Latest News

के को लागी आन्दोलन ? फुर्सद भए पुनर्निर्माण को लागी आउनुस : प्रधानमन्त्री ओली

काठमाडौं, ३ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारी मोर्चालाई फूर्सद भए पुनर्निर्माणमा आउन आव्हान गर्नु भएको छ । देशमा भूकम्पका कारण जनता आहत भएका बेला गरिएको आन्दोलनले जनता खुसी हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

मदन–आश्रितको २३ औं स्मृति दिवसमा बल्खुस्थित एमालेको पुरानो कार्यालयमा रहेको जननेता मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्न पुग्नु भएका प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै आन्दोलनको उद्धेश्य र गन्तब्य नभएको वताउनु भएको हो ।

‘देशमा यत्रो भूकम्प गयो, जनता बास बिहिन भएका छन्, यस्तो बेला केका लागि आन्दोलन गर्न लागेको हो ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘फूर्सद छ भने आउनुस् एमालेले पुनर्निर्माणका लागि ७ गतेदेखि स्वयंसेवक परिचालन गर्दैछ, जनताको सेवामा सँगै मिलेर काम गरौं, जनताको हित त्यसैकाट हुन्छ ।’

प्रधानमन्त्री ओलीले आन्दोलनको औचित्य नरहेको समेत वताउनु भयो । ‘लोकतन्त्र, गणतन्त्र ल्याउन पहिले हामीले आन्दोलन गर्यौं’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यो केल्याउन गरिएको आन्दोलन हो ?’ ओलीले आन्दोलनमा सरकारले दमन नगर्नेमा ढुक्क हुन पनि आन्दोलनकारी मोर्चालाई आग्रह गर्नु भयो । ‘ढुक्क हुनुस् आन्दोलनमा दमन हुँदैन’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘तर, दमन गर्दैन भन्दैमा गाडी जलाउने, सार्वजनिक सम्पत्ती र जनताको सम्पत्ती तोडफोड गर्ने काम गरे सहंदैनौं ।’

नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने जननेता मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भएको कुरामा एमाले स्पष्ट रहेको प्रधानमन्त्रीले वताउनु भयो । नियोजित हत्या भएको लामो समयपछि त्यसको खोजी गर्न कठीन भए पनि आफूहरु खोजविनमा लाग्ने ओलीको भनाई थियो । ‘त्यो नियोजित हत्या थियो भन्नेमा हामी दुविधामा छैनौं, कानुनी रुपमा खोजविन गर्नु पर्नेछ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘प्रमाणहरुको अध्ययन गर्ने र अनुसन्धान गर्ने काममा हामी लाग्नेछौं ।’

chakrapath.com

-
Loading...