Loading...
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको आधार गिरिजाप्रसादले तयार पारे, उनकै उत्तराधिकारी सुशील कोइरालाले यी विषयलाई स्वीकार्दै गणतन्त्र नेपालको संविधान जारी गर्ने नेतृत्व लिएर संविधान आएको पनि ८ महिना बितिसक्यो । तर, आफ्नै श्रद्धेय नेताहरुले स्वीकारेको, हस्ताक्षर गरेको संविधानलाई कार्यान्वयन गर्नुको सट्टा यी परिवर्तनका महत्वपूर्ण मुद्दा उल्टाउने गरी कांग्रेसका पदाधिकारी भइसकेका नेताहरु नै अभिव्यक्ति दिंदै हिडेका छन् ।
यस्तो अभिव्यक्ति दिने छाडा नेतामा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र खुमबहादुर खड्का सबैभन्दा अघि छन् । पार्टीको दुई महिना मात्रै सकिएको १३ औँ महाधिवेशनमा यी मुद्दा संस्थागत गर्दै जाने पार्टीको मूल कार्यभार भएको निर्णय कांग्रेसको थियो ।
डा. शशांक कोइराला, महामन्त्री
राजनीतिक कौशल, सीप, क्षमता भन्दा पनि बिपीका कान्छा छोराको रुपमा कांग्रेसमा स्थापित हुँदै यसपटक महामन्त्री हत्याएका कोइराला विवादास्पद अभिव्यक्ति दिनमा सबैभन्दा अगाडि छन् । कोइरालाले महाधिवेशन सुरु हुनु अघि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता हतारमा निर्णय गरिएको भन्दै यी विषयमा फेरि जनमत लिनुपर्ने भनाई बिबिसीसँगको अन्तर्वातामा राखे । तर, परिवर्तनका मुद्दा उल्ट्याउने अभिव्यक्ति दिएको पाँचौ दिनमा उनलाई महामन्त्रीमा विजयी गराइयो । उनको विजयले कांग्रेसमा अधिकांश नेता कार्यकर्ताहरु यी मुद्दाको विपरीत छन् भन्ने सन्देश दियो ।
तर, कोइराला यतिमै सीमित भएनन् वैशाखमा अमेरिका गएर आफू पनि हिन्दु भएको भन्दै नेपाल पुनः हिन्दु राज्य हुँदा सहजता हुने टिप्पणी गरे । केही दिन पश्चिम नेपाल पुगेर ८० प्रतिशत हिन्दु भएको राज्यमा हिन्दु राज्य बनाउनुपर्ने आशय व्यक्त गरे । तर, जिम्मेवार नेताले यस्तो अभिव्यक्ति दिंदा पार्टीले अहिलेसम्म त्यसको खण्डन गरेको छैन । स्पष्टीकरण सोधेको छैन ।
सीतादेवी यादव, कोषाध्यक्ष
तराई मधेसमा उठेका कतिपय राष्टियता विरोधी विषय पनि छन् । तर, कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले तराई मधेसको आन्दोलनप्रति आफ्नो दलको पूर्ण समर्थन रहेको बताइन् । रिपोटर्र्स क्लब नेपालले केही दिन अघि गरेको कार्यक्रममा उनले तराई मधेसमा दुई प्रदेश हुनुपर्ने माग गरिन् । कांग्रेसले अहिलेसम्म तराई मधेसको आन्दोलनलाई समर्थन गरेको छैन । तर, जिम्मेवार कोषाध्यक्षले बोल्दा उनलाई स्पष्टीकरण सोधिएको छैन । यसको सीधा अर्थ आन्दोलनरत दल मधेसीलाई कांग्रेसको साथ रहेको छ भन्ने देखाउँछ । होइन भने किन उनलाई स्पष्टीकरण सोधिएन ?
डा. शेखर कोइराला, केन्द्रिय सदस्य
कोइराला परिवारका राजनीतिक खेलाडी शेखरका पछिल्ला अभिव्यक्ति पनि सशंकित पार्ने खालका छन् । संविधान बन्दै गर्दा धर्मनिरपेक्षता उल्ट्याउन संसोधन हालेका शेखरले केही समय अघि प्रमुख दलका नेताले हिन्दु राज्य बनाउन भारतबाट करोडौं खाएको आरोप लगाएका छन् । पैसा खाए पनि भारतको प्रस्ताव नमानी धर्मनिरपेक्षता नहटाएकोले भारतले नाकाबन्दी गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनी केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याउने सदस्य हुन् । परिवर्तनका मुद्दा उल्टयाउन अभिव्यक्ति दिने यी पनि पहिलो नम्बरमा पार्टीबाट पुरस्कृत भएका छन् ।
खुमबहादुर खड्का, केन्द्रिय सदस्य
भ्रष्टाचारमा बदनामी कमाएपछि जेलको हावा खाएर निस्किएका खड्का हिन्दु राज्य बनाउन खटिने सबैभन्दा सक्रिय खेलाडी हुन् । उनी भ्रष्टाचारी प्रमाणित हुँदा पनि कांग्रेसले उनलाई कारवाही गर्न सकेको थिएन । यसैबाट हौसिएका उनी हिन्दु राज्य फर्काउन कांग्रेसका केन्द्रीय सदस्य बोकी हिडेका छन् ।
शंकर भण्डारी, पुष्पा भुसाल, पार्वती डिसी, मोहन बस्नेतलाई उनले हिन्दुु राज्यको लागि अघि सारेका छन् । यस्तो अभियान चाल्ने खड्का केन्द्रीय सदस्यमा शेखरपछि बढी मत ल्याउने गरी विजयी बनाइएका थिए । अहिले मृर्गौला फेरेका कारण घरमै रहे पनि आफू निकटका नेतामार्फत हिन्दु राज्यको लागि उनले दबाब बढाइरहेका छन् । आफ्ना जिम्मेवार नेतहरुले परिवर्तनविरोधी अभिव्यक्ति दिएको प्रति कांग्रेस नेताहरु नै तीव्र असन्तुष्ट छन् ।
मनमा जो लागेको बोल्न पाइदैंनः धनराज गुरुग, केन्द्रीय सदस्य कांग्रेस
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र कांग्रेसकै बलमा आएका विषय हुन् । कांग्रेस नेतृत्वमै संविधान जारी हुँदा यी विषय संस्थागत हुने बाटोमा छन् । जिम्मेवार नेताहरुले यसरी हचुवाको भरमा बोल्न हुदैन ।
हाम्रो महाधिवेशनले यी तीन विषयलाई पारित गरेको छ । पारित गरेको विषयलाई संविधान कार्यान्वयन गराएर अघि बढ्ने र बोल्ने हो । जे पायो त्यही बोल्ने होइन । गाउँदेखि केन्द्रसम्मका नेताले पार्टी नीतिमा रहेर बोल्नुपर्छ । कांग्रेसका २०७ सांसदले यो विषयमा हस्ताक्षर गरेर संविधान जारी भएको थियो । अब यसको कार्यान्वयनमा लाग्नुपर्छ ।
मोदी र दरबारियाको लाइनमा शशांक र शेखरः कपिल श्रेष्ठ, राजनीतिक विश्लेषक
बरु बिपीले राजतन्त्रलाई सशर्त समर्थन गर्नुभयो । तर, उहाँका छोरा भतिजामा बाहुनवादी पुरातनवादी सोच देखियो । शशांक र शेखरले भारतीय प्रधानमन्त्री मोदीको भाषा बोलेका छन् । दरबारियाका भाषा बोलेका छन् ।
यो वाहियात र जिम्मेवार नेताको गैरजिम्मेवार तर्क हो । उनीहरुका यी टिप्पणी चुनावी घोषणापत्र विपरीत, महाधिवेशनको नीति विपरीतका अभिव्यक्ति हुन् । बिपीले समाजवादमा जोड दिए, उनैका छोरा भतिजा धर्म निरपेक्षता, गणतन्त्र, संघीयता जस्ता लोकतान्त्रिक समाजवादका पूर्वाधारमा हचुवा र परिवर्तनविरोधी अभिव्यक्ति दिंदै हिड्नु बिडम्वनापूर्ण छ ।
-
Loading...
Social Buttons