Latest News

‘भारतविरुद्ध अन्तर्राष्ट्रिय समुदायले अब कारबाही गर्ने’;

उदयपुर, २३ मङ्सिर । नेकपा क्रान्तिकारी (माओवादी) का नेता सिपी गजुरेलले दुई महिनाभन्दा बढी समयदेखि नेपाललाई भारतले एकपक्षीय रुपमा सीमा नाकाबन्द गरेर अन्तर्राष्ट्रिय कानुनको उल्लेङ्घन गरेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ उदयपुरले आज गाइघाटमा आयोजित पत्रकार सम्मेलनमा नेता गजुरेलले भन्नुभयो, “भारतले अहिले गरेको नेपाल विरुद्धको नाकाबन्दी विश्वमा नै सबैभन्दा अमानवीय रहेको छ, यसले भारत दिनानुदिन विश्व समुदायबाट नै एक्लिदै गएको छ ।”
विश्वशक्ति बन्न लागेको भारतको नेपालविरुद्धको यो कार्यले अहिले भारतको छिमेकीप्रति गर्ने व्यवहार विश्वसामु उदाङ्गिँदै गएको पनि नेता गजुरेलले बताउनुभयो ।
नेपाली जनताले नै भारतको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरेर संयुक्त राष्ट्रसङ्घमा लानसके भारतविरुद्ध अन्तर्राष्ट्रिय समुदायले अब कारबाही गर्ने अवस्था रहेको पनि उहाँको भनाइ थियो ।
अहिले मधेसका केही नेताले नयाँदिल्लीमा गएर आफ्ना माग पूरा गराउन भारतलाई अनुरोध गरिरहेको भए तापनि मधेसको माग दिल्लीले कहिल्यै पनि पूरा नगर्ने नेता गजुरेलले बताउनुभयो ।
आन्दोलनरत मधेसी दलका नेताले स्वदेशमै बसेर वार्ता गरेमात्र समस्या समाधान हुने बताउँदै उहाँले मधेसका कारण अहिले व्यापक जातीय द्वन्द्व भड्किनसक्ने अवस्था रहेकाले सरकार र मधेसी दल बढी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस
Loading...