Latest News

काठमाडौँ- केरुङ रेलमार्ग म बनाउँछुः प्रधानमन्त्री ओली


‘जायज र उचित माग सबैका पूरा हुन्छन्’
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–केरुङ रेलमार्ग सरकारले आफैँ बनाउने बताएका छन् । 


युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पैँतालीस दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउनेछ ।’ 

प्रधानमन्त्री ओलीले पूर्व-पश्चिम राजमार्ग चौडा बनाउने र लोकमार्गलाई तीब्रताका साथ कालोपत्रे बनाउने समेत घोषणा गरे । ‘पूर्व-पश्चिम राजमार्ग चौडा बनाउँछौँ, मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई तीव्रताका साथ कालोपत्रे गर्छौं’, ओलीले भने । 


मधेससी मोर्चाको आन्दोलन र मागको सम्बन्धमा बोल्दै ओलीले जायज र उचि माग मात्र पुरा हुने बताए । ‘जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न’, उनले भने । 

सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उनले बताए । 

प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पुर्याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले बताए ।

कागज विस्थापन गरी कम्प्युटरबाटै कार्य सञ्चालन गर्ने गरी ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गरिने प्रधानमन्त्री ओलीले बताए ।

सरकारले गरिबी हटाई देश विकास गर्ने बजेट ल्याउने प्रशासन मात्र चलाउने बजेटको निरन्तरता नहुने प्रतिबद्धता पनि उनको छ । 

युवा स्वरोजगारलाई व्यवहारमा उतार्न प्रमाणपत्र धरौटी राखेर बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको प्रधानमन्त्री ओलीले बताए

कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलकुमारी पन्त र महासचिव किरण पौडेलले युवाको शक्तिलाई राष्ट्र निर्माणमा लगाउने सोच एवम् कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

स्थापना दिवसका अवसरमा गरिएको पहिलो युवा महोत्सवमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनुका साथै रोजगारमूलक र स्वास्थ्य सेवा प्रदान गर्ने जानकारीमूलक २२ वटा कक्ष पनि राखिएको थियो । 

सङ्घको संस्थापक अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुखपत्र युवा आवाज र प्रशिक्षण सामग्रीको पनि विमोचन गरे । रासस 
-
Loading...