Latest News

पर्सामा झडप, मधेसी मोर्चाको आन्दोलन अराजक बन्दै

फाइल तस्बिर
कात्तिक । बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले आज बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन् ।
मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै आन्दोलनकारीले वीरगन्ज उपमहानगरपालिका–१७ पिपरा चोकमा ना१३प १०२ नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी सागिर अन्सारी काम गर्न कारखानातर्फ जाने क्रममा आन्दोलनकारीले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनुभयो ।
यसैगरी आन्दोलनकारीले आजै वीरगन्जको सानो पिपरा भन्ने स्थानमा ना१२प १२८२ नंको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् । आगजनी तथा तोडफोडमा संलगन व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराति पिपरा चोकमै प्रहरी र आन्दोलनकारीबीच झएकोे झडपमा परी वरिष्ठ हवल्दारसहित चार सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिनुभयो । घाइते सबै सुरक्षाकर्मीको वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।
उहाँले मोटरसाइकल तोडफोड तथा आगजनी गर्न लागेका आन्दोलनकारीलाई रोक्न खोज्दा प्रहरीलाई लक्ष्यित गरी ढुङ्गामुढा प्रहार थालेपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर तथा १० राउन्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिनुभयो ।
सो क्रममा प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी समेत घाइते भएका छन् । घाइते सबै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फिर्ता भएको अस्पताले जनाएको छ । रासस
Loading...