Latest News

विप्लव माओवादीद्धारा चौतर्फी आक्रमण सुरु, ‘दमन भए प्रतिरोध’भन्दै चेतावनी


३२ जेठ, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले चौतर्फी आक्रमण थालेको छ ।
एकीकृत जनक्रान्तिलाई मुल कार्यदिशा बनाई युद्धको प्रारम्भिक तयारीमा जुटेको बताएका विप्लव माओवादीले देशका विभिन्न जिल्लाका एनसेलको बेस स्टेशनमा रहेको टावरमाथी आक्रमण थालेको हो ।Biplav Khulla manch

केही महिनादेखि राजधानी छाडी सुदुरपश्चिमका विभिन्न जिल्लामा सक्रियता बढाएका विप्लव माओवादीले कर छलेको भन्दै एनसेलको टावरमाथी आक्रमण गरेका हुन् । गत जेठ २९ गते मोरङ जिल्लास्थित याङसिलामा रहेको एनसेल टावरमाथी आक्रमण गर्दै घटनाको पूर्ण जिम्मेवारी लिएका विप्लवले प्रेस विज्ञप्ति निकाल्दै एनसेलले राज्यलाई कर छली गरेको भन्दै आक्रमण गरेको उल्लेख गरेका छन् ।

त्यसैगरी जेठ २९ गते नै विप्लव माओवादी धनकुटाका कार्यकर्ताले जिल्लाको धर्मसिलामा रहेको एनसेल टावरमाथी आक्रमण गरेका थिए । त्यससँगै सोही दिन दाङ लक्ष्मीपुर गाविस चौगरा र लमही नगरपालिकामा रहेको टावरमाथी समेत आक्रमण भएको थियो ।

केही महिना अघि सदुरपश्चिम र देशका अन्य जिल्लामा अर्धभूमिगत शैलीमा कार्वाही समेत गरेका विप्लव माओवादीले सल्यानको जैतपानीमा रहेको टावरमाथी समेत आक्रमण गरेका छन् ।

त्यसैगरी स्याङजा, प्युठान, काभ्रे, दोलखा, सुनसरी, नुवाकोट, बाँके, ताप्लेजुङ रुपन्देही, पर्वत, सिन्धुपाल्चोक, मकवानपुर, चितवन कैलाली, लगायतका जिल्लामा रहेको एनसेल टावरमाथी समेत विप्लवले आक्रमण गरेका छन् । पछिल्ला समय काठमाडौंस्थित बौद्धमा रहेको एनसेल टावरमाथी समेत आक्रमण भएको विप्लव माओवादीले जनाएको छ ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने जनताको पहल कदमीले नै देशका विभिन्न जिल्लाका एनसेल कार्यालयमाथी आक्रमण भएको दावी गरे । ‘भ्रष्टचारमा संलग्न, कालोबजारी, महंगी र राज्यलाई ठग्नेविरुद्ध लाग्ने हाम्रो पार्टीको रणनीति र कार्यदिशालाई समातेर नै जनताले एनसेलमाथी कार्वाही गरेको हो ।’ उनले भने, ‘एनसेल टावरमाथीको कार्वाही हाम्रो पार्टीको रणनीति अनुरुप नै भएको हो, यसमा जनताको उत्साहपूर्ण सहभागिता छ ।’ उनले हालसम्म लगभग ४५ जिल्लाका एनसेल टावरमाथी आक्रमण भएको दावी गरे ।

‘दमन भए प्रतिरोध’
त्यसैगरी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह पार्टी महासचिव विप्लवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्द भनेका छन्, ‘हामी तिम्रा जस्तो सुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ ।’



गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् ।

गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।

विप्लव माओवादीको आक्रमणले करिब ५ लाख ५० हजार नागरिकलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको कम्पनीले बताएको छ ।

विप्लव माओवादीका कार्यकर्ताले शनिबार मध्यराती नुवाकोटस्थित अन्तराष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको शाखा कार्यालयमा आक्रमण गरेको थियो । त्यसअघि उनीहरुले सिन्धुपाल्चोकमा रहेको सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेका थिए ।

विप्लव माओवादीका ५ कार्यकर्ता पक्राऊ

यसैबीच एनसेलका टावरहरुमा आक्रमण गरेको आरोपमा प्रहरीले विप्लव माओवादीका पाँच कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । दाङबाट तीन र म्याग्दीबाट दुई जना जिल्लास्तरीय कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

विप्लव माओवादीका दाङ जिल्ला सेक्रेटरी शितलका अनुसार प्रहरीले यमलाल पूँजाली, पूर्ण खनाल र ज्वाला खतिवडालाई पक्राउ गरेको छ । सोमबार खतिवडालाई तथा आइतबार बेलुकी खनाल र पूँजालीलाई प्रहरीले पक्राउ गरेको हो । एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई अन्धाधुन्द पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरे ।

यसैगरी म्याग्दी सदरमुकाम बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

एनसेलको टावरमा आगजनी भएको घटना छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिए ।
Loading...