Latest News

मर्नुभन्दा अगाडि केही भन्न चाहन्छु: सिके राउत

काठमाण्डु– विभेदको विरुद्ध बोल्न पाउने मेरो अधिकारलाई राज्यले कुण्ठित गरेको छ । नेपालमा मधेसीहरु कसरी, कुन हैसियत र अवस्थामा बस्न चाहन्छन् भन्ने प्रश्नमा जनमत संग्रह होस् भनी मेरो जोडदार माग छ ।
नेपाल प्रहरीले मलाई मानसिक र शारीरिक यातना दिएर आफूखुसी तयार गरेको बयानमा हस्ताक्षर गराएको छ । उक्त बयानमा मेरो पूर्णरुपेण सहमति छैन । मैले भनेको कुरा कतिपय अवस्थामा बङग्याइएको छ भने कतिपय स्थानमा गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको छ । बयानका कतिपय कुरामा मेरो पूर्ण , कतिपय कुरामा आंशिक सहमति छ भने कतिपय कुरामा मेरो पूर्ण विमती छ । श्रीमान मैले बोलेका कुराहरु पनि बङग्याएर राखिएको छ ।
नेपालको शासन, प्रशासन र शासकको नियतीमा सुधार भएन भने र विभेद बढिरह्यो भने मधेसीहरु स्वतन्त्र राष्ट्र बनाउन बाध्य हुनेछन् भनी मैले दिएको जवाफलाई बंग्याई म स्वतन्त्र मधेस राष्ट्र बनाउन लागेको कुरामा हस्ताक्षर गराइएको छ । गत भदौ २८ गते सन्थालहरुले आयोजना गरेको कार्यक्रममा मैले सन्थालको इतिहासका बारेमा ५ मिनेट बोलेको थिएँ । त्यहाँ अन्य विषयमा कुरा नभए ता पनि नेपाल प्रहरीले ममाथि भेला आयोजना गरेको, भड्काउ भाषण दिएको, प्रहरीसँग अपशब्द प्रयोग गरेको र दस्तावेजहरु बोकेको भनी आरोप लगाइएको छ ।
वास्तवमा म त्यस कार्यक्रमको आयोजक थिइनँ । मैले कसैलाई धम्क्याएर भेला पारेको विषयमा कसैले उजुरी पनि दिएको छैन । मैले उक्त कार्यक्रममा के–के बोलें र कसरी सामाजिक सदभाव भड्कियो भन्ने विषयमा कुनै खुलासा छैन र प्रहरीले आफूसँग बोकेर ल्याएको दस्तावेजलाई मसँग बरामद भयो भनेर दाबी पेस गरेको कुरा निकृष्ट र हास्यास्पद मात्र हो । नेपाल प्रहरीले पक्राउ गर्ने नै मनसायमा दस्तावेजका साथ पूर्वतयारी गरी मलाई हिरासतमा लिई गैरकानुनी र बलजफ्ती बयान गराइएको कुरा श्रीमानलाई जानकारी गराउँछु ।
यदि मधेसमा विभेद भई नै राख्यो भने मधेस अलग देस हुन सक्छ भनी मैले बयान दिएको हुँ । तर, प्रहरीले यसलाई अलग देश बनाउँछु भनेर प्रहरी थुनामा राति ११ बजे घुम्न जाऔं डा. साब भन्ने, सही छाप गराउनुभन्दा अगाडि सिडिओले दुईघण्टा एक्लै कोठामा थुनी विभिन्न किसिमको मानसिक यातना दिई, सही छाप गराएको हो ।
(राउतले सर्वोच्च अदादतमा केही दिनअघि दिएको बयानको सम्पादित अंश)
Loading...