Latest News

अमर बन्न नसकेको एउटा प्रेमकथा !!! प्रत्येक युवायुवतीले एकचोटी पढ्र्नेपर्ने आत्मीय कथा

राजेन्द्र स्थापित , साहबुद्दिन मुहम्मद खुर्रम उर्फ मुगल सम्राट् साहजहाँ र उनकी दोस्री रानी मुमताज महलका ज्येष्ठ सुपुत्र दारा सुखो सम्राट् जहाँगिरको मृत्यु र बाबु साहजहाँ गद्दीसिन हुँदा १२ वर्षका थिए । सोझा र मिजासिला थिए । मुद्दा–मामिला, झै–झगडा दुवै पक्षलाई सहमतिमा ल्याएर सुल्झाउँथे । मुस्लिम भए पनि धार्मिक स्वतन्त्रताको वकालत गर्थे ।
शिक्षित, उदार विचार र सबैसँग चाँडै घुलमिल हुनसक्ने स्वभावका उनको बिहे नाताले बहिनी पर्ने नादिरा बानुसँग १८ वर्षकै उमेरमा भयो । नादिराका बाबु सुल्तान परवेज मिर्जा जहाँगिरका माइला छोरा थिए भने आमा इफातजहाँ बानु सम्राट् अशोककी नातिनी ९रानी सलिमा सुल्तान बेगमतर्फकी० थिइन् । नादिरा अत्यन्त सुन्दरी र बुद्धिमती थिइन् । किशोरावस्थामै बिहे गरेका दारा र नादिरा एक–अर्कालाई औधी माया गर्थे । दाम्पत्य जीवन निकै सुखी थियो । युवराज दाराले अन्य स्त्रीसँग बिहे नगर्ने कसम नै खाए । नादिरा पनि आठ सन्तानकी आमा बनिन् ।
तर, दाराको कसम धेरै दिन टिकेन । रुसी (जर्जियाइ)केटीलाई देखेपछि भुतुक्क भइहाले । धर्मको पनि ख्याल नराखी इसाई केटीसँग बिहे गरे । पछि ती पत्नी उदयपुरी बेगमको नाउँले चिनिइन् । दारा संगीत र नृत्यप्रति ठूलो चासो राख्थे । यसैक्रममा नर्तकी रानादिललाई देखे । रानादिल अनाथ थिइन् र सडकमा नाचेर जीविकोपार्जन गर्थिन् । सुफी गीत–संगीत गाउन–बजाउन जान्ने दारा रानादिललाई मन पराउन थाले । अनाथप्रति सहानुभूति दर्शाउने बहानामा नजिकिए ।
प्रेम गर्न थाले । सम्राट् साहजहाँ दारालाई सबैभन्दा बढी माया गर्थे । भविष्यमा उनै सम्राट् बनुन् भन्ने चाहन्थे तर सडकछाप नर्तकी रानादिललाई बुहारीको रूपमा स्वीकार्न चाहेनन् । सामान्य नर्तकी कुनै हालतमा दरबारको सदस्य बन्न नसक्ने तर्क अघि सारे । तर, बाउको सबै कुरा मान्दै आइरहेका दारा रानादिलको विषयमा जिद्दी बने । आफ्नो अडानमा टसमस भएनन् । बरु मृत्यु स्विकार्न तयार भए । छोरासामु राज्यको कानुन, तर्क कुनैले काम नगरेपछि अन्त्यमा सम्राट् झुके ।
रानादिल दाराको तेस्रो पत्नी बनिन् । दाराले अन्य रानीलाई जत्तिकै इज्जत र स्थान दिए । रानादिलले पनि लोग्नेप्रति माया–प्रेम न्यौछावर गर्न कुनै कसर बाँकी राखिनन् । पतिप्रति बफादार बनेर दिन काट्न थालिन् ।

उनी हिन्दू थिइन् । सानैदेखि दुःखी थिइन् । बाबु–आमाबारे बेखबर तर उनको हृदय सफा थियो । रानादिलकै अर्थ पनि सफा मन हो । बाल्यकालदेखि नै सडकमा नाच्न थालेकी थिइन् । यसबीच दारा सेनाको कमान्डरमा नियुक्त भए । सन् १६४२ मा २७ वर्षकै उमेरमा साहजहाँको उत्तराधिकारी घोषित भई ‘साहजादे–ए–बुलन्ड इकबाल’ अर्थात् सौभाग्यशाली युवराज पद्वी पाइसकेका उनी क्रमशः अलाहावाद, गुजराज, काबुलको गभर्नर बने । उनको मातहतमा ५० हजार पैदल सेना र ४० हजार घोडा थिए । सन् १६५७ को सेप्टेम्बर ६ मा अचानक ६५ वर्षीय सम्राट् साहजहाँ बिरामी परे । लगत्तै चार जना राजकुमार दारा, औरंगजेब, साहसुजा र मुराद बख्सबीच सत्तासंघर्ष सुरु भयो । साहसुजाले बंगालमै बसेर आफूलाई मुगल सम्राट् घोषित गरे ।
मुराद बख्स र औरंगजेबलाई साथमा लिएर आगरातर्फ बढे । यसबीच साहजहाँले दारालाई बिहारको पनि गभर्नर बनाइदिए । सम्राट्को यो कार्यले बाँकी तीन छोरा झन् उत्तेजित बने । सम्राट्विरुद्ध युद्धको घोषणा गरे । अन्त्यमा समुगढमा भएको युद्धमा औरंगजेव र मुरादले दारालाई परास्त गरे । समुगढ आगराभन्दा ३० किमी परको स्थान हो । युद्ध जितेपछि औरंगजेव आगरातर्फ बढे र किल्ला कब्जा गरे । आठ दिनपछि साहजहाँलाई अपदस्थ गरी सन् १६५८ को जुन ८ मा सम्राट् बने ।

दारा भागेर गुजरात पुगे । त्यहाँका गभर्नर साह नवाज खानको सहयोग लिई औरंगजेवको फौजसित फेरि युद्ध गरे तर सकेनन् र सिन्धतर्फ भागे । अफगानी फौजी सरदार मलिक खानकोमा शरण लिन पुगे । मलिकले धोका दिएर दारालाई औरंगजेवसामु सुम्पिदिए । औरंगजेवले सिक्रीले बाँधेर दारालाई सहर घुमाए । देशद्रोही सावित गरे र सन् १६५९ को सेप्टेम्बर ९ मा टाउको छिनाल्न लगाए । साम्राज्यमाथि पूर्ण नियन्त्रण जमाएपछि औरंगजेवले दाराका पत्नीमाथि पनि अधिकार जमाए । दाराकी जेठी पत्नी नादिरा बानुले तत्कालै विष सेवन गरी देह त्यागिन् भने जर्जियाई पत्नी उदयपुरी औरंगजेवको ‘हरम’ (जनानागृह) मा कैद भइन् । दाराका कतिपय सन्तानको हत्या निर्ममतापूर्वक भयो ।

दाराप्रति बफादार रानादिल त्यसबेला आगराबाहिर थिइन् । औरंगजेवले ‘हरम’मा पु¥याउन उनलाई लिन पठाए । लिन आएका दूतले सम्राट्ले भेट्न चाहेको बताएपछि रानादिलले ‘किन’ भनी प्रश्न गरिन् । दूतले स्पष्ट शब्दमा भाउजु रानादिललई पनि अन्यसरह रानी बनाउन चाहेको बताए । दाजुको मृत्युपछि भाउजुमाथि देवरको स्वतः हक लाग्ने कानुन स्मरण गराए ।
रानादिलले नम्र भावमा सम्राट्को प्रस्ताव अस्वीकार गरिन् । जीवनमा दारा एकैजनासँग प्रेम गरेको र उनीबाहेक अरु कसैलाई शरीर सुम्पिन नसक्ने सन्देश सम्राट्सामु पु¥याइदिन आग्रह गरिन् । ‘हरम’ मा बसेर ऐश–आरामको जीवन गुजार्न अस्वीकार गरेको रानादिलको सन्देश सुनेर औरंगजेव आश्चर्यमा परे तर भाउजूलाई रानी बनाउने अडान छाड्न भने तयार भएनन् ।
रानादिल निपुण संगीतकार र गायिका थिइन् । आफ्ना प्रिय दाराको शोकमा गीत लेख्दै गाउँदै बसिन् । केही समयपछि रानादिललाई आगरा ल्याउन औरंगजेवको दूत फेरि पुगे ।
दूतले सम्राट्ले कपालको ठूलै तारिफ गर्ने गरेको सन्देश सुनाए । रानादिलले रिसाउँदै सोधिन्, ‘सम्राट्लाई मेरो कपाल मात्र मन परेको कि अरु पनि रु’ दूतले आफूहरूमाथि रिस प्रकट नगर्न आग्रह गर्दै, सबै प्रकारको सुविधा प्रदान गर्न सम्राट् राजी भएकाले दरबारमा बसेर सुखभोग गर्न आग्रह गरे । सम्राट् सम्पूर्ण साम्राज्य नै सुम्पन तयार भएको बताए । प्रत्युत्तरमा रानादिलले सम्राट्ले एउटी नारीको सच्चा प्रेमलाई बुझ्न नसकेको बताइन् ।
अनि भनिन्, ‘कृपया सम्राट्लाई मेरो यो सन्देश सुनाइदिनू । सम्राट्को कुनै प्रकारको कृपा चाहन्न । साधारण जीवन जिउन चाहन्छु । म जस्ती साधारण स्त्रीप्रति आकर्षण देखाउन सम्राट्लाई सुहाउँदैन ।’

तर, दूत खाली हात फर्कन चाहेनन् । यसपालि पनि खाली हात आगरा फर्केमा सजायको भागीदार हुनुपर्ने कुरा सुनाए । रानादिलले खाली हात नफर्काउने वचन दिइन् र भित्र कोठामा पसिन् । बाहिर निस्कँदा उनको हातमा एउटा किस्ती थियो, त्यसमा सेतो कपडाले छोपेको कुनै वस्तु थियो । दूत रानादिलको मन विस्तारै सम्राट्प्रति आकर्षित हुँदै गएकोमा खुसी भए र उपहार लिएर आगरा पुगे । उपहारस्वरूप रानादिलले आफ्नो कपालको गुजुल्टो पठाएकी थिइन् । उपहारसहित पठाएको सन्देशमा थियो, ‘सम्राट्, मैले मेरो कपालको गुजुल्टो पठाएकी छु, जुन तपाईंलाई मन परेको थियो ।’ औरंगजेवले पनि एउटा पत्र लेखे ।
पत्रमा लेखिएको थियो, ‘म तिम्रो सुन्दर अनुहार दिनहुँ हेर्न चाहन्छु । कृपया, मेरो ‘हरम’ को शोभा बढाइदेऊ, तिमीसँग बिहे नै गर्न चाहन्छु । तिम्रो सुन्दरतामा पागल भइसकेको छु । दारालाई गरेजत्तिकै माया मलाई गर्नू । तिमीलाई दिइने इज्जत, सुविधामा कुनै कमी हुन दिन्न ।’ तर, रानादिल अडानबाट टसमस भइनन् । सन्देश लिएर आउने दूतलाई बाहिर पर्खन लगाएर भित्र कोठामा पसिन् । चक्कु लिएर बाहिर आइन् अनि दूतकै अगाडि चक्कुले अनुहारभरि घाउ पारिन् । अनुहारलाई कुरूप बनाइन् ।
घाउबाट चुहिन थालेको रगत सेतो कपडामा जम्मा पारेर दूतलाई दिइन् । र, सन्देशमा लेखिन्, ‘सम्राट्, तपाईंलाई अत्यन्त सुन्दर लागेको मेरो रूप अब कुरूप बनिसकेको छ । प्रमाणका लागि चक्कु र रगत दूतमार्फत पठाएकी छु । कृपया बुझ्ने प्रयास गरिदिनुहोला, अन्तिम सास रहुन्जेलसम्म मेरो मुटु, आत्मा र शरीर दाराप्रति नै समर्पित रहिरहनेछ । उनको सम्झनामा बिलौना गर्दै देह त्याग्ने मेरो इच्छामाथि कुठाराघात नगरिदिनुहोला ।’

केहीसीप नलागेपछि औरंगजेवले जबर्जस्ती रानादिललाई आगरा ल्याउन लगाए र कैद गरिदिए । जेल बसाइकै क्रममा पनि औरंगजेवले अनेक प्रलोभन दिएर रानादिललाई मनाउन खोजे । कैयौं प्रेम–पत्र लेखे तर रानादिलले अडान छाडिनन् । स्वर्गीय पतिको संस्मरणमा विरह गीत लेख्दै गाउन थालिन् । औरंगजेवले गाना गाउन प्रतिबन्ध लगाइदिए । क्रूर ढंगको यातना दिन लगाए तर यातना सहिन्, औरंगजेवको पत्नी बन्न र हरममा जान तयार भइनन् ।
यातना, प्रलोभन कुनैले पनि काम नगरेपछि अन्त्यमा औरंगजेव आफैं हार खाए । रानादिलको दाराप्रतिको वफादारिता, प्रेम, त्यागबाट प्रभावित भए र जेलबाट रिहा गरिदिए । जेलबाट निस्केपछि रानादिलले स्वतन्त्र भई जीवनयापन गर्न थालिन् । आफू निसन्तान भए पनि सौतेनी छोराछोरी पालेर बसिन् । पछि उनी कता गइन् र कहिले उनको निधन भयो, कसैले थाहा पाएनन् ।
मुगल इतिहासकार मुस्कोटका अनुसार साहजहाँले रानी मुमताजका लागि ताजमहल बनाइदिएजस्तो दाराले रानादिलका निम्ति छुट्टै ताजमहल नबनाए पनि उनीहरूको प्रेमकथा साहजहाँ–मुमताजको भन्दा कम अमर थिएन तर औरंगजेवले दारा–रानादिलका जीवनीसित सम्बन्धित सबै दस्तावेज र प्रमाण नष्ट गरिदिएका कारण उनीहरूको प्रेमकथा चर्चाको विषय नबनेको दाबी गरेका छन् ।
स्मरणीय छ, औरंगजेवद्वारा अपदस्थ सम्राट् साहजहाँको निधन ७४ वर्षको उमेरमा सन् १६६६ मा भयो । औरंगजेवले ४८ वर्षसम्म शासन गरे । उनको निधन ८८ वर्षको उमेरमा सन् १७०७ मा भयो । उनीपछि उनैका छोरा मुहम्मद आजम मुगल सम्राट् बने । भावी सम्राट् घोषित भएर पनि सम्राट् बन्न चुकेका दारा सुखो भने ४४ वर्षकै उमेरमा मारिएका थिए । @ जनआस्था
Loading...