Loading...
काठमाण्डु, ८ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतबीच तराई/मधेसमा जारी आन्दोलनमा बल प्रयोग गर्ने वा नगर्ने भन्नेमा विवाद भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओेली सरकारले नाकाबन्दीका कारण जनताले पाइरहेको सास्ती टुलुटुलु हेरेर बस्न नसक्ने र जनताको जिउधनको सुरक्षाका लागि बल प्रयोग गर्नुपर्ने पक्षमा छन् ।
बस्नेत भने अझै पनि सरकारले वार्ता र संवादलाई पहिलो प्राथमिकतामा रान्नुपर्ने र अत्याधिक बल प्रयोग गर्न नहुने अडानमा छन् ।
‘प्रधानमन्त्रीको जोड बल प्रयोग गरेरै भए पनि नाका र राजमार्गको अवरोध हटाउनुपर्छ भन्ने छ’, गृहमन्त्री बस्नेत निकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘तर गृहमन्त्री अहिले पनि वार्ता र संवादमै जोड दिनुपर्छ भन्नेमा हुनुहुन्छ ।’
प्रधानमन्त्री ओली भने मधेसी मोर्चाको आन्दोलन भारतको निर्देशनमा भएकाले तह लगाउन बल प्रयोग गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नाकाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक बस्तुको अभावमा जनताको चुल्होमा आगो बल्न छाडेको अवस्थामा सरकार चुप लागेर बस्न नसक्ने बताए ।
दाहालले काँग्रेस सरकारका पालामा ल्याइएको संविधान संशोधन प्रस्तावमा सहमति जनाएर मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिए सरकार बाध्य भएर बल प्रयोगमा उत्रने अवस्था आउने उल्लेख गरे ।
‘प्रधानमन्त्रीको पहिलो प्राथमिकता वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने हो’, दाहालले भने, ‘संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चा सहमत भए ठीकै छ । सहमतिमा आएनन् र मान्दैनन् भने जसरी भए पनि सरकारले जनताप्रतिको आफ्नो अभिभावकीय जिम्मेवारी पूरा गर्छ ।’
उनले राजमार्ग र सिमा क्षेत्रमा जारी अवरोध हटाउन आन्दोलनरत पक्ष सहमत नभए राज्य सबै विकल्प अपनाउन बाध्य हुने चेतावनी दिए । दाहालले आवश्यक परे राजमार्ग खुलाउन नेपाली सेनासमेत परिचालित हुन सक्ने जानकारी दिए ।
Loading...
Social Buttons