Latest News

बेलायतबाट फर्केर उपप्रधानमन्त्री थापाले भने- नाकाबन्दी खोल्न भारत आतुर छ

Kamal-Thapaकाठमाडौँ, ५ पुस । उपप्रधानमन्त्री कमल थापाले आपूर्ति व्यवस्था र पारवहन अवरोधका कारण नेपालमा सिर्जना भएको सङ्कट चाँडो अन्त्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गरेको स्वागत समारोहमा भाग लिएर आज स्वदेश फर्केपछि उहाँले विमानस्थलमा पत्रकारलाई भन्नुभयो– “समस्या समाधानतर्फ उन्मुख रहेकाले नाकाबन्दी चाँडै हट्ने र परिस्थिति सामान्य हुनेछ ।”
मधेस केन्द्रित दलले उठाएका मागलाई वार्ता र संवादका माध्यमबाट राजनीतिक ढङ्गले समाधान खोज्ने प्रयास भइरहेको बताउँदै उहाँले भन्नुभयो– “हामी समस्या समाधानको अत्यन्त नजिक पुगेका छौं, केही विषयमा समझदारी भइसकेको छ, केही विषयमा सहमति नजिक छाँै भने केही मागलाई सम्बोधन गर्न प्रक्रिया अघि बढाउने काम भइरहेको छ ।”
प्रजातन्त्रको मूल्यमान्यता र समावेशी चरित्र कायम गरिएको नेपालको संविधानलाई बेलायती नेताले ऐतिहासिक कोसेढुङ्गाका रुपमा व्याख्या गर्नुभएको बताउँदै परराष्ट्रमन्त्री थापाले संविधान निर्माण प्रक्रिया र समावेशी विषयको मुक्तकण्ठले प्रशंसा भएको जानकारी दिनुभयो ।
भारतबाट भएको आपूर्ति व्यवस्था र पारवहनको अवरोधका कारण सिर्जना भएको सङ्कटका बारेमा मन्त्री थापाले बेलायती नेतालाई विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।
बेलायतमा रहँदा उपप्रधानमन्त्री थापाले विदेशमन्त्री, विदेश तथा राष्ट्रमण्डल, राज्यमन्त्री, अन्तर्राष्ट्रिय सहयोग विभागसम्बन्धी मन्त्री र न्यायमन्त्रीसँग दुई पक्षीय हित, साझा चिन्ता र चासोका बारेमा विचार विमर्श गर्नुभएको थियो ।
भेटका अवसरमा पारवहनमा भएको अवरोधले उत्पन्न मानवीय सङ्कटप्रति बेलायत सरकारको तर्फबाट चिन्ता व्यक्त गरिनुका साथै आवश्यक परेका खण्डमा सहयोगको प्रतिबद्धतासमेत जनाइएको थियो ।
नेपालको पहिलो दौत्य सम्बन्ध कायम रहेको मुलुक बेलायतले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पु¥याउँदै आएको छ ।
नयाँ संविधान निर्माण भएपछि देशमा राजनीतिक स्थिरता र प्रजातान्त्रिक वातावरण कायम हुनेहुँदा बेलायतको तर्फबाट खासगरी पूर्वाधार निर्माण र आर्थिक विकासमा उद्धार सहयोग प्राप्त हुने अपेक्षा गरिएको भनाइ पनि भेटघाटका अवसरमा मन्त्री थापाले राख्नुभएको थियो ।
लामो समयदेखि बेलायती सेनामा कार्यरत नेपालीले तलब र पेन्सनमा भोग्नुपरेको असमानताका बारेमा बेलायत सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै उपप्र्रधानमन्त्री थापाले दक्षिणी सुडानमा शान्ति स्थापनाका लागि खटिएका नेपाली सेनाका कुमार लामा छुट्टीमा बेलायत जाँदा द्वन्द्वका घटनाको अभियोगसँग जोडेर पक्राउ परेकामा हालसम्म मुद्दा किनारा लाग्न नसकेकाबारे पनि समकक्षीसँग कुराकानी गर्नुभएको थियो ।
धेरै लामो समयपछि उच्चस्तरमा भएको आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सम्बन्धमा अत्यन्त उपयोगी भएको दाबी गर्दै परराष्ट्रमन्त्री थापाले नेपाल भ्रमणका लागि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनलाई प्रधानमन्त्री केपी ओलीले दिनुभएको निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिनुभयो । रासस
Loading...