Loading...
काठमाडौं, २ वैशाख । 'हामी को हो चिनिनस् ?' बा ६५ प ९९१४ नम्बरको नीलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामामाथि खनिए । ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने, 'बढी हुने होइन, जागिरसमेत खाइदिउँला ।'
चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,' म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् ?'
तब ट्राफिक जवान लामा निरीह देखिइन् । तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन् । कारोबार दैनिकले समाचार छापेको छ ।
मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरिन् ।
त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए । त्यसबेला अपराहृन तीन बजिसकेको थियो ।
महाशाखाले लेन मिचेको अभियोगमा कागजात नियन्त्रणमा लिएको स्पष्ट पारेपछि अर्यालले 'ल ठीकै छ'भन्दै कारबाही अघि बढाउन संकेत गरे ।
केही बेरमै भीड जम्मा भइसकेको थियो । ट्राफिक र जनपद प्रहरीका वाकीटाकीमा यसबारे खैलाबैला भइसकेको थियो ।
लेन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुर र नेपाली कांग्रेसकी सांसद रश्मी ठाकुर रहेछन् । उनीहरु नाताले श्रीमान–श्रीमती रहेको खुलेको छ ।
ट्राफिक प्रहरी हवल्दार शान्ति थापाले लेन अनुशासन उल्लघंन अभियोगमा २०० रुपैयाँ जरिवान हुने गरी पूर्जी काटेर सवारी चालक अनुमतिपत्र आफूसँग राखिन् ।
Loading...

Social Buttons