Latest News

वरिष्ठ प्रहरीकी श्रीमतीको हत्या, ६ वर्षीय छोराको आँखै अगाडि गोली हानियो


काठमाडौं । बंग्लादेशमा कट्टरपन्थी इश्लामिक समूहले गरेको श्रृंखलावद्ध हत्याको अनुसन्धानको नेतृत्व गरिरहेका एकजना वरिष्ठ प्रहरी अधिकारीकी श्रीमतीको हत्या भएको छ । प्रहरी उपरिक्षक बबुल अख्तरकी श्रीमती महमुदा अख्तरको चित्तगङ भन्ने स्थानमा गोली हानी हत्या भएको हो ।महमुदाको ६ वर्षीय छोराको आँखै अगाडि टाउकोमा गोली हानिएको थियो ।

प्रहरी प्रवक्ता इकबाल बहारका अनुसार महमुदा आफ्नो छोरालाई स्कूल बस चढाउन अपार्टमेन्ट बाहिर आएकी थिइन् र त्यहिबेला मोटर साइकलमा चढेर आएकाहरुले उनीमाथि आक्रमण गरेका थिए । सुरुमा छुरी हानेको तीनजनाको समूहले पछि गोली चलाएको थियो । गोली लागेर महमुदाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता बहारले जानकारी दिएका छन् ।

हत्या गरिएकी महमुदाका श्रीमान बबुलले प्रतिबन्धित इश्लामवादी जमायेतुल मुजाहिद्दिन बांग्लादेश (जेएमबी) समूहबारे अनुसन्धान गर्दै आएका छन्। त्यसैको बदलास्वरुप श्रीमती अख्तरको हत्या गरिएको हुनसक्ने अनुमानमा घटनाको अनुसन्धान सुरु गरिसकेको प्रहरी प्रवक्ता बहारले बताएका छन् ।

बीबीसीका अनुसार चित्तगङस्थित गुप्तचर शाखाका अतिरिक्त उपआयुक्त रहेका प्रहरी उपरिक्षक अख्तरले लडाकुका गोप्य अखडाहरुमा छापा मार्ने र आतंकवाद सम्बन्धी मुद्दाहरुको अनुसन्धान गर्दै आएका छन्। जेएमबी प्रमुख मोहम्मद जावेदलाई गत अक्टोबरमा गिरफ्तार गर्ने प्रहरी कारवाहीका बेला अख्तर अग्रपंक्तिमा थिए। गिरफ्तारी पछि जेएमबी गोप्य अखडामा प्रहरीलाई लैजाँदै गर्दा भएको ग्रिनेड बम विष्फोटमा जावेद मारिएका थिए।

बंगलादेशमा प्राध्यापक, धर्म निरपेक्षतावादी ब्लगरहरु, समलिङ्गी अधिकारकर्मीहरु र हिन्दु धर्मावलम्बीहरुको हत्या हुँदै आएको छ । यी हत्याहरुमा जेएमबीको हात रहेको प्रहरी अधिकारीहरुको दाबी छ ।

श्रृंखलावद्ध हत्याको विरोधमा प्रदर्शन हुँदै आएको छ । खबर डबलीमा समाचार छ |
Loading...