Latest News

अपडेटः रसुवामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३४ पुग्यो, यसरी भयो दुर्घटना

नुवाकोट, १७ कात्तिक । रसुवाको राम्चेमा मंगलबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । १७ पुरुष, १२ महिला र एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने थप चार जना उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूली नुवाकोटमा मृत्यु भएको छ ।
Bus-Accident-rasuwa-1
काठमाडौंबाट रसुवाको चिलिमे जाँदै गरेको वा ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार दिउँसो साढे १२ बजे राम्चेमा दुर्घटना भएको थियो । झण्डै ७० यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४ ग्राङ भन्ने स्थानमा दुर्घटना भएको हो ।
७० भन्दा धेरै यात्रु बोकेको वस सडकबाट झण्डै २ सय ५० मिटर तल खसेर बस टुक्रा टुक्रा परेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार गरी घाइतेहरुलाई उपचारका लागि नुवाकोट, रसुवा र काठमाडौंमा पठाएका छन् ।
मृतकका आफन्तलाई शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको रसुवा प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो । यता, नुवाकोट प्रहरीले दिएको जानकारी अनुसार जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याएका ३५ जना मध्ये चार जनाको मृत्यु भएको छ । पाँच जनाको उपचार भइरहेको छ । गम्भीर घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टर र ९ जनालाई वस तथा एम्वुलेन्सबाट काठमाडौं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतक सबैको सनाखत नभइसकेकोले शव आफन्तलाई जिम्मा लगाएपछि मात्रै मृतकहरुको पहिचान हुने बताउनुभएको छ ।
यसकारण भयो दुर्घटना
घाइते यात्रुहरूका अनुसार बसको अघिल्तिरको टायर पड्केपछि बस अनियन्त्रित भएर भिरबाट खसेको थियो । केही यात्रुले बसको छतबाट हाम फालेर ज्यान जोगाएका थिए । सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा रहेको घटनास्थलमा दुर्घटना हुँदा बसभित्र र बाहिर छतमा यात्रुहरु खचाखच भरिएका थिए ।
Loading...