Loading...
महन्थ ठाकुरको दाबीअनुसार हालको मधेस आन्दोलनमा ५५ जनाको ज्यान गएको छ । ती सबै शहीद हुन् । शहीदका पत्नीहरु स्वतः सम्मानित शहीद पत्नी हुने भए । तर मधेसी मोर्चाले उनीहरुलाई शहीद पत्नी भन्छ वा ‘अलच्छिना विधवा’ भन्छ विरोधाभाष हुने भएको छ । किनभने बिहीबार राष्ट्रपति विद्या भण्डारी विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर गइन् ।
राष्ट्राध्यक्षका रुपमा पूजाअर्चना गरिन् । मोर्चाका कार्यकर्ताले भण्डारीलाई रोक्न ढुृंगामुढा गरे । तर उनीहरु रोक्न सफल भएनन् । राष्ट्रपति राजधानी फर्केपछि अलच्छिना विधवाले मन्दिर अपवित्र पारेको भन्दै गंगाजल छर्केर ‘पवित्र’ पारे । यसको पुष्टि राजेन्द्र महतोको पार्टीका धनुषा अध्यक्ष सञ्जय सिंहले गरेका छन्, त्यससम्बन्धी खबर शनिबारका छापाहरुमा पनि छ ।
अहिलेको आधुनिक समाजमा पतिको निधन भएपछि महिलालाई ‘विधवा’ भन्न हुँदैन, यसो भन्दा उनीहरुको अपमान हुन्छ भनेर एकल महिला भन्न थालिएको छ । मान्छे नमर्ने कुन ठाउँ हुँदैन । हरेक ठाउँमा मान्छे मर्छन् कोही भाग्यले पछि मर्छन् कोही अघि । हालकी राष्ट्रपतिको जस्तै अवस्था पूर्वराष्ट्रपति डा. रामवरण यादवको पनि हो । उनी पनि एकल पुरुष हुन् । उनी जानकी मन्दिर गएर पूजाअर्चना गर्थे । तर उनले पूजाअर्चना गर्दा मन्दिर कहिल्यै अपवित्र भएन । मन्दिर धोइपखाली गर्नुपर्ने र गंगाजल छर्केर क्षमापूजा गर्नुपर्ने अवस्था आएन ।
एमाले नेता शंकर पोख्रेलले ट्वीट गरे, ‘राष्ट्रपतिले जानकी मन्दिर दर्शन गरेकोमा अपवित्र भयो भनेर चोख्याउन खोज्नेहरु र महिलाशिक्षाका विरुद्ध उभिने तालिवानका बीचमा के अन्तर भयो र !’ वास्तवमा मधेसी मोर्चाका कार्यकर्ताको यो हर्कतले समग्र नेपाली महिलाको अपमान गरेको छ । त्यसमा पनि एकल महिलाहरुको त झन ठूलो अपमान गरेको छ । महिलाहरुलाई सधैं दबाएर पैतालामुनी दबाउन खोज्ने पूरुषप्रधान मुलुकको पक्षमा मधेसी मोर्चा बलियोसँग उभिएको रहेछ भन्ने सन्देश दिएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकपटक मसँगको टेलिफोन कुराकानीका क्रममा भनेका थिए, ‘यो राष्ट्रलाई मधेसीले कति कुरा कहिलेसम्म दिने ? दिँदादिँदा धोतीमात्रै बाँकी छ । त्यो पनि मागेपछि आन्दोलन नगरे के गर्नु ? कहिलेसम्म मधेसीले दास भएर बाँच्नु पर्ने हो ?’
रंगीन टेलिभिजन दाइजोमा नपाउँदा बुहारीलाई जिउँदो जलाएका घटना पनि मधेसमा नभएका होइनन् । यद्यपि पंक्तिकारले त्यसलाई सामान्यीकरण गरेको होइन । दाइजोको कुरीति पहाडमा पनि छ । पहाडियामा पनि छ । समान अधिकार र आत्मासम्मान खोजिरहेको मधेसी मोर्चाले महिलालाई अलच्छिना भनेको देख्दा अचम्म लागेको छ । आत्मासम्मान मधेसी मोर्चाका कार्यकर्तालाई चाहिने तर त्यो आत्मासम्मान आधा जनसंख्या ओगट्ने महिलालाई चाहिँ दास नै बनाएर राख्न पाउने शर्तमा मात्रै रहेछ ।
उपेन्द्र यादवले मधेसीलाई दास बनाएको दाबी र मधेसीले महिलालाई दास मान्ने प्रवृत्तिले स्पष्ट पार्छ हालको आन्दोलन अधिकार र आत्मसम्मानकालागि होइन । यदि हुन्थ्यो भने मधेस आन्दोलनमा मारिएका शहीदका पत्नीहरुलाई उनीहरुले अलच्छिाना भन्ने थिएनन् । किनभने विद्या भण्डारी अलच्छिना हुने र बाँकी चाहिँ लच्छिना हुन सक्दैनन् । मदन भण्डारीको निधन एक रहस्यमय जीप दूर्घटनामा भयो । दुर्घटना कसैको चाहनामा हुने होइन । यसमा उनकी पत्नीलाई जोड्नु जति दूर्भाग्य र शर्मनाक कुरा अरु के होला ? मधेसी मोर्चाको हर्कतले आमने पालीको शीर लज्जाले झुकेको छ ।
नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको सरंक्षक मानेको छ । राष्ट्रपति जुनसुकै धर्म, दल, लिंग, जात वा समुदायबाट नियुक्त भएपनि नियुक्त भएको मितिले उसको पूराना सबै स्टाटस खारेज हुन्छन् । र ऊ सबैको साझा सांस्थाका रुपमा रहन्छ । सबै धर्मको, सबै पार्टीको, सबै जात र समुदायको साझा राष्ट्रपतिमा पहाडिया, शोषक, सामन्ती शासकको छवि देख्नु मधेसी मोर्चाका कार्यकर्ताको दृष्टिभ्रम हो र उनीहरुको निचताको पराकाष्ठा हो ।
किनभने हिजो मधेसबाट मधेसी जनताको छोरो राष्ट्रपति भएका थिए । समय बित्दै जाँदा कुनै दिन मधेसी एकल महिला पनि राष्ट्रपति हुन सक्छिन् यसमा अनौठो मान्नु पर्ने कुनै कारण छैन । किनभने यो लोकतान्त्रिक व्यवस्था हो । यो व्यवस्थामा पारस शाह जस्तालाई ‘सरकार’ भनिरहनु पर्दैैन ।
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले पनि मोर्चाका कार्यकर्ताको जंगलीरुपलाई औल्याउँदै फेसबुकमा रेणु यादवसमेतको नाम जोडेर यस्तो लेखे, ‘०५० साल जेठ ३ गते जननेता मदन भण्डारीको मृत्यु हुनुमा विद्या पाण्डेको या एकल महिला बन्नुमा फÞोरम नेता तथा पूर्वशिक्षामन्त्री रेणुकुमारी यादवको के दोष ? रहरले रोजिन्छ विधवा जीवन ? या बाध्यताले गरिन्छ यस्तो परिस्थितिको बरण ? के पत्नीवियोग पूर्वराष्ट्रपति डा.रामवरण यादवको रोजाइ थियो ? बिल्कुलै थिएन । अनि उनी लुम्बिनी,बराह क्षेत्र, त्यही रामजानकी मन्दिर पुग्दा ती क्षेत्र अपवित्र ठानिएन, धोइपखाली पनि गरिएनन् तर आज परिस्थितिलाई भिन्न बनाइएको छ, जातका आधारमा विरोध जनाइएको छ । नियतिबस् आफ्नी माताजी पनि कुनै दिन विधवा हुँदा के भन्दा हुन् यी (मधेस–पुत्र)ले, आन्दोलनकारी मधेसी मोर्चाले ? मठ, मन्दिरबाट लघारेर सडकमा अलपत्र पार्दा हुन् कि पोइ टोकुवा,अलच्छिना घर पस्लिन् भन्दै ढोकामा धर्ना बसेर आमामाथि पनि नाकावन्दी थोपर्दा हुन् ?’
मधेसी मोर्चाको यस्तो क्रियाकलापको चौतर्फी विरोध भएको छ । मोर्चाको क्रियाकलापले राष्ट्रपतिले कति अपमान महसुस गरिन् त्यो त थाहा छैन तर यस्तो हर्कतले मधेस वा भनौं मुलुकभरका आमजनता, बुद्धिजीवी, सचेत नागरिकहरुको आत्मसम्मान तरल भएको हुनुपर्छ ।
जब कुनै मान्छेले राम्रो नराम्रो छुट्याउन सक्दैन, विवेक शून्य हुन्छ । लाठीको भाषा बुझ्छ, ज्ञानको बुझ्दैन । खान र शौच गर्न जान्दछ तर कुन खान हुने कुन नहुने छुट्टयाउन सक्दैन । शौच गर्ने त थाहा हुन्छ तर शौचालय र नदी, ताल किनार थाहा पाउँदैन भने त्यस्तालाई नेपाली समाजमा व्यंग्य गरेर गोरु भन्ने गरिन्छ । अर्थात गोरुको जस्तै बुद्धि भएकालाई सांकेतिक रुपमा गोरु भनिएको हो । अहिले मधेसी मोर्चाका कार्यकर्ताले पनि ठीक यहि गोरु प्रवृत्ति देखाए । उनीहरुलाई आन्दोलन गर्नुपर्छ भन्ने त थाहा भयो तर कसको विरुद्ध गर्ने भन्ने थाहा भएन । ढुंगा हान्नुपर्छ भन्ने त थाहा भयो तर मन्दिरमा हान्ने कि अन्तै हान्ने थाहा भएन । लात्ति हान्नुपर्छ भन्ने पनि थाहा भयो तर जानकी मन्दिरका आस्थाका सामग्रीमा हान्ने कि अन्तै हान्ने भन्ने थाहा भएन ।
सरसफाई गर्नुपर्छ भन्ने त थाहा भयो तर जनकपुरका तालतलैया किनारमा दिनहुँ शौच गर्ने ठाउँमा सफाई गर्ने कि राष्ट्रपतिले छोएको स्थानमा ? त्यो थाहा भएन । अधिकार माग्नु पर्छ भन्ने त थाहा भयो तर आफ्नै आमा दिदीबहिनीको अधिकार खोस्नु हुन्न, अपमान गर्नुहुन्न भन्ने थाहा भएन । यति कुरा थाहा नपाउने जीव यदि दुई खुट्टाकै भरमा हिँडछ्, आकार मान्छेकै जस्तो छ भने पनि त्यो गोरु हुन्छ भनिएको सयद ठीकै रहेछ ।
Loading...
Social Buttons