Latest News

पैसा कमाउन विदेशिएको श्रीमान घर नापर्कीए पछि, एक चेलीको मार्मिक कथा

विवाह गरेर आएकी एउटी नारी विदेशिएको श्रीमान्ले वेवास्ता गर्दा कतिसम्म हण्डर खेप्न बाध्य हुन्छे भन्ने उदाहरण कतै खोज्नुछ भनें नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवाकी योगमाया महतोलाई भेटे पुग्छ । दुई छोराकी आमा योगमायाले विदेशिएको श्रीमान् पर्खिदै खेपेको हण्डर सुन्नेको मन पनि थामिंदैन ।  योगमायाका श्रीमान बोधबहादुर महतो पहिले मलेसिया गएका थिए । तीन बर्ष त्यहाँ विताएर आएका उनी फेरी कुवेत हिंडे । सगोलको घरमा श्रीमति, दुई छोरा र बाबुआमालाई छोडेर गएका बोधबहादुर झण्डै ५ बर्षदेखि परिवारको सम्पर्कमा छैनन् । बेखवर हुनु अगाडी उनले श्रीमतिलाई घर छोडेर जा भनेका थिए रे । “फोनमा बुवा(ससुरा) सँग कुराकानी गर्नुहुन्थ्यो । एकपटक मसँग कुरा गर्दा तँ मेरो घर छोडेर जा भन्नु भएको थियो, तर दुई छोरा छन्, तिनिहरुलाई लिएर म कहाँ जाउँ ?” उनले भनिन् ।  श्रीमान् धेरै बर्षदेखि बेखवर भएपछि उनको खोजखवर कसरी गर्ने भन्ने योगमायालाई थाहा पनि थिए । उनी एक न एकदिन श्रीमान् कसो घर नफर्केलान् भन्दै बाटो हेरेर बसिरहिन् । यहिबीचमा छोरा विरामी भयो । उनी छोरो बोकेर अस्पताल पुगिन् । त्यहि एकजनाले हराएका मान्छे खोज्न सघाउने संस्था नवलपरासीमा नै भएको भन्दै त्यहाँ गएर श्रीमानको खोजिका लागि निवेदन दिन भनेपछि उनलाई हुटहुटी लाग्यो । घरमा पुगेर ससुरालाई सवै बेलिविस्तार लगाइन् । जेठाजुले पनि बाबुलाई निवेदन दिन जान कर गरे । २०७२ बैशाख १३ गते, भूकम्पले धेरैको सातो लिएको थियो । तर योगमायाका लागि त्यो भन्दा ठूलो भूकम्प ५ बर्षदेखि मनमा गइरहेको थियो । त्यसैले भूकम्पको वास्ता नगरी बैशाख १३ गते विहान ७ बजे नै उनी पुगिन् कावासोतीमा रहेको सुचना तथा परामर्श केन्द्रमा हराएका पति खोजिदिने निवेदन बोकेर । त्यहाँ निवेदन हालिन्, मनमा केहि आशा पलायो श्रीमानको पत्तो लाग्ला की भनेर ।  बोधबहादुर कुवेतमै बेखवर भएपछि सासुससुरा र दुई छोराको पालनपोषण योगमायाकै काँधमा छ । उनी विहान ९ बजे निर्माण श्रमिकका रुपमा पाएको ज्यालादारी काममा पुगिसक्छिन् । त्यसअघि विहान उठेर खाना बनाएर बच्चालाई खुवाउनु र विद्यालय पठाउनु तथा बेलुकी फर्केर पनि घरधन्दा गर्नु उनकै जिम्मेवारी हो । दिनभरी ढुँगा बोकेर ज्यान थिलथिलो हुने गरेका कारण रातभरी सुत्न सक्दिनन् । जीउ पुरै सुन्निएको हुन्छ । तैपनि भोलीपल्टको दैनिकी उहि हुन्छ ।  बोधबहादुर कुवेतको कुन कम्पनीमा काम गर्न गएका थिए भन्ने परिवारलाई थाहा छैन । तर उनले पहिले फोन गर्ने नम्वर ००९६५ ६० ९६ ४० ४५ हो । अहिले सो नम्वरमा नेपालबाट फोन गर्दा सम्पर्क हुन सक्दैन । यदि तपाई कुवेतमा हुनुहुन्छ भनें एउटी चेलीको यो आँशु पुछ्न पक्कै सहयोग गर्नुहुनेछ ।  यो तस्वीरमा देखिएका बोधबहादुर महतोलाई तपाईले कुवेतमा देख्नुभएको छ भनें परिवारलाई नेपालमा ९८११४२८१३६ मा खवर गरिदिनुहोला । साथै सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको टेलिफोन नम्वर ०७८-५४०९५७ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ । यसैगरी हाम्रा कुवेत सहकर्मी हरिकृष्ण न्यौपानेको सम्पर्क नम्वर ९६५-६५०४२२१६ मा पनि जानकारी गराइदिन सक्नुहुन्छ ।
Loading...