Latest News

राजधानीमा भ्वाइस च्याटमार्फत यौनधन्दाका युवतीहरुको मोलमोलाइ; यसरी भयो पदाफास !!!

काठमाडौं । जिम्मेवार उच्च अधिकारीहरुसँगको मिलेमतोमा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता ठगी गर्दै आएको व्यापारिक घराना लक्की ग्रुपबाट सञ्चालित टेलिटक नेपाल प्रालिको भ्वाइस च्याटमार्फत यौनधन्दाका युवतीहरुको मोलमोलाइ हुने गरेको खुलासा भएको छ ।

स्रोतका अनुसार टेलिटक नेपाल प्रालिले ललितपुरको पुल्चोकनजिकै सञ्चालन गरेको कलसेन्टरबाट परामर्शको लागि भन्दै राखेका युवतीहरुले टेलिफोनबाटै भ्वाइस च्याटमा आउने युवाहरुसँग यौनकार्यको लागि मोलमोलाइ समेत गर्ने र मोलमोलाइ मिलेमा आफूअनुकूलको गेस्ट हाउस अथवा भाडाको फ्ल्याटमा बोलाउने गर्दथे ।

त्यसरी भ्वाइस च्याटको नाममा देहव्यापार हुने गरेको गोप्य खबर करिब अढाइ वर्षअगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेको थियो । तर ब्युरोले उक्त विषयमा अनुसन्धान तथा कारबाहीको प्रक्रिया
अगाडि बढाउनुको सट्टा लक्की ग्रुपका मालिकसँगको मिलेमतोमा आँखा चिम्लिएका कारण उक्त धन्दा निर्बाध रुपले सञ्चालन भएको स्रोत बताउँछ ।

'सीआईबीले उक्त विषयमा अनुसन्धान सुरु गरेको खबर हामीले पनि पाएका थियौँ, अनुसन्धान सुरु भयो भन्ने थाहा भएपछि उक्त कलसेन्टर केही दिन बन्द भएको थियो, पछि केमा कुरा मिलेछ कलसेन्टर पुनः सञ्चालनमा आयो', टेलिटकसम्बद्ध स्रोतले भन्यो ।

पछिल्लो समय नेपाल टेलिकमको पुल्चोकस्थित ग्राहक सेवाकेन्द्रले भ्वाइस च्याटमा 'रमाइला साथीहरुसँग कुरा' गर्ने भनी राखिएको अप्सनले प्रहरीको कारबाहीमा पर्नसकिने भन्दै उक्त अप्सन हटाउन मौखिक चेतावनी दिएपछि कलसेन्टर बन्द गरेको स्रोतको दाबी छ ।

उता टेलिटक नेपाल प्रालिले स्वचालित नवीकरण तथा स्वचालित सेवा सुचारु गर्ने गरी मोबाइल प्रयोगकर्तालाई ठगी गरेको र त्यसरी ठगी गरेको रकम बाँडफाँटमा टेलिकम नेतृत्वसँग बार्गेनिङ नमिलेपछि नेपाल टेलिकमको ग्राहक सेवा निर्देशनालय पुल्चोकले गत फागुन ४ गतेको मितिमा टेलिटक नेपाललाई भीएएस सेवामा ग्राहकको मन्जुरीविना स्वचालित तरिकाले गर्ने गरिएको नवीकरण तुरुन्त रोक्न उर्दी जारी गरेको छ ।

नेपाल टेलिकमले मिति २०७२ फागुन ४ गते टेलिटक नेपाल प्रालिको नाममा जारी गरेको उक्त पत्रमा ग्राहक सेवा निर्देशनालय पुल्चोक ललितपुरका उपप्रबन्धक सुरजसिंह थापाले हस्ताक्षर गरेका छन् । उक्त पत्रमा नेपाल टेलिकम र भीएएस सेवा प्रदायकहरुबीच सम्झौता भई उपलब्ध गराई आएको भीएएस सेवाहरु नेपाल दूरसञ्चार प्राधिकरणबाट भएको निर्देशनबमोजिम ग्राहकले सन्देश पठाई नवीकरण पक्का गरेको अवस्थामा मात्र नवीकरण हुने तथा अन्य अवस्थामा नवीकरण नहुने व्यवस्था गरी स्वचालित नवीकरण प्रणाली नगर्न र नगराउन उर्दी जारी गर्दै सेवा सुचारु गरेका तथा नवीकरण गरेका प्रयोगकर्ताहरुको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । आर्थिक दैनिकले समाचार छापेको छ ।
Loading...