Latest News

कसैले बोत्तल फोर्दैमा सरकार ढल्दैनः माधव नेपाल;; ओली सरकार अब दुई वर्ष टिक्छ


सिन्धुलीः पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । 


फलकुमारी महतो मेमोरियल ट्रसको सहयोगमा निर्माण हुन लागेको सिन्धुलीस्थित पिपलभञ्ज्याङ्ग माविको भवन शिलान्यास समारोहमा भाग लिन मंलबार सिन्धुलीमाढी आइपुगेका नेता नेपालले देशको वर्तमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका हुन् । 

देशमा अझै २३ महिनासम्म संक्रमण रहने आँकलन गर्दै नेता नेपालले भने, ‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, सबै पक्ष मिलेर देशलाई अग्रगतितर्फ लैजानुपर्छ । प्रधानमन्त्रीको हुने लफ्डा गर्नुभन्दा पनि देश बनाउने कुरामा सबै राजनैतिक शक्तिहरु एकैठाउँमा आउनुपर्छ ।’ 

कांग्रेसतर्फ इशारा गर्दै नेता नेपालले बोत्तल फोर्दैमा सरकार नढल्ने बताए । ‘सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तल फोडेको सुनेको छु’, उनले भने, ‘बोत्तल फोर्दैमा सरकार ढल्दैन । यही सरकार अझै कम्तीमा २३ महिना टिक्छ ।’ 

भूकम्पपीडितहरुका लागि सरकारले छिट्टै अनुदान रकम दिनुपर्नेमा उनले जोड दिए । भ्रष्टाचार र ढिलासुस्तीलाई प्रमुख दुष्मनको रुपमा लिँदै समृद्धितर्फ देशलाई लैजानुपर्ने उनको भनाइ छ । ‘सुशासन र विकास अहिलेको मुख्य आवश्यकता हो, त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्छ,’ उनले भने । 

भवन शिलान्यास समारोहमा ट्रस्टका उपाध्यक्ष वीरेन्द्र महतोले भूकम्पबाट पीडामा परेका अभिभावक र विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले आफुहरुले उक्त विद्यालय छनौट गरेको बताए । 

ट्रस्टले विद्यालय भवन निर्माणको लागी एक करोड ६० लाख भन्दा बढी सहयोग गर्ने जनाएको छ । एक वर्षभित्र १२ कोठे पक्की भवन बनाइसकिने योजना छ । उक्त विद्यालय भवन भूकम्पबाट ध्वस्त भएको थियो ।

हाल उक्त विद्यालयमा तीन सय भन्दा बढी दलित तथा जनजाती विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । भूकम्पका कारण जिल्लाका तीन सय भन्दाबढी विद्यालय भवन क्षतिग्रस्त भएका थिए भने हजारौँ विद्यार्थीहरु प्रभावित बनेका थिए । 

Loading...