Loading...
काठमाडौं, १३ वैशाख । कञ्चनपुरका एसपी तुलसी अधिकारीले जिल्लामा रहेको एक मिनी क्यासिनोबाट पैसा खाएको भन्दै उजुरी परेपछि सो विषयमा प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको छ ।
छ महिनाअघि सुरुवा भएर गएका एसपी अधिकारीले त्यहाँ रहेको मिनी क्यासिनोबाट हरेक महिनाको २ गते महिनावारी रकम लिएर नेपालीलाई छिर्न दिएको विषयमा प्रधान कार्यालयमा उजुरी परेको थियो । तरुण साप्ताहिकले समाचार छापेको छ ।
कञ्चपनुरकै प्रहरी कर्मचारीको नाममा आएको सो उजुरीको विषयमा अनुसन्धान गर्न प्रहरी महानिरीक्षकको सचिवालयबाट छानविन सुरु गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनले हरेक महिनाको २ गते क्यासिनोका सञ्चालकलाई आफ्नै कार्यकक्षमा बोलाएर पैसा लिने गरेका छन् । 'प्रत्येक महिनाको २ गते पैसा बुझाउन जानुपर्छ, नत्र प्रहरी भ्यान क्यासिनोको गेट अगाडि हुन्छ', क्यासिनो सञ्चालकले भने ।
एसपी अधिकारीले आफ्नै मातहतमा रहेका प्रहरी निरीक्षकलाई महिनावारी उठाउन पठाउने गरेका छन् ।
द्वन्द्वकालमा माओवादी र प्रहरीबीच भिडन्त हुँदा सामान्य घाइते भएका एसपी अधिकारीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नै राम्रो कमाइ गर्नु भनेर पठाएको स्रोतको भनाइ छ ।
केन्द्रीय प्रहरीको पहुँच नपुग्ने भएकाले उनले आफ्नो मनलाग्दी काम गरेका हुन् ।
गुण्डाहरूले त्यहाँ स्थानीय प्रहरीमाथि हातपात गर्दा पनि तिनीहरूलाई ल्याएर उनीहरूकै पैसा खाएर मुद्दा नचलाइ पठाएका थिए ।
नयाँ वर्षको दिन एक होटलमा स्थानीय गण्डाहरूले होहल्ला गरी प्रहरीमाथि आक्रमण गरेका थिए, सो प्रकरणमा एसपी अधिकारले उनीहरूलाई मिलाउने नाममा प्रहरीलाई नै अन्याय हुनेगरी छाडेका थिए ।
कुटाइ खाने सहायक प्रहरी निरीक्षकले क्षेत्रीय प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । सो गुनासो प्रहरी प्रधान कार्यालयसम्म आइपुगेको छ ।
Loading...
Social Buttons