आयो ? पूर्वप्रधानमन्त्रीका हैसियतमा बाबुराम भट्टराईलाई राज्यले दिने सुविधाले यो सबै पुग्दैन । नयाँ शक्ति आफैंमा अनिश्चितताको नाउमा ढल्पलिंदो यात्री भएकाले त्यसमा पैसा तिरेर सवार हुन स्वतन्त्र मानिसहरु लालायित भए भनी पत्याउन गाह्रो हुन्छ । बाबुरामलाई परम्परागत रुपमा समर्थन गर्ने पूर्व माओवादीहरु नै यो नयाँ शक्तिका प्रमुख कार्यकर्ता हुन् । द्वन्द्वकालमा गरेको बिझ्याइँबाट समाजमा अझै पुनस्र्थापित हुन संघर्षरत उनीहरुले यत्रो खर्च जुटाए भन्ने पत्याउन झन् गाह्रो छ । त्यसोभए यत्रो पैसा आयो कहाँबाट ?
सिमित रकम कार्यकर्ता र स्वैच्छिक चन्दाबाट उठेको हुनसक्छ । तर, आमदानीको मूलभूत स्रोत अपारदर्शी नै रहेकोमा शंका गर्ने ठाउँ छैन ।
यस्तो खर्चको स्रोत कम्तिमा पनि तीनवटा हुनसक्छ ।
पहिलो, डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँकी धर्मपत्नी एवं पूर्वमन्त्री हिसिला यमीको गड्यौला किस्सा हामी सबैले सुनेको हो । विभिन्न नियुक्ति, सरुवा बढुवा, ऊर्जा मन्त्रालयका लाइसेन्स वितरण र नविकरण लगायतका प्रकरणमा करोडौं ‘चन्दा’ उठाइएको तथ्य त्यो बेलाका सञ्चार माध्यममा छताछुल्ल भएको थियो । त्यही पैसा अहिले बाबुरामको राजनीतिक भविश्यका निम्ति लगानी भएको हुनसक्छ ।
दोस्रो, डा बाबुरामको नयाँ शक्तिमा देशको कर्मचारीतन्त्र र सुरक्षा निकायको उच्च ओहोदामा लामो समय विताएर अवकाशप्राप्त गरेका पेन्सन खाने पुराना मानिसहरु छन् । देशका प्रत्येक नागरिकलाई थाहा छ–राष्ट्र सेवकहरुले आफू र आफ्ना परिवारको पनि भरमग्दुर सेवा गरिरहेकै हुन्छन् । उनीहरु मध्ये धेरैका सन्तान युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा ‘सेटल’ भएका छन् । अख्तियार लगायत नेपालका संबैधानिक अंगमा नियुक्ति पाउन कर्मचारीतन्त्रको अनुभवलाई अनिवार्य बनाइएको छ । त्यस्तै राजदूत नियुक्ति पनि राजनीतिक भागबण्डामा नै हुने गर्छ । यस्तो भागबण्डामा हिस्सा प्राप्त गर्नेगरि नयाँ शक्ति र डा बाबुरामलाई स्थापित गर्न सकिएमा नियुक्ति खान सकिने, उस्तै परे मन्त्री हुन सकिने वा आफ्ना छोराछोरी सेटल भएकै देशमा राजदूत खान सकिने सपनाले नयाँ शक्तिमा लगानी गर्न हिजो उनीहरुले कमाएको पैसा प्रयोग हुन सक्छ ।
आजीवन उच्च ओहोदा सम्हालेका पुराना कर्मचारीले हिजो गर्न नसकेको कुन नयाँ काम नयाँ शक्ति मार्फत गर्न चाहेको हो भन्ने प्रष्ट भएको छैन । तर, त्यो वर्ग पद, पैसा र राजनीतिक हिस्सेदारीका लागि आशक्त छ र त्यसका लागि लगानी गर्छ भन्नेचाहीँ घामजत्तिकै छर्लङ्ग भएको छ ।
नयाँ शक्तिको खर्चको सबैभन्दा सम्भावित र तेस्रो स्रोत चाहीँ सबैभन्दा खतरनाक छ । डा भट्टराई संबैधानिक समितिको सभापति हुँदा संविधानसभामा उहाँको भूमिका संविधान बनाउने भन्दा भाँड्नेतर्फ उद्यत थियो । नचाहंदा नचाहंदै संविधान बनेपछि आफ्नो पार्टी एमाओवादीलाई संविधान बनेको जस दिन छाडेर भट्टराईले अचानक पार्टी त्याग गर्नुभयो । यसको अन्तर्यमा एउटा गम्भीर खेल थियो ।
बाबुरामलाई राज्यले दिने सुविधाले यो सबै पुग्दैन । अनिश्चितताको नाउमा ढल्पलिंदो यात्री नयाँ शक्तिमा पैसा तिरेर सवार हुन स्वतन्त्र मानिसहरु लालायित भए भनी पत्याउन सकिंदैन । त्यसोभए यत्रो पैसा आयो कहाँबाट ?
संविधान बनेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न दक्षिणी छिमेकीले अनेक प्रयत्न गर्यो । त्यसलाई कार्यरुप दिने एउटा जिम्मेवारी भारतीय गुप्तचर विभागका पूर्वप्रमुख एबी माथुरलाई दिइएको थियो । संविधान जारी हुने पूर्वसन्ध्यामा काठमाडौं उत्रिएका माथुरले संविधानपछि दुई हप्तासम्म नेपालका सबै राजनीतिक दलका शीर्ष नेतासँग भेट गरे । उनको प्रमुख जोड एमाले वा एमाओवादी मध्ये कुनै एउटा दल बिभाजित गरेर प्रधानमन्त्रीमा ओलीलाई संसदको बहुमत पुर्याउनबाट रोक्नेतर्फ केन्द्रित थियो ।
एमालेमा माथुरले सम्पर्क गरेका वरिष्ठ नेताले पार्टी फुटाउने आँट गर्न सम्भव थिएन । एमाओवादीमा बाबुरामलाई ४० प्रतिशत सांसदको समर्थन जुटाउन सके सम्पूर्ण खर्च आफूले ब्यहोर्ने आश्वासन माथुरले दिएको प्रचण्ड निकट स्रोत वताउँछ । यही आशंकालाई मध्यनजर गरेर ‘सीएम (प्रचण्ड)ले बेलैमा विचार पुर्याएर समानुपातिक सांसद मनोनित गर्दा बाबुरामलाई पूरै क्रस गर्नुभयो, जवकि बाबुरामले मनोनयनमा आधा हिस्सा मागेका थिए’, स्रोतले थप्यो ।
४० प्रतिशत सांसद लिएर एमाओवादी फुटाउन बाबुरामले नसक्ने भएपछि ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न नसकिने निश्कर्षमा दक्षिण पुग्यो । यद्यपि सूर्यबहादुर थापाको मृत्युपछि उक्त स्थानमा त्यत्तिकै विश्वासपात्र नेताको खोजीमा रहेको उसले डा बाबुराम भन्दा अर्काे पात्र देखेन । माथुर नै एकमात्र यस्ता ब्यक्ति थिए, जोसँग डा बाबुरामले पार्टी छोड्नुअघि अन्तिम मसविरा गरेका थिए । पार्टी छोड्नेबारे निकट नेता लगायतसँग थोरै पनि सल्लाह नगरेका बाबुरामलाई नयाँ पार्टीको खर्चको जोहो कताबाट भयो भन्ने विषय अव अनुमान मात्र रहेन ।
chakrapath
Loading...
Social Buttons