Latest News

मोदीको दलका नेताको आपत्तिजनक अभिव्यक्ति, ‘नेपाल अब सिरिया बन्छ, त्यही भएर नाकाबन्दी’ -

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता भगतसिंह कोशियारीले तराईमा जारी हिंसात्मक आन्दोलन समाधान नभए नेपाल सिरिया बन्न सक्ने खतरा रहेको रहेको अभिव्यक्ति दिएका छन् ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार बिहान कुरा गर्दै कोशियारीले नेपालको अशान्तिबाट नेपालका मान्छे शरणार्थीका रुपमा भारतमा आउने हुन् कि भन्ने चिन्ता भारत सरकारलाई रहेको बताए । ‘नेपालको अशान्तिले भारतमा शरणार्थीको समस्या आउन सक्छ’, उनले भने, ‘हामी यस विषयमा सतर्क छौँ । तयारी गर्नुपर्छ । सिरियाका मान्छे पनि शरणार्थी बनिरहेका छन् । जर्मनीमा गएका छन् । नेपालमा त्यो समस्या नआउला भन्न सकिँदैन ।’ नेपालमा हिंसा मच्चिएपछि नेपालीहरु पनि भारतमा शरणार्थी हुन सक्ने भएकाले नाका बन्द गर्नुको विकल्प नरहने उनले बताए ।
तर, नेपाललाई नाकाबन्दी लगाउने विषयमा आफूलाई कुनै जानकारी नरहने कोशियारीको भनाइ थियो । ‘नाकाबन्दी लगाउने नलगाउने भन्ने विषयमा भारत सरकारले भन्छ’, उनले भने, ‘मलाई यस विषयमा जानकारी छैन ।’
मधेसमा आन्दोलनरत समूह र दलका मागलाई सम्बोधन गरेर आन्तरिक राजनीतिक विषय मिलाउनुपर्ने उनको भनाइ छ । संविधान जारी भएको विषय राम्रो भए पनि असन्तुष्ट पक्षको मागलाई सम्बोधन नगर्दा त्यसले तराईका जिल्लाहरूमा प्रदर्शन र हिंसा भएको उनको भनाइ छ ।
‘नेपालमा अशान्ति हुँदा त्यसको प्रभाव भारतमा पर्छ’, भाजपाका नेता कोशियारीले भने, ‘नेपालमा माओवादीले बन्दुक उठाउँदा र भूकम्प आउँदा भारत दुखित भएको छ ।’ उनले विद्रोह र अशान्तिले भारत सधैँ चिन्तित रहने उल्लेख गरे । नेपालमा संविधान आइसकेको अवस्थामा असन्तुष्टका मागलाई फेरि पनि सम्बोधन गर्न सकिने नेता कोशियारीको भनाइ थियो ।
नेपालको संविधानमा आफूहरूको कुनै विमति नरहेको बताउँदै उनले थपे, ‘अरु विदेशीले संविधानमा समर्थन गर्दा तपाईहरू खुसी हुने तर भारतले केही असन्तुष्ट पक्षका मागलाई पनि ध्यानमा राख्नभन्दा असन्तुष्टि जनाउने यो त भएन नी ? छिमेकीको सुझाव पनि मान्नु पर्छ ।’
नेता कोशियारीले आन्दोलनरत मधेसी दलका नेताहरूलाई वार्ता र सम्वादमा बसेर निकास खोल्न सुझाव पनि दिए । ‘आफ्नो आन्तरिक विषयमा आफै निकास खोज्नुस्’, उनले भने, ‘मधेसी दल र तिनका नेताहरूले वार्ता गर्नुपर्छ । सम्वाद गर्नुपर्छ । आन्दोलन र खुनखराब गर्नु हुँदैन ।’
नेपालको राजनीतिक उथलपुथल हुँदा काठमाडौं आउने गरेका भाजपाका नेता कोशियारी नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्कमा रहँदै आएका छन् । आफू छिट्टै नेपाल आउन चाहेको पनि उनले बताए ।
Loading...