Loading...
काठमाडौँ, १३ माघ ।
वैदेशिक रोजगारले रेमिट्यान्ससँगसँगै नेपालीको घरमा पीडा पनि भित्रिरहेको छ । इलाम सदरमुकामदेखि पाँच कोशमा रहेको सुम्बेक गाविसको वडा नं.–३ मा यो हप्ता यस्तै दुःखदायी घटना घट्यो । दुई जना बिराउने, शाखा पिराउने भनेजस्तै भयो । दुई सन्तानकी आमा सुशीला तामाङले श्रीमान् विदेश गएको बेला गाउँकै बुद्ध पाख्रिनसँग उठबस गर्न थालिन् । श्रीमान् विदेशबाट आएपछि पनि मनबाट ती युवालाई हटाउन नसकेपछि भने बबाल नै भयो । वृद्धावस्थामा ससुराले मरणासन्न हुने गरी कुटाइ खानुप¥यो । बुद्धका बाबुले उनीहरूकै कारण आत्महत्या गर्नुप¥यो । पाँच र दुई वर्षका नाबालिका आमाविहीन बन्न पुगे ।
सुशीलाको श्रीमान् तीन वर्षको मलेसिया बसाइपछि घर आएको एक साता भएको थियो । लामो समयपछि घर आएका बेला भेटघाटका लागि परिवार नै ससुराली जाने योजना बन्यो । योजनामुताविक एक छोरा, एक छोरीसहित श्रीमान् झुलेन तामाङ र सुशीला ससुराली साङरुम्बा हिँडे । तर, बिब्ल्याँटे बजार आइपुग्दा सुशीलाले असह्य हुने गरी पेट दुःखेको नाटक गरिन् । त्यसपछि आफू माइत पुग्न नसक्ने भन्दै घर फर्किन् । दुई नानी र श्रीमान्लाई भने माइती पठाइन् । सुशीला विब्ल्याँटेबाटै फिरिन् र घर पुगिन् । त्यही दिन नन्दको घरतर्फबाट गाउँमा केटी माग्न आउने भए । घरमा भएका ससुरा पनि केटी माग्न साँझ गाउँ गए । घरमा अब कोही भएनन् । ससुरा पाहुना लिएर केटी माग्न गाउँमा । विदेशबाट आएका श्रीमान् नानीहरूसँगै ससुरालीमा ।
यही मौकामा सुशीलाले आफ्नै ओछ्यानमा स्वागत गरिन् उनै बुद्ध पाख्रिनलाई । ढुक्कसँग चुकुल लगाएर एकै ओछ्यानमा सुतेका उनीहरू तब झस्के । जब गाउँमा केटी माग्न गएका ससुरा बा र पाहुना घर फर्केर ढोका ढकढक्याउन थाले । ससुरा मनबहादुर पाख्रिनले पाहुनालाई सुताउनका लागि ओढ्ने ओछ्याउने माग्न धेरै पटक ढोका ढकढक्याएर बोलाए । तर, ढोका खोलिनन् सुशीलाले । बरु धेरै बेरपछि झ्यालबाट सिरक–डसना फ्याँकिदिइन् । अब ससुरा मनबहादुरलाई चिसो पस्यो । छोरो विदेश हुँदा पनि सुशीलाको गतिविधि शंकास्पद लाग्थ्यो ।
किन झ्यालबाट सिरक फ्याँकेको भनेर सोध्दै जलजफ्ती भित्र पस्दा सिरकभित्र उनै छिमेकी केटो बुद्ध ओछयानमा । आधा रात बुहारीको ओछ्यानमा अरूलाई देखेपछि कराउन के लागेका थिए, ढोका थुनेर त्यही सिरक ओढाई बुहारी र ती युवा मिलेर भकुर्नु भकुरे । ढोकाको आग्लो खोलेर दुई जनाले कुट्दा ससुरा मनबहादुरको दुवै हात मात्र भाँचिएन, टाउकोभरि चोट लागेको छ । इलाम अस्पताल ल्याएर ४२ टाँचा टाउकोमा लगाउनुप¥यो । अहिले उनलाई सघन उपचारका लागि विर्तामोडको बिर्ता सिटी अस्पताल लगिएको छ । स्थानीय युवा नारद लम्सालले ससुरालाई मरणासन्न हुने गरी कुटपिट गरेर उनीहरू राति नै भागेको बताए ।
भोलिपल्ट गाउँलेले प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलमा आएर खानतलासी गर्दा ओछ्यानबाट दुवैजनाको फोन फेला पारेको थियो । कुटपिटपछि अर्काकी श्रीमती लिएर छोरा बेपत्ता भएको हल्ला गाउँ हुँदै सदरमुकासम्म छायो । छोरोको यस्तो बेइज्जतीपूर्ण कार्य सहन नसकेर भोलिपल्ट बिहीबार बुद्धको बाबु धनसिंह बाइबाले आत्महत्या गरे । यसरी दुई जनाले अनैतिक सम्बन्ध राख्दा दुई बच्चाको बिचल्ली भएको छ । एक जनाले आत्महत्या नै गर्नुपर्ने अवस्था सिर्जना भयो भने ससुराले अनाहक मरणासन्न हुने गरी कुटाइ खानुपरेको छ । यति गरेपछि सुशीला र बुद्ध भने भारत छिरेको गाउँबासीले बताएको समाचार जनआस्था साप्ताहिकले लेखेको छ ।
Loading...
Social Buttons