Latest News

चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुल्दै

karung-naka 700काठमाडौँ, २८ असोज ।
चीनसँगको रसुवागढी–केरुङ व्यापारिक नाका करिब ६ महिनापछि खुल्दै छ । बिहीबार बिहान ९ बजे औपचारिक कार्यक्रम गरी नाका सुचारु भएको घोषणा गरिँदै छ ।
१२ वैशाखको भूकम्पपछि आएको पहिरोले क्षति पुर्‍याएको रसुवागढीबाट करिब २६ किलोमिटर सडक चीनले मर्मतसम्भार गरेसँगै बिहीबारबाट भन्सार नाका सुचारु हुन लागेको हो । यो नाकाबाट लत्ता–कपडाबाहेक संकट परेका वेला इन्धन आपूर्ति पनि गर्न सकिनेछ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाको नेतृत्वमा परराष्ट्र, गृह, रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालयलगायतका पदाधिकारी र चिनियाँ पक्षबीच नाका सुचारु गर्ने विषयमा बुधबार छलफल भएको थियो । छलफलमा बिहीबार बिहान नौ बजे औपचारिक कार्यक्रम गरी नाका शुभारम्भ गर्ने निर्णय भएको छ ।
केरुङ नाका शुभारम्भको अवसर पारेर चीनले करिब एक करोड ५० लाख रुपैयाँबराबरको सामान पनि सरकारलाई हस्तान्तरण गर्ने भएको छ । ‘चीनले सामान दिने निर्णय भए पनि कस्ता सामग्री आउने भन्ने तय भएको छैन,’ नेपाली पक्षका एक सदस्यले भने, ‘तर, भूकम्पपीडितलाई आएका राहत सामग्री हुन सक्छन् ।’
नेपाली व्यापारीले केरुङसम्म ढुवानी गर्न ग्वान्जाउका ढुवानी व्यवसायीलाई आग्रह गरिसकेका छन् । दुवैतर्फ भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेका छन् । भूकम्पले अवरुद्ध गरेको सडकको पनि पुनर्निर्माण भइसकेको छ । रसुवागढी नाका बन्द हुँदा नेपाल र चीनबीचको आयात–निर्यात ठप्प थियो । रसुवा भन्सारका अनुसार भूकम्पपछि केरुङमा लोड भएका कन्टेनर रोकिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
Loading...