Latest News

अस्ट्रेलियाबाट फर्केका नवलपरासीका युवाले श्रीमती छाड्न श्रीमतीको अश्लिल भिडियो इन्टरनेटमा अपलोड गरेपछि…


जेठ २४ काठमाडौं-करिब सात वर्षअघि अस्ट्रेलियाको भिसा लागेपछि नवलपरासीका युवराज अधिकारी ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा अस्ट्रेलिया लिएर गए ।

अस्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अस्ट्रेलिया बसाइँपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे ।

युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगे ।

आफैँले भिडियो खिचेर प्रतिशोध

पूर्वश्रीमतीकै कारण उनले अस्ट्रेलिया छाड्नुपरेको थियो । त्यसको बदला लिन उनले फेसबुक र पोर्नसाइट (अश्लील भिडियो राखिने वेबसाइट) रोजे ।

सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिए । उनी त्यतिमा मात्र रोकिएनन्, पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर गरे ।

फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए । पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए ।

त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो । प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्‍यो । प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ ।

अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ । चार वर्षअघि पनि त्यस्तै हर्कत करिब चार वर्षअघि पनि युवराजले ती भिडियो पोर्नसाइटमा हालेका थिए । त्यसवेला भिडियो हटाएपछि उनीहरूबीच विवाद मिलेको थियो ।

गत महिना फेरि भिडियो पोर्नसाइट र फेसबुकमा आएपछि पीडित परिवार प्रहरीमा उजुरी गर्न पुगेको थियो । अनुसन्धानका क्रममा युवराजले पूर्वपत्नीकै कारण अस्ट्रेलिया छाड्नपरेकाले बदला लिन भिडियो अपलोड गरेको बयान प्रहरीलाई दिएका छन् । तर, पीडित परिवारले भने आपराधिक गतिविधिमा संलग्न भएकाले युवराजलाई अस्ट्रेलियन सरकारले डिपोर्ट गरेको दाबी गरेको छ ।

अस्ट्रेलियाबाट फर्केर केही समय भारत बसेका युवराजले नेपाल आएर तीन महिनाअघि मात्र विवाह गरेका छन् । प्रेम–सम्बन्धमा विवाद भएपछि पछिल्लो समय फेसबुक तथा पोर्नसाइटहरूमा भिडियो र फोटो राखी प्रतिशोध लिने–बार्गेनिङ गर्ने घटना बढेका छन् । त्यस्ता उजुरी प्रहरीमा बढ्न थालेको छ ।

अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Loading...