Latest News

हेर्देजानुहोस् ‘केही समयपछि काठमाडौँ–पोखरा रेल हुइँकिन्छ' ; प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँः पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७४ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मात्रै सरकार परिवर्तन हुने बताएका छन् ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र)बाटै सरकार परिवर्तनको बहस सुरु भइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) को चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘अहिले सरकार परिवर्तनको हल्ला फिँजाइएको छ, २०७४ साल मङ्सिरभित्र प्रतिनिधिसभाको निर्वाचन गराउछुँ त्यसको परिणाम के हुन्छ, कसको सरकार हुन्छ, त्यसपछि थाहा हुन्छ, अहिले सरकार हट्छ भन्ने चिन्ता नलिनुस् ।'

प्रधानमन्त्री ओलीले देश बनाउन र देशको गौरव, प्रतिष्ठालाई बढाउन अहिलेको सरकार आवश्यक भएको जिकिर गर्दै सरकार नीति तथा कार्यक्रम र बजेटमार्फत देश विकास गर्न दृढताका साथ अघि बढेको उल्लेख गरे ।
‘केही समयपछि काठमाडौँ–पोखरा रेल हुइँकिन्छ'

प्रधानमन्त्रीले अबको केही समयपछि काठमाडौँ–पोखरा रेल सञ्चालन गरिने र त्यसका लागि तत्कालै कार्यक्रम सुरु गरिने बताएका छन् ।

‘आलोचना गर्ने गरिरहून्, देश अब गरिब रहन सक्दैन । सडक रेलजस्ता पूर्वाधारलाई द्रुतगतिमा अघि बढाइन्छ, छिट्टै रेल घुइँकिन्छ । यहाँ प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ, दक्ष युवा विदेश पलायन भइरहेका छन्, चाँडै वउनीहरुलाई स्वदेश फर्कने वातावरण बनाएरै छाड्छौँ,' उनले भने ।

प्रधानमन्त्री ओलीले समुन्नत समाज र आर्थिक अनुशासन कायम गर्न अडिटर्स एसोसिएसनको महत्वपूर्ण भूमिका हुने भन्दै देश विकासमा जिम्मेवारपूर्वक लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाल चार्टर एकाउन्टेन्ड संस्थाका अध्यक्ष प्रकाश लम्सालले लेखा परीक्षण व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन नीतिगत व्यवस्थाको खाँचो औँल्याए ।

अडानका अध्यक्ष मोहनराज रेग्मीले उचित ऐनको अभावले पेसालाई व्यवस्थित र सुरक्षित बनाउन कठिनाइ उत्पन्न भएको बताए ।

त्यस अवसरमा संस्थाले लेखापरीक्षण व्यवसायमा विद्यावारिधि गर्ने डा जानकीकुमारी तुलाधरलाई सम्मान गरिएको थियो । रासस
Loading...