Latest News

औषधी उपचारका नाममा तीन अर्ब सरकारी ढुकुटीबाट, कोइराला र ओलीका लागि मात्रै चार करोड

dhukuti_20120505101021काठमाडौं, मङ्सिर १२ ।  सरकारले संविधानसभा चुनावपछि झन्डै तीन अर्ब रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । सरकारले दोस्रो संविधानसभा चुनावपछि औषधोपचार खर्च, द्वन्द्वपीडितलाई राहत, जात्रा तथा चाडपर्व मनाउन, नेताका नाममा खोलिएका प्रतिष्ठानलाई कार्यक्रम गर्नलगायतका लागि दुई अर्ब ८४ करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको हो ।
आर्थिक सहायता गृह, स्वास्थ्य, संस्कृति, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयबाट वितरण गरिएको अर्थ मन्त्रालयले जनाएको छ । धार्मिक संगठन, गैरसरकारी संस्था, सरकारी कर्मचारी, कर्मचारीका श्रीमतीलगायतलाई आर्थिक सहायता वितरण गरिएको छ ।

औषधोपचार खर्च पाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, निवर्तमान उपराष्ट्रपति परमानन्द झाकी श्रीमती, पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, सञ्चारमन्त्री शेरधन राईलगायत छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्काले द्वन्द्वकालीन समयमा भएको सम्पत्तिको क्षतिपूर्तिबापत २० लाख रुपैयाँ आर्थिक सहायता पाएको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।
संसद्को अर्थ समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले आर्थिक सहायताका नाममा विभिन्न संघसंस्थाका वार्षिकोत्सव, सम्मेलनलगायतका कार्यक्रमका लागि राज्यकोषबाट हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भइरहेको बताए । ‘राजनीतिक र प्रशासनिक पहुँच भएका व्यक्तिले आर्थिक सहायता रकम पाइरहेका छन्, विनाआधार एउटै व्यक्तिलाई तीन–चारपटकसम्म सरकारले आर्थिक सहायता दिएको भेटिएको छ,’ सचिव राईले भने, ‘आर्थिक सहायता वितरणमा ठूलो विकृति छ, यसलाई नरोक्ने हो भने सरकारको स्रोत यस्तैमा खर्च हुने सम्भावना रहन्छ ।’ आर्थिक सहायता निश्चित प्रक्रिया पूरा गरेरभन्दा पनि मन्त्रीहरूले आफ्नो खल्तीबाट नाम निकाली मन्त्रिपरिषद्बाट पारित गराउने प्रवृत्ति रहेको उनले बताए ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्ति तथा विपन्न बिरामीलाई आर्थिक सहायता वितरण गरिन्छ । अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख वैकुण्ठ अर्यालले केही मान्छे पेसेवर रूपमै आर्थिक सहायताको खेती गरिरहेको बताउँछन् । ‘नामै नसुनेका व्यक्तिलाई पनि राष्ट्रिय व्यक्तित्व भन्दै मन्त्रिपरिषद्बाट आर्थिक सहायता दिने निर्णय भई भुक्तानीको पत्र आउने गरेको छ,’ अर्यालले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएर आएको विषय हामी रोक्न सक्दैनौँ, आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्मा ठाडै प्रस्ताव जाने गरेको छ ।’

सुशील कोइरालालाई दुई करोड साढे ५९ लाख
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट अहिलेसम्म दुई करोड ५९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री भएका वेला नै फोक्सोमा क्यान्सर देखिएपछि अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो ।

केपी शर्मा ओलीलाई एक करोड २६ लाख
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको उपचारमा राज्यले एक करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च गरेको छ । थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा ओलीको क्रिप्टोकोकल म्यानेन्जाइटिसको उपचार गरिएको थियो ।

नन्दप्रसाद र गंगामाया अधिकारीलाई एक करोड ५६ लाख ९७ हजार
सशस्त्र द्वन्द्वमा मारिएका छोराका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनीकी श्रीमती गंगामाया अधिकारीका लागि सरकारले एक करोड ५६ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ ।

नयाँ पत्रिका दैनिकबाट साभार
Loading...