Loading...
धापासीस्थित कोइराला निवासमा पुग्दा प्रकाश कोइराला सिन्कोजस्तै सानो आकारको चुरोट तान्दै थिए । अनलाइनखबरसँगको भेटको सुरुमै उनले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको प्रशंशा गरे । त्यसपछि उनले अर्को दाबी गरे- नेपालमा अब धर्मनिरपेक्ष राजतन्त्र फर्किन्छ ।
मनिषा कोइरालाका पिताको यो दाबी कति यथार्थ होला, या कति मनोगत ? तर, उनले दाबी चाँहि ढुक्कसँग गरे ।
‘बहुदल आएपछिको महान काम’
‘प्रधानमन्त्री केपी ओलीजीले चीन भ्रमणमा गएर जुन सम्झौताहरु गर्नुभयो, त्यसको दीर्घकालीन महत्व छ, बहुदलीय व्यवस्था स्थापनापछि कुनै पनि प्रधानमन्त्रीले यस्तो महान काम गर्न सकेका थिएनन्,’ कोइरालाले भने- ‘यसमा ओलीजीले गरेको कामलाई
मैले स्वागतयोग्य मानेको छु ।’
‘हिन्दुस्तानको एजेण्डा’
कोइरालाले भारतलाई भारत नभनेर हिन्दुस्तान भन्छन् । श्रीमतीको उपचारमा केही महिना भारत बसेर भर्खरै काठमाडौं फर्किएका कोइरालाले अब नेपालमा धर्म निरपेक्ष राजतन्त्र स्थापना हुने दाबी गरे । र, यसमा हिन्दुस्तानले सघाउने उनले तर्क गरे ।
‘राजतन्त्र फाल्ने एजेण्डा हिन्दुस्तानको थियो, तर राजा फालेपछि नेपालमा उसले सोचेजस्तो भएन’ कोइरालाले चुरोटको सर्को तान्दै भने- ‘भारतले यसलाई रिभ्यु गरिसकेको छ, त्यसैले अब नेपालमा राजसंस्था फर्किन्छ, फर्किन्छ, सुदुर पश्चिममा राजा चाहिन्छ भनेर नारा नै लाग्न थालिसक्यो ।’
हिन्दुस्थानले तत्कालीन राजा वीरेन्द्रकै पालामा नेपालका गणतन्त्र स्थापना गर्न चाहेको कोइरालाले बताए । ‘जबसम्म नेपालमा राजसंस्था रहन्छ, त्यसबेलासम्म आफ्नो प्रभाव विस्तार गर्न सकिँदैन भन्ने उसले सोचेको थियो,’ कोइरालाले भने,’ नेपालका राजा चीनसँग निकट छन् भन्ने हिन्दुस्थानलाई अर्को डर थियो, त्यसैले उसले राजतन्त्र फाल्ने नीति लिएको थियो ।
बहुदल आएको केही वर्षमै माओवादीले हतियार उठाएको र भारतले उसलाई सेकेण्ड ह्याण्ड हतियार, तालिम र आश्रय दिएर राजतन्त्रविरुद्ध प्रयोग गरेको कोइरालाले दाबी गरे । कोइरालाले भने- ‘हिन्दुस्तानले माओवादी नेताहरुलाई भनेको थियो, तिमीहरु राजसंस्था फाल, त्यसपछि तिमीहरुलाई सत्तामा पुगाइदिउँला ।’ पछि कांग्रेस र एमालेलाई पनि कुरा लगाएर हिन्दुस्तानले माओवादीसँग मिलाई राजतन्त्रविरुद्ध प्रयोग गरेको उनले बताए ।
बाह्रबुँदे समझदारीपछि भारतले पश्चिमी स्केन्डेभियन मुलुकलाई विश्वासमा लिन उनीहरुलाई धर्म निरपेक्षताको कार्ड फालेको र अमेरिकालाई चीन देखाएर नेपालमा राजसंस्था फाल्न सहमति गराएको कोइरालाले दाबी गरे । उनले भने-‘संघीयता, धर्म निरपेक्षता र गणतन्त्र यो सबै हिन्दुस्तानकै एजेण्डा थियो ।’
रामशरण महतको आलोचना
तर, नेपालमा राजतन्त्रको अन्त्य हुनुमा नेपालको आन्तरिक परिस्थिति चाहिँ जिम्मेवार थिएन त ? यस्तो प्रश्न गर्नासाथ कोइरालाले कांग्रेस नेता डा. रामहशरण महतको आलोचना गर्न सुरु गरे । उनले भने- ‘रामशरण महतले पश्चिमाका कुरा सुनेर आर्थिक उदारीकरणको नीति लिनु भो, कांग्रेससँग सामाजिक आर्थिक नीति नै भएन । वीपीको समाजवाद अनुसारको काम हुन सकेन, जसले गर्दा कम्युनष्टिहरु बढे ।’
अब नेपाली कांग्रेसले जनताको हित हुनेखालको सामाजिक आर्थिक नीति लिनुपर्ने र रामशरण महतले लिएको बाटो परित्याग गर्नुपर्ने उनले बताए । साथै कांग्रेसले अब राष्ट्रियतालाई जोड दिनुपर्ने कोइरालाले सुझावसमेत दिए । ‘कांग्रेसले राष्ट्रियलाई भुल्नुहुँदैन,’ उनले भने ।
राजतन्त्र फर्किने दाबी
पूर्वमन्त्री कोइरालाले अब नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रमा नफर्किई सुख नपाउने बताए । ‘कांग्रेस त संवैधानिक राजतन्त्रमा फर्किन्छ, फर्किन्छ,’ उनले भने- धर्म निरपेक्ष ठूलो कुरा होइन, राजतन्त्र नै मुख्य हो, हिन्दुस्थानमा पनि धर्म निरपेक्ष छ, त्यसैले अब धर्मनिरपेक्ष राजतन्त्र फर्किन सक्छ ।’ अनलाइन खबर बाट साभार
Loading...
Social Buttons