Loading...
काठमाडौं, १२ कात्तिक । नेपालको अघोषित नाकाबन्दी हटाउन चीनले पहल गर्ने भएको छ ।
विभिन्न बहानामा नेपालमाथि नाकाबन्दी गरिरहेको भारतसँग चीनले कुरा गर्ने तयारी थालेको भारतको राष्ट्रिय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पिटिआई) ले जनाएको छ ।
चीनले नेपालमा राजनीतिक स्थायित्वका लागि ‘मित्र राष्ट्र’ का हैसियतले भारतसँग मित्रवत छलफल गर्ने भएको हो । पिटिआईका अनुसार बुधबार नेपाल-चीन इन्धन आपूर्ति सम्झौता हस्ताक्षर पश्चात बेइजिङमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले चीनले नेपाल मामिलामा भारतसँग छुट्टै वार्ता गर्ने जानकारी दिनुभएको हो ।
‘नेपाल र भारत दुवै चीनका मित्रराष्ट्र हुन् । मित्रराष्ट्रका हैसियतमा नेपालको स्थायित्वका लागि भारतसँग मित्रवत छलफल गर्न चीन तयार छ,’ काङले भन्नुभएको छ ।
नेपालको राजनीतिक संकटका सम्बन्धमा बेइजिङ र नयाँदिल्लीबीच पर्दापछाडि कुनै किसिमको वार्ता हुँदैछ कि छैन भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा काङले दुबै छिमेकी देशको सम्बन्ध सुधार भएको चीनले हेर्न चाहेको बताउनुभएको समाचारमा उल्लेख छ ।
काङले क्षेत्रीय स्थायित्व र राज्य-राज्यबीच मित्रवत सम्बन्धका लागि सम्बन्धित देशहरू बसेर मित्रवत छलफल गर्न र सहमतिमा पुग्न सकिने उल्लेख गर्नुभयो । सहमतिबाटै भारतले नाकाबन्दी खोल्ने उहाँको भनाई थियो ।
Loading...
Social Buttons